काठमाडौं । वनस्थली चोक, निकै व्यस्त सडक, गाडीहरूको भीड र चर्को हर्नको आवाज चलिरहेको छ । तिब्र गतिमा गाडीहरू हुइँकिरहेका छन् । लाग्छ, समयलाई पनि जितेर अगाडि बढ्ने होडमा छन्, मानिसहरू।
यो नयाँ विषय होइन, काठमाडौं शहरको दैनिकी नै यस्तै छ । हामी बालाजु चोक देखि वनस्थलीको बिचमा रहेको चर्चित सिद्धार्थ बनस्थली स्कूलको छेवैमा छौँ । जुन स्कुलमा कयौँ चर्चित व्यक्तिहरूले शिक्षा आर्जन गरेका छन् । यही स्कुलको छेवैको ठूलो सडक किनारामा भेटिन्छन् ढुङ्गा फुटाइरहेका र बेचिरहेका वृद्ध प्रह्लाद कुशवाह। भैरहवा घर बताउने ती वृद्धलाई सबैले पथ्थरकट्टा भनेर चिन्ने रहेछन् । उनी भन्छन्, 'हामीलाई सबैले पथ्थरकट्टा भन्छन्। जे होस्, यो पुर्ख्यौली पेशाले मलाई खान दिएको छ, हामी खुशी छौं ।'
पथ्थरकट्टाका अनुसार पथ्थरहरूसँग कुशवाहको सामिप्यमा भएको वर्षौं भइसक्यो । उनको ढुङ्गासँगको यो सम्बन्ध तीन पुस्तादेखि चल्दै आएको हो । उनले यी ढुङ्गाहरू कहिले नेपालका खोलाहरूको रोयल्टी तिरेर त कहिले भन्सार तिरेर भारतबाट ल्याउँछन्। त्यसरी ल्याएका ढुङ्गा खोपेर उनी सिलौटो र लोहोरो बनाउँछन्। हामीसँगको कुराकानीमा गर्वका साथ कुशवाह भन्छन्, 'यो काम मेरो तीन पुस्ते काम हो। हामी अरु कसैको जागिर गर्दैनौँ, अरु कसैको काम गर्दैनौँ। जबसम्म मेरो सास रहन्छ, म यही काम गर्छु ।'
कुशवाह आफूले बनाएका यी सिलौटोहरू तीन सयदेखि एक हजार रुपैयाँसम्ममा बेच्ने गर्छन्। पुर्खाको विरासत र आफ्नो दैनिकी जोडिएको यो पेशाका लागि उनको लगावलाई सरकारले अपमान गरेको उनको गुनासो छ। पछिल्ला वर्षमा आफ्नो यो पेशामा झन् ठूलो सङ्कट परेको उनको बुझाइ छ।
उनको अनुहारमा चिन्ताको भाव स्पष्ट देखिन्छ। अब त हाम्रो पेशा सङ्कटमा छ।
कुशवाहका छोराछोरी सबैको विवाह भइसकेको छ। उनी श्रीमतीसँगै सानो एक कोठा लिएर काठमाडौँमा जीवन बिताइरहेका छन् ।


