काठमाडौं । प्रत्येक कपासलाई जन्तरको धागोमा राखेर फिट्दै काममा व्यस्त छन् । पुरानो डस्नालाई नयाँ बनाउन त्यसको कपास फिट्ने, धुलो झार्ने र सफा गरेपछि फेरि नयाँ कपडामा राखेर नयाँ स्वरुप दिने कामको जिम्मा पाएका छन् मोहम्मद जुवेदले । कमलपोखरीस्थित खुला ठाउँमा पाल ओछ्याएर काम गरिरहेका मोहम्मदको उमेर ५५ वर्ष भयो ।
मुसलमान समुदायका मोहम्मदले पढेका छैनन् । उनी सानो हुँदा, उनका बा आमा भारतमा खेती किसानी गर्दथे । 'मैले पढेको छैन तर बच्चाहरुलाई पढाए । सानैदेखि खेतीपाती गर्नुपर्ने । पैसाको अभाव । बा आमा पनि खेतीमै काम गर्ने । अहिले जस्तो रोजगारी पनि थिएन । त्यही कारण मैले पढ्ने वातावरण मिलेन', यति भन्दा उनको अनुहारको हाँसो एक्कासी हराउँछ, 'त्यो बेला नाजुक अवस्था थियो । खान लगाउनै मुश्किल ।'
एकछिन बोली बन्द हुन्छ, अनि फेरि आफ्ना कथा सुनाउँदै भन्छन्, 'मैले पनि खेती किसानी नै गरेँ सुरुमा । तर पैसाले नपुगेपछि दार्जिलिङ हुँदै नेपाललाई गन्तव्य बनाएँ ।' उनलाई लाग्छ, 'दार्जिलिङ भन्दा नेपाल मौसम अनुकुल छ ।' नेपालमा आइसकेपछि काठमाडौं नै उनको कार्यस्थल बन्यो । उनले सुरुमै डस्ना र सिरक बनाउने काममा हात हाले । 'यही काम गर्न थालेको भने ३५ वर्ष नाघिसक्यो ।' मोहम्मद भन्छन्, '२० वर्षको हुँदा भारतबाट नेपाल आएर काठमाडौंमा काम गर्न थालेँ ।' विशेषगरी सिरक डस्नाको काम उनले जिम्मा लिन्छन् । कमलपोखरीमै रहेको कपडा पसलमा काम गर्छन् उनी ।
डस्ना बनाउँदा प्रति डस्ना उनी ७ देखि ८ सय सम्म ज्याला लिन्छन् । किनभने जन्तर प्रयोग गरेर कपास फिट्ने, पिट्ने काम निकै समय खाने काम हुन् । त्यसमा मेहेनत पनि बढी लाग्छ । अनि एउटा डस्ना बनाउन कम्तीमा डेढ घण्टा देखि बढीमा २ घण्टा समय लाग्छ ।
कमलपोखरी स्थित कपडा पसलमा आएका ग्राहकको डस्ना बनाउन यहाँ खुला स्थानमा उनी आज आएका छन् । घाम लागेको बेला मात्रै हुने उनीहरुको यो कामकै कारण घाम खप्ने शक्ति उनले संचय गरिसकेका छन् । हुन त नेपालको तापक्रमभन्दा कैयौं गुणा गर्मी हुने भारतीय भूमिमा बसेका उनलाई यो गर्मी, कामको बाधक कहिल्यै बनेन ।
'धुलोको काम गर्दा गर्दै ज्वरो आउँछ र पनि काम गर्नुपर्छ । एउटा टालो बानेर काम गर्ने हो । अरु सुरक्षा कवच त केही पनि हुन्न । काम नै धुलोको छ', उनी भन्छन् । उनी काम यसरी गर्छन् कि हज गर्ने, ध्यान गर्ने समय निकाल्न पनि मुश्किल पर्छ । रोजा बस्दा पनि काम गर्ने बाध्यता छ । थुक निल्न नहुने रोजा समयमा गर्मीका बेला काम गर्नुपर्दाको गाह्रो अवस्था उनले शब्दमा भन्न सकेनन् । हरेक शुक्रबारका दिन प्रार्थना गर्न समेत उनी घण्टाघर, हतारमा जान्छन् अनि फर्किन पनि उत्तिकै आतुर हुन्छन् ।
उनको परिवारको कुरा गर्ने हो भने उनका तीन भाइ छोरा र दुई जना छोरी छन् । छोराहरुले कमाइरहेका छन् । कान्छो छोराको बाहेक सबैको विहेवारी भइसक्यो । सबैभन्दा बढी एक जना छोराले स्नातकसम्म पढेका छन् । उनी पनि कपडा पसलमै बस्छन् । अलि अलि पैसा कमाउँछन् ।
छोराहरु पनि कमाउने भइसके त । सुखै होला नी भन्ने प्रश्नमा उनको गम्भीर उत्तर आउँछ, 'बढीमा १० हजार कमाईले हामी बा आमालाई कसरी सुख दिन्छन् र ? हाम्रो पेशाको पनि मौसम हुन्छ । अब सिरक डस्ना बनाउने मौसम सुरु हुनै लाग्यो । अफसिजनमा त झन आम्दानी नै घट्छ ।' यही काम गरेर सबै खर्चबाहेक १० देखि १२ हजार उनको पैसा महिनामा जोगिन्छ । 'यसबाट एक तले घर बनाएँ । मेरो सम्पत्ति भनेकै त्यही हो ।' यही काम गरेर घर जोडेकोमा कत्तिको खुसी हुनुहुन्छ भन्ने प्रश्नमा उनी सुनाउँछन्, 'घर बनाउँदा भारतीय रुपैयाँ सात लाख जति लाग्यो । सरकारबाट एक लाख पाएँ, घर बनाउने अनुदान । म ६ महिनादेखि १ वर्षमा घर जान्छु । बेला बेलामा पैसा पठाउँछु । ३ देखि ५ हजारसम्म पैसा घरमा पठाउँछु । खुसी नै छु ।'
सुरु सुरुमा काठमाडौं आउँदा उनको हात कहिल्यै खाली हुन्नथ्यो, 'पहिला पहिला धेरै काम हुन्थ्यो । महिनामा ३५ देखि ४० हजारसम्म आम्दानी थियो तर अहिले घट्यो । चाइनिज सामान जस्तै फाइबर सिरकहरु आएपछि आम्दानी २५ हजारमा खुम्चियो ।' उनी गम्भीर हुँदै भन्छन् 'अहिले त बनाउने खुला ठाउँ पनि छैन । घरहरु बढे । आम्दानी घट्यो । हात मुख जोड्ने यही एउटा सिप छ, यही पनि घट्दै जाने हो भने हाम्रो त आम्दानीको स्रोत नै बन्द हुन्छ ।'


