मनोज कुमार चापागाईं, उद्योगी र व्यापारीहरूको सूचीहरू पल्टाउँदा सहजै भेटिने एउटा नाम। यो नामलाई यो प्रतिष्ठित परिचय बन्न कति समय लाग्यो ? त्यसका लागि भोजपुरको दिङ्ला पुग्नुपर्छ। दिङ्ला सँगै जोडिएर आउने अर्को पहिचान रुद्राक्षको कुरा गर्नुपर्छ ।
हो, त्यही भोजपुर र त्यहाँका रुद्राक्षले दिएको परिचयले मनोज कुमार चापागाईं सफल निर्यात व्यवसायी बनेका छन् ।
चापागाईंसँग हामीले सोध्यौँ, रुद्राक्ष आस्था हो कि व्यापार ? उनले शुरुमा उत्तर दिन असहज माने । किनकि उनको बाल्यकाल पूर्ण रुपमा रुद्राक्षप्रतिको आस्थामै बित्यो । चापागाईंले भने, 'म रुद्राक्षकै फेदमा जन्मेर हुर्केको मान्छे हुँ।'
आस्थासँग जोडिएको बस्तुको व्यापार कसरी गर्नुभयो त ? उनलाई यो एक क्रान्ति हो झैं लाग्छ । आध्यात्मिक शक्तिको प्रतीक मानिने त्यही रुद्राक्षले नेपाली बजारमा वर्षेनी अरबौँको व्यापार गर्छ । 'अनि त्यो रुद्राक्षका ग्राहक पनि आस्था राख्ने नै हुन्छन् । अनि रुद्राक्षसँग आस्था राख्नेहरूसँग पुर्याउने बाटो मात्रै हो यो व्यापार ।', बल्ल चापागाईंले सैद्धान्तिक जवाफ दिए ।
अहिले चापागाईं रुद्राक्ष व्यवसायी संघका अध्यक्ष हुन् ।
आस्थादेखि व्यवसायीसम्मको यात्रा
चापागाईंका पुर्खाहरूका लागि रुद्राक्ष केवल पुण्यको वस्तु थियो, दिने, बाँड्ने र आस्थाको वस्तु। भारतबाट आउने जोगी र सन्यासीहरूलाई रुद्राक्ष दिइन्थ्यो, र तिनीहरूले आशीर्वाद दिँदै जान्थे। त्यो समय रुद्राक्षको मूल्य पैसामा नभई आस्थामा मापन हुन्थ्यो। तर, समय बदलियो। परम्परा व्यापारमा रूपान्तरण हुन थाल्यो।
चापागाईंको बाल्यकालको सपना आर्मी बन्ने थियो । त्यो सपना पुरा भएन । पछि उनले आफ्नै करेसाबारीमा फल्ने रुद्राक्षलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने निर्णय गरे। उनका अनुसार, रुद्राक्ष व्यापार टिकेको कारण नै यसको आस्था हो । धार्मिक वस्तुमा बेइमानी गर्न जो कोही पनि डराउँछ। यसरी एक आस्थाको वस्तुलाई उनले प्रतिस्पर्धी व्यवसायको आधार बनाए।
सङ्कटको सारथी रुद्राक्ष
रुद्राक्षले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ। कोरोनाकाल जस्तो ठूला आर्थिक सङ्कटका बेला पनि यसले देशको अर्थतन्त्रलाई टेवा दियो।
संघको तथ्याङ्क अनुसार, हरेक वर्ष २ देखि ४ अर्ब रुपैयाँसम्मको रुद्राक्ष निर्यात हुन्छ। पछिल्लो वर्ष मात्रै २ लाख ५० हजार केजी रुद्राक्ष विदेश पठाइएको थियो। अहिले नेपाली बजारमा न्यून मूल्यदेखि उच्च मूल्यसम्मको रुद्राक्ष पाइन्छन् । उच्च गुणस्तरका मानिने सात मुखे वा सोभन्दा माथिका दानाको मूल्य ५०० रुपैयाँदेखि लाखौंसम्म पर्ने गरेको चापागाईंले बताए।
यो क्षेत्रले हजारौंलाई रोजगारी दिएको छ । कम्तीमा १० देखि २० हजार मानिस प्रत्यक्ष रोजगारमा रहेको अनौपचारिक तथ्यांक छ । यी रोजगारीसँग करिब २ लाख मानिसको जीविका जोडिएको छ। रुद्राक्ष व्यवसाय नेपालको कृषि आधारित अर्थतन्त्रको एक बलियो खम्बा बन्न सफल भएको छ।
किसानका पीडा उस्तै
केन्द्रमा देशको अर्थतन्त्रका अंकमा रुद्राक्षको स्थान उच्च भए पनि किसानका पिडामा केही पनि फेरबदल नभएको चापागाईं बताउँछन् । उनी भन्छन्, किसानहरुलाई रुद्राक्ष रुखबाटै टिप्न गाह्रो छ । रुद्राक्ष टिप्दैमा वर्षेनी केही मानिसको मृत्यु हुन्छ । ख्वै त सरकारले सुनेको ?
रुद्राक्ष सफा गर्ने मेसिन समेत नहुँदा मारको परिरहेको उनी बताउँछन् । उनी भन्छन्, 'साधारण रुद्राक्ष किसानले १० रुपैयाँ प्रति केजीमा बेच्छन्, जसको उत्पादन लागत नै १२–१५ रुपैयाँ पर्छ। तर यही कच्चा दाना विदेशमा प्रशोधन भएर हजारौं रुपैयाँको गहना वा धार्मिक सामग्रीमा रूपान्तरण हुन्छ। नेपालमा सीप र प्रविधिको अभावले गर्दा किसानको मिहिनेत विदेशले उठाइरहेको छ।'
व्यवसायीहरूका अनुसार, सरकार र प्रहरी प्रशासनको कानुनी अस्पष्टताले पनि किसानलाई असहज बनाइरहेको छ ।
चापागाईं भन्छन्, 'रुद्राक्षलाई सरकारले कृषि उपज माने पनि प्रहरी वा वन कार्यालयहरूले वनको वस्तु भन्दै धरपकड गर्ने, कागजात माग्ने र ओसारपसारमा अवरोध पुर्याउने गरेको गुनासो छ। यसले व्यवसायलाई पूर्ण रूपमा फस्टाउन दिएको छैन।'


