काठमाडौं। नेपालमा भेगनिजमको प्रचलन बढ्दो छ । युवाहरू पनि अरु प्राणीलाई दुख नदिने भन्दै पूर्ण रुपमा भेगन बनिरहेका छन् । भेगनहरूले जनवारको स्रोतबाट आएका कुनै पनि खानेकुरा खाँदैनन् । काठमाडौँको गोकर्णमा बस्ने २० वर्षीय प्रसन्न उपाध्यायले पनि केही महिनादेखि भेगन जीवनशैली अपनाइरहेका छन् । किन भेगन बन्नुभयो त ? उनी हाँस्दै जवाफ दिन्छन्, 'यो यात्रा अरूको लागि सुरु भएको होइन, आफ्नै लागि हो।'
प्रसन्नको यो परिवर्तनको प्रेरणाको स्रोत युट्युब भिडियो बन्यो। उनलाई भेगन जीवनशैलीबारे खासै केही थाहा थिएन। तर जब उनले युट्युबमा गाई वा भैँसीको दूध निकालेर मानिसले खाइदिँदा त्यसको उनीहरूको बच्चालाई कति पीडा हुन्छ भन्नेबारेका भिडियोहरू हेरे, उनको मन त्यसले छोयो। 'गाईभैँसीको दूध निकालेर उनीहरूका बच्चाहरूलाई कति दुःख हुन्छ भन्ने कुराले मेरो मन एकदमै दुख्यो' उनले भने।
यो निर्णय गर्नुअघि प्रसन्नलाई सबैभन्दा मन पर्ने खानेकुरा चीज थियो। विशेष गरी चीज राखिएको पिज्जा उनको प्रिय परिकार थियो। सुरुमा यो खानेकुरा छाड्न उनलाई निकै गाह्रो भयो। सुरुमा त्यो छाड्न एकदमै गाह्रो भएको थियो, उनले आफ्नो अनुभव सुनाए।
कहिलेकाहीँ मनले पहिला धेरै खाइरहेको खानेकुरा देख्दा खाऊँ खाऊँ लाग्दैन ? भन्ने प्रश्नमा उनी मुस्कुराउँदै जवाफ दिन्छन्, 'खाऊँ-खाऊँ लाग्छ अनि गाईको बाच्छालाई सम्झिन्छु र पछि हट्छु।'


