Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

'सब ठिक छ' भनिन्छ तर केही पनि ठिक हुँदैन

'सब ठिक छ' भनिन्छ तर केही पनि ठिक हुँदैन

बिहीबार , मंसिर २५ २०८२
बिहीबार , मंसिर २५ २०८२
  • काठमाडौं। रात्रिकालीन व्यवसायमा संलग्न महिलाहरूले एउटै वाक्य बोल्छन् “यहाँ त सबै ठिकै छ।” व्यवसाय सञ्चालकले पनि भन्छन् “हामीले सबै नियम पालन गर्छौँ, कामदारलाई परिवारजस्तै हेर्छौँ।” तर यी वाक्यहरूले बाक्लो पर्दा जसरी छोपिदिएका छन् तितो यथार्थ । कोही पनि वास्तविकता खुलेर भन्न चाहँदैनन् वा भन्न चाहे पनि सक्दैनन् । सबै झुट बोलिरहेछन्।

    images

    पोखराको फेवा किनार, साँझको उज्यालो बिस्तारै रातको झिलिमिलीमा परिणत हुँदै जाँदा हामी (भक्सपप नेपालको टोली) यथार्थ खोज्न निक्लियौँ। अतरंगी रंगका बत्तीहरूले चम्किरहेका साइनबोर्डहरू र ठुलठुला संगीतमा घन्किरहेका गीतहरूलाई पछ्याउँदै हामी पुग्यौँ डान्स बार, दोहोरी र रात्रिकालीन मनोरञ्जन व्यवसाय भित्र। 

    धेरैका लागि यो समय रमाइलो गर्ने हो, यी ठाउँ दिनभरको थकान भुलेर झुम्ने अनि नाच्ने मौका हो। वास्तविकता भुलाउन आउँदा हुन् अरू मानिसहरू तर यहीँ भित्र लुकेको छ एउटा रंगहीन संसार ; विवश श्रमिकहरूको वास्तविक संसार।  

    झट्ट हेर्दा त विवशता कहाँ देखिएको हुन्छ र? थुप्रै बार र दोहोरीभित्र पस्दा सबैको अनुहारमा मुस्कान, स्वरमा आत्मविश्वास भेटिन्छ। तर थोरै पनि भित्रि आँखाले नियाल्ने हो भने थाह हुन्छ कि ती मुस्कानहरू धेरैजसो बनावटी हो।  

    त्यहाँ काम गर्ने महिलाहरू हामीसँग बोलिरहँदा बोली उनीहरूको भए पनि शब्दहरू उनीहरूका थिएनन्, थिए त केवल मालिकको डर र दबाब, आफ्नो विवशता र निराशाले बल जबरजस्ती दोहोरिने ‘ठिकै छ’ अनि मात्र ‘ठिकै छ’।

    ‘ठिकै छ’ भन्नु मात्र हो तर त्यहाँ ठिक हुँदैन। सञ्चालकहरूको दाबी, त्यही भित्तामा टाँसिएको नियमावली श्रमिकका लागि थिएनन्, थियो त केवल कानुनको आँखा छल्ने बाटो। त्यहाँ कुनै सामाजिक सुरक्षा योजना छैन, नियुक्ति पत्र छैन, बिमा छैन, अधिकांश श्रमिक मौखिक सम्झौतामा काम गर्छन्। आर्थिक, मानसिक, शारीरिक, भावनात्मक - सबै रूपका सबै जोखिम उनीहरूकै काँधमा थियो।

    एक जना बार सञ्चालकले हामीलाई भने, “उनीहरूलाई गाह्रो त हुन्छ नै। तर हामीले सबै जिम्मेवारी लिने कुरा हुँदैन। यहाँबाट घर पठाए पछिको जिम्मेवारी त हामी लिन सक्दैनौँ नि त । हामीले सरकारी मापदण्ड र पोखराको पर्यटनलाई ध्यानमा राखेर व्यवसाय चलाएका छौँ। यो अब एउटा सम्मानित पेसा बनिसकेको छ। हामी श्रमिकहरूलाई परिवारको जस्तै व्यवहार गर्छौँ, कुनै शोषण छैन। यस्ता नकारात्मक हल्लाले समग्र व्यवसायलाई बदनाम गर्छ।”

