काठमाडौँ । भदौमा जेन जीले सुरु गरेको आन्दोलनले राजनीतिक परिदृश्यमा ल्याएको उथलपुथल र दलहरूभित्र नेतृत्व हस्तान्तरणको मागले नेपालको वर्तमान राजनीति संवेदनशील अवस्थामा ल्याइपुर्याएको छ । आन्दोलन लगत्तै सबैतिर परिवर्तनको खोजी भइरहँदा यहाँ धेरै जोखिम र जटिलता भने कायमै छन् । आन्दोलनले सबैभन्दा पहिला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्यो । ओली सरकार ढलेसंगै नेतृत्व परिवर्तनको लहड प्रमुख राजनीतिक दलहरुभित्र व्यापक रुपमा चलेको पाइन्छ ।
यतिबेला दलहरूभित्र पुरानो यथास्थितिवादी र नयाँ पुस्ताबीचको द्वन्द्व चर्किएको छ । नेपाली कांग्रेसमा विशेष महाधिवेशन र विधान अनुसार समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने दबाव लगातार बढिरहेको छ । कांग्रेसका नेता गुरुराज घिमिरे लगायत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै आजैदेखि पार्टीमा हस्ताक्षर अभियान सुरु गरेका छन् ।
पार्टीलाई अहिलेको दुरावस्थाबाट निकालेर समयसापेक्ष प्रभावकारी बनाउन जिम्मेवारीबोध गरी विधानको धारा १७ २ अनुसार विशेष महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ । तर कांग्रेसका दोस्रो र तेस्रो तहका नेताहरु, आन्दोलनमा घाइते भएका पार्टी अध्यक्ष शेरबहादुर देउवा सकुशल हुने र माहोल बन्ने पर्खाइमा रहेको देखिन्छ ।
यता नेकपा माओवादी केन्द्रमा पनि जनार्दन शर्मा लगायत अन्य नेताहरु विशेष महाधिवेशनको माग गरिरहेका छन् । पार्टीको विधान र आन्तरिक संरचनाहरूमा सुधार होस् भन्ने आवाज स्पष्ट रुपमा सतहमै आएको छ । त्यसका लागि प्रचण्डले समेत सार्वजनिक रुपमा विशेष महाधिवेशन गर्ने बताइसकेका छन् । प्रचण्डले मौजुदा केन्द्रीय समिति भंग गरेर मंसिरमै विशेष महाधिवेशनमा जाने प्रस्ताव पदाधिकारी बैठकमा पेश गरे ।
त्यस्तै नेकपा एमालेतर्फ पनि केही साताअघि सकिएको विधान अधिवेशनपछि जसरी अधिकांश नेताहरुले पार्टी नेतृत्व सम्बन्धमा बोले, त्यसैगरी अहिलेको नेतृत्व परिवर्तनमा गइहाल्ने अवस्था नभएकोतर्फ इंगित गर्दै आएका छन् । यद्यपि तेस्रो तहका नेताहरु भने पार्टी पूनःगठनको मागलाई आलटाल गर्ने पक्षमा देखिँदैनन् ।
यसो भनिरहँदा, अहिलेका तीन शीर्ष दलहरुको पुनःगठन कहिले र कसरी हुनेछ भन्ने कुरामा स्पष्टता देखिँदैन ।
जेन जीको आन्दोलन र यसले दिएको दबाबले सकारात्मक प्रभाव छोड्दै गएको भान हुँदैछ । नयाँ अनुहारहरु माथि आउने तरखरमा देखिन्छन् जो नेतृत्वको स्थायित्वसंगसंगै नैतिकता, प्रतिबद्धता, जनहित र जवाफदेहीताको पनि पक्षधर छन् ।
अहिले नेतृत्व हस्तान्तरणको माग उठ्नु भनेको उपयुक्त संरचनाहरू, विधान, अवसर र जिम्मेवारीको समान वितरणको खोजी पनि हुनु हो ।
समयले दलहरूलाई द्वन्द्वबाट बाहिर निस्कने अवसर पक्कै पनि दिनेछ । त्यस बखत यी दलहरुले समयमै निर्वाचन, महाधिवेशन वा विधान र संगठन सुधार, युवा नेतृत्व र फरक धारलाई समायोजन गर्दै लानु आवश्यक छ ।
यदि यसो नहुने हो भने आन्दोलन पूर्णतः असफल हुँदै जानेछ र पुराना शक्ति केन्द्रहरू फेरि आफ्नो प्रभाव जमाउनेतर्फ लाग्नेछन् ।
जनताले आज परिवर्तन खोजिरहेका छन् नेतृत्व चयन गर्नेहरुले त्यो खोजलाई सम्मान र जवाफदेहीताका साथ हेर्न सके जेन जी आन्दोलनमा आहुती दिनेहरुले सच्चा न्याय पाउने छन् र नेपालको लोकतन्त्र निर्माणमा नयाँ मोड आउने छ ।


