काठमाडौं। आजभन्दा ६० वर्ष पहिले अर्थात् वि.सं २०२२ साल। एउटा १२ वर्षको बालक आफ्नो बुबासँग पर्वतबाट कास्की झर्छ। ऊ बुझ्ने त थिएन तर जीवनका १२ वर्ष बिताएको समय उसका लागि निकै प्यारो थियो। उसलाई साथीभाई, आफन्त र गाउँ छोड्न मन थिएन। मनले कताकता ठाउँ छोड्न मानेको थिएन। तर पनि बुबाको अगाडी उसको के लाग्थ्यो! ऊ आयो।
त्यसपछिका ५० वर्ष उसले कास्कीमै बितायो। आफ्नो जीवनकालमा उसले सक्दो मेहनत गर्यो। मजदुरी गरेरै परिवार धान्यो।
समय बुढ्यौलीतिर ढल्कँदैछ तापनि ऊ संघर्ष गरिराखेकै छ, पाखुरा खियाइराखेकै छ। ऊ अशिक्षित छ। तर उसले जीवनबाट सिकेको छ धेरै कुरा । उसको जीवनदर्शन हो- 'श्रम नगरी मान्छे भइन्नँ'
आजको 'अघिल्लो पुस्ता' ७० वर्षिय सोमबहादुर कार्कीसँग !
… … … …
पोखराको टुरिस्ट बसपार्क नजिकै रोडछेऊको चौरमा साथीसँग गफिँदै थिए सोमबहादुर। शिरमा ढाँकाटोपी र इस्टकोटमा सजिएका, फुलेका जुँगा। हेर्दै पाका !
झण्डै आधा घण्टा गफियौँ उनीसँग। सोमबहादुर पनि उत्साहित भएर बोले।
'पोखरा चाहिँ किन ल्याउनुभो नि तपाईको बुबाले?'
'गाउँमा जीवन सजिलो रहेनछ। मलाई पछि भन्नुभो बाले। हामीलाई पाल्नलाई समस्या भएपछि सपरिवार यतै ल्याउनुभो। हाम्रो लालनपालन यतै भो।' हाम्रो प्रश्नमा उनको जवाफ।
उनलाई आफ्नो मूल थलो पर्वतको राम्रो सम्झना छैन। पोखराको कुरा चाहिँ याद छ। 'त्यो बेलाको पोखरा, अहिलेको जस्तो विकसित सहर थिएन। वरिपरि जङ्गल, वन्यजन्तुको वासस्थान थियो।' उनी भन्छन्, 'यहाँका सडक बाटो बनाउने काम मैले पनि गरेकोले सबै याद छ।'
उनले आफ्नो जीवनकालमा पोखरामा भएको अविश्वसनीय विकासलाई प्रत्यक्ष अनुभव गरेका छन्। उनका अनुसार, पोखराको लगभग ८० प्रतिशत विकास उनकै जीवनकालमा भएको हो। विकास केवल ठूला संरचनामा मात्र भएको छैन, पुरानो समाजमा रहेका कडा जातपातका चलनहरू हराएर सबैले मिलेर बस्ने स्थिति आएकोमा उनी खुसी छन्।
सोमबहादुरको जीवन सुरुदेखि नै कठोर थियो। परिवारको दुःखको भारीले गर्दा उनले पढाइलाई पाँच कक्षाभन्दा माथि बढाउन सकेनन्। किताब छोडेर, उनले बोरामा माटो बोक्नेजस्ता कडा मजदुरीको काम गरे। दिनभरको पसिनाको मोल ५ सुका (पुरानो मुद्रा) मात्र हुन्थ्यो। त्यो जमानाको कुरा!
सोमबहादुरले आफ्नो जीवनको लामो कालखण्ड गिट्टी बालुवा बोक्दै, भवनहरू जोड्दै र प्लास्टर गर्दै बिताए। आफ्नो ७०/८० वर्षको बुढ्यौलीतिर ढल्कँदै जाँदा पनि उनको श्रमिक जीवन अझैँ सक्रिय छ। उनको ज्यानले कति सडक र बाटोहरूलाई आकार दिएको छ, त्यसको हिसाब छैन। यहि कामको आम्दानीले उनले घर चलाए, आफु नपढे पनि छोराछोरी पढाए।
सोमबहादुरकी श्रीमती ६० सालमै बितिन्। त्यसपछि अर्की श्रीमती ल्याए । अहिले उनै कान्छि श्रीमती र छोरासँग बस्छन्। छोराछोरी भए पनि उनले नखटी भएको छैन। जब उनको मन दुख्छ र विश्राम खोज्छ, उनको भित्री आत्माले भन्छ, 'जीवन श्रमबिना कहाँ छ र!' उनका लागि, काम भनेको गीताको सार हो—"फल मिलोस् या नमिलोस्, काममा लागिराख्ने काम मान्छेको हो।" परिश्रमको फल सधैँ मिठो हुन्छ भन्ने उसको अटल विश्वास छ। उनी भन्छन्, 'बस्दा मान्छे चाडै बुढो हुन्छ।' त्यसैले सक्रिय रहनु नै शरीर स्वास्थ्य राख्ने उत्तम उपाय लाग्छ उनलाई।
तर आजका युवाहरूको जीवनशैलीप्रति भने केही चिन्ता छ उनलाई। भन्छन्, 'युवाहरू कमाईभन्दा बढी खर्च गर्छन्, खाली आराम खोज्छन् र भोगवादी जीवनशैलीमा रमाउँछन्।' उनको सरल दर्शन—'काम नगरी मान्छे भइँदैन'—आजको पुस्ताले भुलेको जस्तो लाग्छ।
सोमबहादुर कार्कीको जीवन, श्रमको पूजा गर्ने एक जीवित उदाहरण हो। उनको ७० वर्षे जीवनले पोखराको विकासलाई आफ्नो पसिनाले सिंचेको छ। आज पनि उनी भवन जोड्दै छन्, हामीलाई सम्झाउँदै छन् कि जीवनको सार्थकता श्रम गर्नुमा छ।
सोमबहादुरको आफ्नै जीवनदर्शन छ। उनी जीवनलाई फुलेको बेलुनको संज्ञा दिन्छन्। भन्छन्,'फुलेको बेलुन न हो जीवन! जोखिम, संघर्ष र अनिश्चितताले भरिएको!'
अन्त्यमा उनी अर्ती दिन्छन्, 'नाङ्गै आउने र नाङ्गै जाने जीवनमा धन, सम्पत्ति र आरामको मोह नगरी बाँच्न सके जीवन राम्रो हुन्छ।'


