काठमाडौं । २०४४ सालमा काभ्रे जिल्ला चौरी देउराली गा.पा. वडा नं. ९ गोठपानीबाट काठमाडौं आएकी कान्छीमाया तमाङ अहिले ६५ बर्ष पुगिन । उनी ३७ बर्ष अगाडी जेठो छोरा, श्रीमानसहित काठमाडौं आएकी थिईन । उनी काठमाडौं आएदेखि नै अरुको घरमा सरसफाइको काम गर्दै आएकी छिन् ।
उनी भन्छिन् 'म काठमाडौं आएदेखि हजारौं ओटा घरमा काम गरेँ होला अहिलेसम्म । घरको काम देखि ज्यामीको काम, अपार्टमेन्टको काम, पार्टी प्यालेसको काम, सुत्केरीलाई तेल लगाउने काम देखि विभिन्न किसिमका काम गरेँ तर उपलब्धी भने केही भएन । मैले जे जति कमाए सबै कमाउदै खादैं सकिदै गयो ।'
अरुको घरमा काम गर्दा, घर मालिकले मानिसलाई भन्दा कामलाई माया गरेको अनुभव उनी गर्छिन्, 'मान्छेको माया भन्दा सबैलाई काम नै प्यारो हुदो रहेछ । उनी थप्छिन्, 'काठमाडौं आउंदा मेरो जेठो छोरा मात्र जन्मेको थियो । अनि कान्छो छोरा त यहीँ आएपछि जन्मियो । धेरै बर्ष बसेको यो काठमाडौं विभिन्न हिसाबले फरक पाउँछिन् कान्छीमाया ।
उनी आउँदा यो काठमाडौं निकै खुला थियो । पहिलाको समयमा अहिलेजति सवारी साधनहरु थिएनन्, बाटोघाटो र घरहरु नै कम थिए । लामो समयसम्म काम गर्न बसेकी कान्छीमायालाई यहाँको कामले केही जोहो गर्न नसक्दाको चिन्ता छ, 'काठमाडौं आएपनि केही भएन घरहरु जोड्न सकिएन् । अहिले सम्म घरकै काम निरन्तर रुपमा गर्दैछु ।'
कुरो ४४ सालतिरको हो । उनको काठमाडौं आएपछि पहिलोचोटी घरको काम गर्दाको तलब मात्रै ४५ रुपैयाँ थियो । त्यही पैसाको राशन किन्दा महिनाभर खान पुग्थ्यो । 'अब अहिले २० हजार पैसा महिना भरीको खर्च धान्नै अपुग हुन्छ ।' कान्छीमायालाई अहिलेको महंगो समय देखेर दिक्क लाग्छ । किनभने मजदुरी नगरी उनको घरको चुल्हो बल्दैन । जसरी महंगीले आकाश छोयो, त्यसैगरी पैसा पनि सस्तो भएको उनी ठान्छिन् । कान्छीमायालाई राम्रो स्मरण छ, उनले आफ्नै विहे पनि मात्रै १७ रुपैयाँको सारी र ५ रुपैयाँको चोलोमा गरिन् । उनी भन्छिन्, 'त्यो बेलाको दशैंमा बनाएको सुकुटीले मंसिरसम्म खान पुग्थ्यो । अहिले त धेरै महगी बढेको छ । अहिलेका मानिसले त घिउ पनि किनेरै खान पर्छ । हाम्रो समयमा हामी जति घिउ खान्थ्यौं अहिलेका मान्छेले त्यति त पानी पनि खाँदैनन् होला ।'
सुका माना घिउ पाउने समयको स्मरण गर्दा रमाएकी कान्छीमायालाई आफूले पढ्न नपाएकोमा भने ठुलो गुनासो छ, 'त्यति बेला विद्यालयहरु त थिए तर हामीले पढ्न पाएनौं । हाम्रो पालामा छोरीहरु पढाउने चलन थिएन ।' उनी आफू सुत्केरी हुँदाको समयबारे हामीलाई सुनाउँछिन्, 'हामीले सुत्केरी हुदाँ पनि बच्चाको सालनाल आफैं काट्थ्यौं । हामीलाई कसैले स्याहार्नु पर्दैनथ्यो । सुत्केरी वेला बच्चा एक्लै पाउने मै हो । सुत्केरी भएको बेला पनि हामीले कहिले तेल समेत लाएनौं । अहिलेका मानिसले दुःख छ भन्न सुहाउँदैन् ।'
राजधानीको नक्सालमा बस्दै आएको कान्छीमायाको परिवारमा ६ सदस्य छन् । छोराछोरीहरु उनलाई अर्काको घरमा काम गरेको देख्न चाहँदैनन् । तर पनि कान्छीमाया भने, छोराछोरीको कमाइमा भन्दा आफ्नो पाखुरा चलेसम्म जुनसुकै काम भएपनि गर्न चाहन्छिन् । 'काम नगरी बस्न सकिन्न, त्यसैले अहिले सम्म निरन्तर काम गर्दैछु । अलि अलि आफुलाई खर्च हुन्छ भनेर हो ।'


