काठमाडौं । चैत्र १५ को राजावादी आन्दोलनको थलो तिनकुने। त्यसबेला ध्वस्त भएको ‘मार्वल हाउस’, जो पुनर्निर्माण भइसकेको छ। हाउस नजिकै होटेलको भवन निर्माण विस्तारको काममा मजदुर लागेको देखिन्छ । उनीहरु सिमेन्ट बालुवाको कच्चा पदार्थ एक ठाउँमा घोलिराखेर भुँईमा बसिराखेका थिए। पत्रकार देखेर सोधिहाले ‘उतातिरको खबर के छ ?’
मैले भनेँ, 'सुनसान छ सबै । सेनाले कडा सुरक्षा दिइराखेको छ !'
नजिकै गएपछि मजदुरले दुखेसो पोखिहाले, 'यसले गर्दा तीन दिनदेखि कामै गर्न पाएका छैनौँ ।'
देशको यो परिस्थितिले मजदुरहरुको पनि दिमाग खलबलिएको छ। कर्फ्यु र निषेधाज्ञाले उनीहरु काम गर्न नपाएको गुनासो गर्छन्, 'दशैंको मुखमै देशमा यस्तो भयो। अलिकति दशैं खर्च होला कि भनेर सोचेका थियौँ। कामै गर्न पाइएको छैन।'
उनीहरुले यो भवन विस्तारको काम थालेको तीन महिना भयो। अनि काम ठप्प भएको तीन दिन । भन्छन्, 'मालिकले काम नगर्न भन्छ । गोली चल्न सक्छ भन्छ।'
तीन जनामा एक जना एयरपोर्टतिर बस्छन्। नजिकै भए पनि अहिले उनलाई हिड्न मिल्दैन, अत्यावश्यक बाहेक । 'तर मैले खाना खान जान लागेको भनेर आएँ यहाँ। बल्ल दियो ' अर्का एक मजदुर भन्छन् ।
उनीहरुको काम निश्चित हुँदैन। जहाँ पनि जानुपर्छ। यस्तै भै’राख्यो भने दशैंमा खर्च जुट्ने सम्भावना नै छैन ।
तीन जनामध्ये दुई जना ४० कटिसकेका छन् । उमेरको कुरा गर्दा एउटा गीत याद आयो, ‘‘चालिस कटे’सी रमाउँला।’ सोधिहालेँ, 'रमाउने बेला त आयो होला नि अब ?' जवाफमा एक जनाले मार्मिक कुरा बोले, 'अब रमाउने होइन, रुने बेला चाहिँ आयो ' अघिदेखि मौन बसेका थिए उनी, यो प्रश्नले बल्ल उनको बोली फुट्यो । उनको एक वाक्यमै त्यहाँ मौनता छायो । आफैँले थपे, 'हामीलाई त के भो र ! देश पो स्तब्ध बन्यो। सबै सम्पत्ति सखाप भो ।'
ति मध्येका एक जेनजी पनि सुरुको दिन आन्दोलनमा गएका थिए । उनलाई लागेछ, 'एक दिन काम नगर्दा केहि हुँदैन । मेरो पुस्ताले गरेको आन्दोलनमा म पनि जानुपर्छ । ' तर उनलाई यो आन्दोलन यत्रो परिवर्तनकारी होला भन्ने लागेको थिएन । उनलाई मात्र होइन, कसैलाई लागेको थिएन । 'अनावश्यक गोली चलाएर यस्तो भएको हो', उनी थप्छन्,'तर नेताहरु तह लाउने काम मात्र भए पनि हुन्थ्यो। यहाँ त परिवर्तन संगै विध्वंस पनि मच्चियो ।'
दोस्रो दिन कोही कहिँ गएनन्। तर पनि माहोल हेर्दा उनीहरुलाई डर लागिरह्यो, 'अब के होला ?' एक जना सुनाउँछन्, ' नेपालमा भए पनि इजरायलमा छु जस्तो लाग्याथ्यो । '
उनीहरुलाई अब प्रधानमन्त्री को होला भन्ने चासो छ । उनीहरुलाई अब जनताले चाहेकै मान्छे प्रधानमन्त्री हुनुपर्छ जस्तो लाग्छ। 'युवा नै भएको राम्रो। बालेन, हर्क र कुलमान मध्ये जो आउँदा पनि हुन्छ', एक जेनजी भन्छन्।
उनीहरुलाई आफ्नो कामको भन्दा बढी चिन्ता देशका नागरिक र भविष्यको थियो । उनीहरुको चिन्ता झल्कने उदासिन अनुहारले एउटै भाव दिइरहेको थियो, 'नेपाली हामी रहौँला कहाँ नेपालै नरहे ।'


