काठमाडौं । टीकापुर कैलालीकी १६ वर्षीया जस्मिन (नाम परिवर्तन)। उनकी आमा अटो चलाउँछिन् । बुबा भारतमा मजदुरी गर्छन् । जस्मिन परिवारकी कान्छी छोरी हुन् । कक्षा ८ सम्म उनी आफ्नो विद्यालयको ‘सबैतिर तेज’ मानिन्थिन्। स्केटिङ खेल्थिन्, नृत्यमा पनि राम्रो थिइन् । तर नौ कक्षामा पुग्दै जाँदा साथी सँगातीले उनको बाटो नै बदलियो। जस्मिन भन्छिन्, '१० कक्षा पढ्ने भनेर काठमाडौं हिँडे । एसइइ फाइनल पनि दिइन । साथीको भनाइमा लागेर आमासँग झगडा गरेर नेपालगन्जबाट काठमाडौं आएँ । चिनजानको दिदीकोमा बसेर बारसम्म पुगेँ ।'
त्यतिबेला जस्मिन स्केटिङको अभ्यास गर्थिन् । तर, गाउँघरमा नृत्य गर्दैगर्दा उनी नाचगानतिर आकर्षित हुँदै गइन् । अनि चिनजानको दिदी नाता पर्ने साथीको लहलहैमा परिन् । शुरुमा छोरीलाई आमाले रोक्न खोजिन् । साथीहरूसँग घर भन्दा बाहिरै बढी समय बिताउन थालेपछी आमासँग उनको सम्बन्ध बिग्रँदै गयो । अनि जस्मिनको पढाई पनि बिग्रदै गयो। त्यो समयको आफ्नो कामसँग पछुताउँछिन् जस्मिन । उनी भन्छिन्, त्यसबेला मलाई आफ्नो निर्णय सही लाग्थ्यो। काठमाडौं आएपछि दिदीसँग बस्न थालेको तीन दिनमै नराम्रो घटना घट्यो । ठमेलमा बस्ने पुष्पा दिदीले पशुपति घुम्न जाने भनेर मलाई बार पुर्याइन । उनी आफै बारमा काम गर्ने रहिछन् । भित्र पुगेर केटा केटाहरू रक्सी खाने गरेको देखेर झस्किएँ।
यो घटना गत बैशाख १२ गतेको थियो । उनी बारमा मात्रै के पुगेकी थिइन्, प्रहरीले ठमेलमा रहेको त्यो बारमा छापा मार्यो । अनि त्यही रात जस्मिनलाई अन्य पाँच किशोरीसहित उद्धार गरियो । उनी सम्झिन्छिन्, 'म भाग्यले जोगिएँ । त्यहाँ पुगेको एक घण्टामै प्रहरी आएर लिएर गए । आधा घण्टा समातेर राख्यो । सोधपुछ गरेपछि मलाई शुभ अवसर ग्राम नेपालमा पठाए ।'
अहिले जस्मिन आश्रयमा बसिरहेकी छिन् । उनको बिचमै रोकिएको पढाई पनि चल्दै छ । जस्मिन बिस्तारै पढाइ र परिवारको महत्व बुझ्ने भएकी छिन् । उनी भन्छिन्, 'अब चाहिँ पढाई छोड्दिन । लास्ट महत्व लाग्छ , माया लाग्छ । अब ललाइ फकाइमा कहिल्यै लाग्दिन ।'
शुभ अवसर ग्रामको आश्रयमा भेटिइन्, अर्की १८ वर्षकी किशोरी कविता विश्वकर्मा (नाम परिवर्तन)। उनको परिवेश अली फरक छ तर कथा उस्तै छ । कविता भक्तपुर पाण्डुबजारमा जन्मिइन् । पाँच दिदी भाइमध्ये माइली छोरी हुन्। एकल जीवन बिताइरहेकी कविताकी आमाले होटल व्यवसाय गरेर जसोतसो छोरीहरु हुर्काइरहेकी थिइन् । उनले कक्षा ६ मा पढ्दा पढ्दै पढाइ छोडिन् । साथी संगतकै कारण कुलतमा हात हाल्दै गइन् । आफूले सक्दो प्रयास गर्दा गर्दै पनि माइली छोरी कुलतमा फस्दै गएको आमालाई राम्रैसंग थाहा थियो । तर, आमाले कुलतबाट छुटाउन सकिनन् । अनि कविताले पनि घर छोडिन् ।
कविता भन्छिन्, 'आमालाई पनि कुलतमा लागेको थाहा थियो । कोटेश्वरको बारमा गएँ साथीसंग । साथी वेटर थिइन्, म डान्स गर्थेँ ।' बारमा एक महिना काम गरेपछि त्यहाँबाट उनी खाली हात निस्कनुपर्यो । कवितासंग काम नभएकै बेला, उनको साथीसंग पनि सम्बन्ध विच्छेद भयो । सबैतिरबाट एक्लिएकी उनी मानसिक चिन्तामा पर्दै गइन् । उनी भन्छिन्, 'केटा साथीसंग छुट्टै बस्दै थिएँ । गाँजा गोटी सबै खाएँ । उ संग पनि ब्रेकअप भयो । अनि एक जना आन्टीसंग कुरा भएर यो संस्थासम्म आइपुगेँ ।'
शुभ अवसर ग्राम नेपाल ओभिएनको आश्रय स्थलमा भेटिएका यी दुइ पात्र प्रतिनिधि पात्र मात्रै हुन् । सानै उमेरमा पैसा, देखावटी माया र जालसाजी भोग्ने कयौं किशोरीहरूका कथा रात्रिकालीन पेशामा यत्रतत्र छन् । काठमाडौं लगायत अन्य क्षेत्रमा सञ्चालित डान्स बारहरुमा अधिकांश नाच्ने कलाकार १८ वर्ष मुनिका छन् । अध्ययनले भन्छ, 'पारिवारिक अवस्था, घरमा संवादको कमी, उमेरको कौतुहलता र प्रलोभनकै कारण अधिकांश किशोरीहरु यस क्षेत्रमा फस्ने गर्छन।' १८ वर्ष मुनीका बालबालिकाका लागि जोखिम हुने यी कार्यक्षेत्रमा पुग्न नदिन परिवार, विद्यालयले आफ्ना नानीहरुबारे जोखिमका संकेत बुझ्न जरुरी भएको विज्ञहरूले बताएका छन् ।
नत्र बाल्यकाले खुशी खोज्दाखोज्दै कतिबेला जीवनको लय नै भत्किन्छ कसैलाई थाहा हुँदैन ।


