काठमाडौं । सुरेश लामा पेशाले एक कृषक हुन् । नुवाकोट तादी गाउँपालिकाका रैथाने । गाउँमै किसानी गरेर मज्जाले खान पुगेको थियो । चार जनाको सानो परिवारलाई हाँकिरहेका सुरेशको दिन खेतीपातीमै बित्थ्यो । धान, मकै जस्ता अन्न बाली उब्जाउने काममै व्यस्त थिए उनी । नुन , तेल मसाला अनि लुगाफाटा बाहेक रासनमा उनले खर्चै गर्नुपर्दैन । खेती किसानीमै दिन बिताउँदै थिए, तर साथीभाइको लहैलहैमा लागेर उनी ५ वर्ष अघि, काठमाडौं आए । यहाँका ठमेल जस्तो क्षेत्रमा उनलाई साथीले नै रिक्सा चलाउने काममा लगाए । दिउँसो भरि आफू रिक्सा चलाउँथे अनि साथीलाई रातीको ड्युटी दिन्थे सुरेश । पोहोर सालको कुरा हो, दिउँसो उनले रिक्सा चलाएरै दिनमा एक हजारदेखि पन्ध्र सय सम्म कमाए । तर यो वर्ष पर्यटक नेपाल भित्रिने सिजन सुरु भइसक्दा पनि उनको काममा सुस्तता छ । सोह्रखुट्टेबाट ठमेल छिर्ने बाटैमा भेट भएका यी ४० वर्षका सुरेश, यतिबेला पर्यटक आउलान् र घुमाउँला अनि कमाउँला भन्ने पर्खाइमा छन् । रिक्साको सिटमा खैरो टिसर्ट, पाइन्ट र ज्याकेट लगाएर बसिरहेका उनी सडकको दायाँ बायाँ आँखा डुलाउँदै थिए । तर ठमेलमा पर्यटकको संख्यामा आएको कमीले उनको रिक्सा पनि रित्तो भएको थियो ।
भदौ महिनादेखि नेपाल घुम्न धेरै मुलुकबाट पर्यटकको आगमन हुन्छ । पर्यटकको सिजन भदौमा सुरु भएसंगै सुरेशको नुवाकोटबाट काठमाडौंको यात्रा पनि सुरु हुन्छ । उनी सँधैभरि रिक्सा चलाउँदैनन् । उनले रिक्साको ह्यान्डल समाउने तालिका पहिल्यै तय गरेका छन् । भदौदेखि मंसिर, अनि फेरि चैत र बैशाख । उनी पर्यटक आउने सिजनमा दिनको १ सय ५० रुपैयाँ तिर्ने गरी रिक्सा भाडामा लिन्छन् त्यो पनि आँफ्नै साथीसंग । अनि एक्लै काठमाडौं घुम्न रुचाउने पर्यटक पर्खन्छन् । उनी रिक्सा नचलेको दिनको उधारो पैसा अर्को दिनको पैसामा जोडेर साथीलाई तिर्छन । यो दैनिकीका क्रममा जिन्दगीमा भुल्नै नसकिने अनुभव पनि लिएका छन् सुरेशले । उनलाई अहिले पनि स्विट्जरल्याण्डका पर्यटकलाई बसन्तपुरको दरबार स्क्वायर घुमाएको सम्झना छ । उनी त्यो दिन निकै खुसी थिए । खुसी पनि किन नहोउन, रिक्सामा घुम्दा उनका पर्यटकले सन्तुष्ट भएर ४ हजार सुरेशको हातमा थमाइदिएका थिए । सुरेश यो घटना जिन्दगीभर सम्झन्छन् ।
औपचािरक शिक्षाको कुरा गर्ने हो भने सुरेशले केवल कक्षा ४ सम्म पढेका छन् । तर उनी अंग्रेजी बोल्छन् अनि विदेशीलाई यहाँका बौद्धनाथ स्तुपा, स्वयम्भु, पशुपति, दरबार स्क्वायरबारे भटटट व्याख्या गर्न सक्छन् । उनले रिक्सा चलाएको धेरै समय भएकै छैन, त्यही पनि विदेशी पर्यटकसंग सामान्य बोलचाल गर्दागर्दै अंग्रेजीमा बयान गर्न सक्ने खुबी सुरेशले आफूमा विकास गरिसके ।
यसो हेर्दा उनी यो काममा निकै मस्ती गरिरहेका छन् । तर यसपाली भने उनलाई पट्यार लागेको छ । आउँदो दशैं पनि खल्लो लाग्न थालिसकेको छ । उनी भन्छन् ‘कमाइ भए पो रमाइलो हुुनु ।’ पोहोर साल यही ४ महिनाको सिजनमा रिक्सा चलाएर डेढ लाखसम्म कमाइ भयो । काठमाडौंको नागपोखरीमा बस्दै आएको सुरेशलाई यसपाली रिक्सा र कोठा दुइटैको भाडा नउठेकोमा चिन्ता छ ।
उनको काममा मन्दी आउनुको एउटै मात्र कारण जेन जी आन्दोलन हो । यत्तिकै पनि देशमा आर्थिक मन्दी थियो, त्यसमा जेन जी आन्दोलनले थप मलजल पुग्यो भन्ने निष्कर्षमा उनी पुगेका छन् । आँखै अगाडि भएका गतिविधिले उनलाई सपना देखेजस्तै लाग्छ । उनलाई लाग्छ, एकै छिनमा सबै समाप्त भयो । यत्ति सम्मको आन्दोलन मैले हाम्रो पालामा देखेकै थिइन ।ु टिभिमा आन्दोलनका गतिविधि हेर्दाहेर्दै सबै समाप्त भएको देख्दा उनी अवाक रहे । तर पनि देशको परिस्थितिका कारण उनले पनि यो आन्दोलनको आवश्यकतालाई नकार्न भने सकेनन् । किनभने उनलाई थाहा छ, देश बने नेपाली बन्छन् र समृद्ध हुन सक्छन् ।


