राष्ट्रिय ट्रमा सेन्टरको आइसियु वार्डमा बिरामीहरूको सकस उच्चाटलाग्दो थियो । सबैतिर बिरामीका मुटुको छाल र अक्सिजनको मात्रा देखाउने मनिटरका टिँ-टिँ, टुँ-टुँ आवाज । ढोका खुलेका आवाज, अनि बाहिरतिरका बिरामीका क्रन्दन । बिरामीको स्याहारमा खटिएका नर्सहरूको आफ्नै व्यस्तता थियो । त्यही व्यस्तता बीच नर्सहरूमाझ एउटा जुत्ताको चर्चा चल्छ ।
'त्यो जुत्ता कसको होला नि ?'
'कुन बिचरो देशलाई जुत्तो छोडेर मर्यो !'
उनले खासै वास्ता गरेनन् । जुत्ताको गाइँगुइँ चल्न छाडेन ।
तीन चार दिनमा कुरुवा बसेका आफ्नै सालोले कानमा आएर खुसुक्क भने, 'भिनाजु तपाईंको जुत्ता त भाइरल भएछ त !' प्रकाशलाई खासै छोएन । दुखाइले निखारेको अररो शरीर । देशमा के हुँदै होला भन्ने चिन्ता । भविष्यको अन्यौलता । सपना हो कि विपना जस्ता दिन । वास्ता गर्नुपर्ने अनेक कुरा थिए ।
गाउँ-शहर, देश-विदेश सबैतिरको चासो-चर्चामा परेको जुत्ताले सामाजिक सञ्जालका भित्ता ओगटेको थियो । त्यसको परिधिले अस्पतालको आइसियू के छाड्थ्यो ?
जतिखेरै नर्सहरूले आपसमा कुरा गरेको गर्यै गर्न थालेपछि प्रकाशलाई पनि चासो लाग्यो । उनले आफ्नो स्याहारमा आएकी नर्ससङ्ग जिज्ञासा राखे । नर्सले फोनमा देखाएको जुत्ताको तस्बिरले एकछिन तिरिमिरी पार्यो । धमिलो धमिलो भयो । आँखा तिखारेर हेरे । 'ओख्खो ! जुत्ता त मेरै पो हो !'
श्रीमती आइसियूमा आइपुगिन् । आफूले जुत्ता किन्दा पठाएको फोटो भिडियो श्रीमतीको फोनमा हेरे, प्रकाशले । अब चाहिँ पक्का भयो- आन्दोलनमा रक्ताम्य भएर संसारभर छाएको जुत्ता खुद उनकै रहेछ ।
... ... ...
'कतै यो सेतो लुगा बेलुका रातै हुने त होइन ?'
भदौ २३ गते बिहान घरबाट निस्किँदा प्रकाशको मनमा बिजुली चम्केजस्तो एउटा प्रश्न आएको थियो । ऐनामा आफ्नो पहिरन हेरे- सेतो टिसर्ट, कालो ट्राउजर अनि सेतोमा कालो धर्सा भएको अडिडास जुत्ता । आफैंले आफैलाई उत्तर दिए- 'केही हुन्न ।'
प्रकाश बोहरा (२८) दैलेख । नारायण नगरपालिका, तर्ताङ्गबाट दुई महिना अघि मात्रै काठमाडौं आएका । वैदेशिक रोजगारीको तयारीका लागि काठमाडौं आएका । यसपाला कतार प्रहरीको जागिरमा जाने तयारी गरिरहेका थिए, प्रकाश । एकाएक देशभर नेपो-किड्सको विरुद्धमा जेनजी प्रदर्शनको बिगुल बज्छ । आफ्नो उमेर समूहको प्रदर्शनमा प्रकाश नजाने प्रश्नै थिएन ।
भदौ २३ गते जेनजी प्रदर्शनमा सालो विप्लवसङ्गै होमिन्छन्, प्रकाश । अग्रपंक्तिमा पुगेर फोटो भिडियो खिच्छन्, नारा लगाउँछन् । दंगा भड्किंदै जान्छ । उतिबेलासम्म उनी भिडियो खिचिरहन्छन् ।
सुइँकिएर आएको गोलीले प्रकाशको शरीर छेड्छ । खुट्टा लत्रिएर उनी ढल्छन् । उनको खुट्टामा गोली लागेका बेला सालो विप्लवले खिचेको भिडियोमा पनि सोही जुत्ता कैद हुन्छ । प्रकाशलाई एम्बुलेन्समा राख्दै गर्दा उनको एउटा जुत्ता त्यो रणभूमिमै खोलेर फालिन्छ । प्रकाशको रगतले रंगिएको त्यही सेतो जुत्ता सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय संचार माध्यमसम्म जेनजी आन्दोलनको बिम्ब कहलिन्छ ।
… … …
प्रकाश अहिले ट्रमा सेन्टरको एचडियु वार्डमा उपचाररत छन् । उपचार कति लम्बिन्छ यकिन छैन । देशमा सिर्जित अवस्थाले उनको मन भतभती पोलेको छ, गोलीको तातोले भन्दा पनि अचाक्ली । आफू र आफ्नो पुस्ताको रगतले देशमा आउन खोजेको परिवर्तन दीगो र दीर्घकालीन नहुने हो कि भन्ने पीरको भारीले उनको छाती न्याकेको छ ।
'८४ को चुनाव ८२ मा सार्नकै लागि त हाम्रो रगतको पिच्कारीले यो धर्ती सिंचिएको होइन नि !' अलिक आक्रोशित मुद्रामा उनी अगाडि थप्छन्- 'खोइ त सुशासन र पारदर्शिताको ग्यारेन्टी ?'
पहिलो दिनको हत्याकाण्ड लगत्तै भोलिपल्ट जन्मिएको उग्र प्रतिक्रियासँग जोडेर युवा बलिदानीलाई नै ओझेल पार्ने गरी गरिएका नकारात्मक टिप्पणीप्रति उनको चित्त दुखाइ छ । आन्दोलनमा सामेल आन्दोलनकारीलाई सिसिटिभी फूटेज हेर्दै समातिएको प्रति प्रकाशको आपत्ति छ । 'हामीले शान्तिपूर्ण आन्दोलन गर्ने भनेकै हो । राज्यले गोली चलाई आमहत्या मच्चाएपछि आन्दोलनकारी उग्र बनेका हुन् । अब हामीलाई नै समात्न मिल्छ ?' उनी थप्छन्- 'हिम्मत छ भने गोली चलाउन आदेश दिनेहरूलाई पक्राउ गर !'
… … …
अस्पतालमा औषधिका सिरिन्जले घोचिइरहँदा प्रकाशलाई आफ्नो विगतको छायाँ अनि वर्तमान र भविष्यको चिन्ताले सुइरा रोप्छ्न् । परिवारिक जीविकाका निम्ति उनको कलिलो उमेरले भारी काम गरिसकेको छ ।
हेल्थ असिस्टेन्ट पास गरेर प्रकाशले लोकसेवा तयारी गरे । चाहेजस्तो भएन । २०७४ ताका दैलेख कारागारको स्वास्थ्य सेवा शाखामा काम गरे । भूकम्पले भत्काएको घर बनाउँदा लागेको ऋणले थिचिएर उनी विदेश हानिए । रुस र युक्रेन युद्ध सुरु हुनुभदा २ वर्षअघि प्रकाश रुसी सेनामा भर्ती भए । रुसी सेनाले उनलाई युक्रेनविरुद्धको लडाइँमा उभ्यायो । प्रकाश आफ्नै अगाडि अनगिन्ती नेपालीको मृत्युको साक्षी बने । कयौं घाइते भए, बेपत्ता भए । हजार कोशिसपछि गत बैशाखमा बल्लबल्ल नेपाल फर्किए ।
घर फिर्दा नेपालगन्जको एक पसलमा रोकिए, प्रकाश । दुईजोर जुत्ता किने । दुई मध्येको एकजोर जुत्ता थियो- अडिडास साम्बा, मूल्य रू पन्ध्र सय । जेनजी आन्दोलनको साक्षी एकजोडी जुत्तामध्ये एउटा रक्तमुन्छेल सडकको बिम्ब बन्यो, अर्को ट्रमा अस्पतालको आकस्मिक कक्षमा खोलियो ।
… … …
रसिया- युक्रेन युद्धको छर्राले देश फिरेका प्रकाशले सामाजिक संजालमा उच्च पदस्थका छोराछोरीको विलासी जीवनशैली विरुद्धको 'नेपो-किड्स' अभियान देखेका थिए । राजनीतिक तिकडमले देशलाई रुग्ण पारिरहेको बुझेका प्रकाशले 'नेपो-किड्स' पोष्टहरू आफ्ना सामाजिक संजालमा शेयर गर्न थाले । भ्रष्टाचार विरोधी अभियानको जलनले आत्तिएको सरकारले नियमन भन्दै सामाजिक बन्द नै गरिदियो । यसले जेनजी आन्दोलनमा घिउ थप्यो । आक्रोश विस्फोट भयो, ज्वालामुखी जस्तै । त्यो ज्वालामुखी कल्पना बाहिर पुग्यो । नियन्त्रण बाहिर पुग्यो । प्रकाशका ७६ बढी दौंतरले ज्यान गुमाए । १५ सयभन्दा बढी घाइते भए । दुई सयबढी घाइतेको अवस्था प्रकाशको जस्तै छ । तोडफोड र आगजनीले खर्बौंको नोक्सानी भयो ।
… … …
फेरि जुत्ता लाउन मिल्नेगरी प्रकाशको खुट्टा सफेद हुन्छ- हुँदैन, प्रकाश घोत्लिइरहन्छन् । रसिया-युक्रेन युद्धबाट सही-सलामत मातृभूमि टेक्न फर्किएको खुट्टाले परिवर्तनको जग हाल्न माटो र रगत मुछेको छ । उनी सरकारलाई भन्न चाहन्छन्-
गोली हान्न आदेश दिनेलाई तत्काल पक्राउ नगरे... भ्रष्टाचारीलाई कडाभन्दा कारबाही नगरे... शहीदका रगतलाई अबमूल्यन गरिए... घाइतेका माग सम्बोधन नगरिए...
'अब फेरि जुत्ता फालिन्न, बरू टिपेर नेताका गालामा पड्काइन्छ ।'
प्रकाशलाई स्वास्थ्यलाभको कामना । उनी जेनजी आन्दोलनको बिम्ब बनेको आफ्नो जुत्ताको खोजीमा छन्, जुत्ता छिट्टै भेटियोस् ।