    त्यही बिचमा काउन्टरमा बसिरहेकी एक महिलाले वास्तविकता भन्छिन् - "बाहिर सबै राम्रो छ भनेर देखाउन भनिन्छ। तर, हामीलाई न्यूनतम तलब पाउन गाह्रो छ, 'टिप्स' मा भर पर्नुपर्छ। राति सुरक्षाको डर हुन्छ। मालिकहरूले 'सबै ठिक छ' भनेर झूटो प्रचार मात्रै गर्छन्। विरोध गर्दा भोलिपल्ट काम नदिने धम्की आउँछ।" उनका आँखामा थकान थियो, आवाजमा डर। उनी क्यामेरामा धेरै खुल्न सकिनन्, त्यै पनि उनले बोलेका अर्ध वाक्यहरूले नै पुरै कथा बोकेका थिए।

    “डर लागिरहन्छ। ग्राहकबाट धेरै डर हुन्छ। उनीहरू मदिरामा मैमत्त हुन्छन्।” अर्कीले भन्छन्।

    उनीहरूको अनुभवले सञ्चालकको दाबी गरेको “व्यवस्थित” वातावरणलाई पूर्ण रूपमा अस्वीकार गरिदियो।

    सञ्चालक र श्रमिकका कुरा अझ विरोधाभास बन्दै जान्छन्, जब त्यहाँका स्थानीय निकायसँग हामीले कुरा गर्‍यौँ। पोखरा महानगरपालिकाका उपमेयरले भन्नुभयो : “रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्ने हाम्रो दायित्व हो र हामीले कमजोरीहरू स्वीकार गरेका छौँ। श्रमिकको शोषण हुने कुरालाई शून्य सहनशीलतामा राख्नेछौँ। अबको अनुगमनमा नियम पालना नगर्ने व्यवसायीलाई कडा कारबाही गरिनेछ।”

    हामीले भेटेका धेरै महिलाले काम बदल्न चाहने इच्छा पनि जनाए साथै बताए कि कम पढाई, आवश्यक तालिमको कमी र कमसल आर्थिक अवस्थाले गर्दा विकल्पहरू थोरै छन्। आफूले गरेको कामको परिचय लुकाउनुपर्ने बाध्यता त झनै गम्भीर समस्या हो। 

    अप्रगतिशील सोचले भरिएको समाजमा उनीहरूलाई मान्छे नै हैन जसरी हेरिन्छ अनि त्यो सोचले उनीहरूको भविष्यलाई जटिल बनाइदिन्छ। 

    यसरी हेर्दा यो कुरा स्पष्ट हुन्छ कि यो ‘ग्ल्यामर’ले भरिएको चमकधमक भित्र अन्धकारले जरा गाडेर  बसेको छ। व्यवसाय आफैमा समस्या नभई राज्यका कमजोर नीतिहरू, अनियमितता, प्रभावहीन अनुगमन र समाजको दृष्टिकोण सबै मिसिएर यो क्षेत्र अझ जटिल बनेको छ।

    एउटा सवाल को जवाफ खोज्न साह्रै महत्त्वपूर्ण छ ।

    “मनोरञ्जन क्षेत्रमा खट्ने यी महिलाहरू, किशोरीहरू अनि पुरुष श्रमिकहरूका लागि सम्मान र सुरक्षाको ग्यारेन्टी कहिले हुन्छ? “

    “कानुन कागजमा मात्र होइन, वास्तवमै लागु कहिले हुन्छ?”

    “सञ्चालकको झुटो चमकदार प्रचार कहिले यथार्थसँग मेल खान्छ?”

    किनकि जबसम्म श्रमिक सुरक्षित हुँदैनन् तबसम्म रात्रिकालीन व्यवसाय मर्यादित बन्न सक्दैन। अब झुटको पर्दा च्यातिन जरुरी छ । 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij