काठमाडौं । हामी कहाँ पूजा, भोजहरु र समूहमा खाना खानु पर्दा समेत पातको थाल र कचौराको प्रयोग अहिलेसम्म हुने गरेको छ । धेरै पहिले देखि चलिआएको यो परम्परा र चलन जोगाउनका लागि थुप्रै महिला लागिपरेका छन् । त्यसमध्येकी एक हुन्, गोरखा घर भई हाल काठमाडौंको सानो गौचरण बस्ने विष्णु माया अधिकारी । नेपालीहरुले पूजा तथा अन्य पवित्र कार्यमा पातका दुना टपरी प्रयोग गर्ने भएकैले विष्णुमायालाई भ्याइनभ्याइ छ ।
विष्णुमायाले सोह्र श्राद्धको पहिलो दिनका लागि मात्रै ७० हजार जनाको श्राद्धको कामको जिम्मा लिन्छिन् अनि त्यसैअनुसार सबै जनालाई सालको पातको दुना, टपरी बुन्ने काम भाग लगाउँछिन् । उनले आफू एक्लैले नभ्याउने भएका कारण अन्य महिला दिदीबहिनीलाई समेत कामको अवसर दिएकी छिन् । उनीसंगको साझेदारीमा काम गर्नेको संख्या अहिले १० हजार पुगिसकेको छ । कम्पनी नै दर्ता गरेर दुना टपरी बनाउन थालेको विष्णुको कथा रोचक मात्रै छैन्, यो कथा भित्र दुःख अनि संघर्ष लुकेको छ ।
...
विष्णु बालखै थिइन्, उनको विवाह गोरखाका केटोसंग भयो । केटो पुलिसमा जागिरे थिए । सासु ससुरा पनि निकै माया गर्ने खालकै थिए । तर पुलिसको पोस्टिङका कारण उनी पनि काठमाडौं आइन् श्रीमानसंग । घरमा सासु ससुरासंग समय बिताउन नपाएको गुनासो अझै विष्णुमायासंग छ, 'बिहे लगत्तै घरमा धेरै बसिन । वस्तु भाउ हेर्न पाए राम्रो जस्तो लाग्थ्यो । श्रीमानको पुलिसमा जागिर । काठमाडौं आएपछि तीन बच्चा भए । सानी छोरी ३ महिनामै मेरो श्रीमानसंग छोडपत्र भयो सहमतिमै । घरको पनि अंश दिन्छु, तलब दिन्छु भने तर मैले लिइन ।'
यसो भनिरहँदा उनको आँखा ओभानो हुने कुरै थिएन् । तर मनको पिडा लुकाएरै भएपनि उनले आफ्नो त्यसपछिको कथा सविस्तार लगाइन्, 'सुरुका दिनमा मैले थापाथलीमा भिएस निकेतनमा छोरालाई पढाएँ, त्यही काम पनि गरेँ । तर सानी ६ महिनाकी छोरीलाई घरमा छोडेर म काममा जान्थेँ । कामकै बिचबिचमा म सानी छोरीलाई हेर्न आउँथे । आफ्नो संघर्ष कसले देख्नु । छिमेकीले मेरो कुरा मात्रै काट्थे । मेरो आचरणकै बारेमा प्रश्न गर्थे । छिमेकीले बोर्डिङमा छोरा पढाउन सक्नेले खराब काम गरेरै पढाए होलान् भन्ने सम्म भने । छिमेकी दिदीबहिनीबाटै यत्तिधेरै कुरा काट्दा पनि उनी विचलित भइनन् । कसै कसैले त यत्रो दुःख किन गरेकी समेत भने उनलाई । तर उनले छोराछोरी श्रीमानको जिम्मा लगाउन सकिनन् अनि दुःख र संघर्ष गरेरै उनीहरुलाई हुर्काइन् ।
...
श्रीमानसंगको छोडपत्रपछि उनको वास्तविक संघर्ष सुरु भयो । कुरा ४० साल तिरको हो । स्कुलमा काम गर्दै थिइन् तर उनलाई खर्चले भ्याएको थिएन । उनी भन्छिन्, 'पहिला पश्मिनाको धागो काटेँ । ऊन पनि काट्थे । तर दुई वटै काम बन्द भयो । एक दिनको कुरा हो । मैले पैसा छैन भनेर दिनभर कातेको एक हजार बत्ती मैले असनमा बेचेँ । त्यतिबेला मैले पाँच रुपैयाँ कमाए । म असनबाट हिँड्दै आएँ, भान्साका लागि चाहिने नुन, तेल, मसला, चामल किनेर ल्याएँ । मैले अर्काको घरमा भाँडा माझे, लुगा धोएँ । पछिपछि हुँदै गएपनि मैले पातमा हात लगाएँ । त्यसपछि सालको पातको दुनाटपरीको काम थाले । त्यसपछि मैले पछाडि फर्किएर हेर्नु परेन् ।'
त्यत्तिबेला मात्रै १५ वर्षकी थिइन् विष्णुमाया । उनी भन्छिन्, '३० वर्ष सम्म खाना खाइन, भगवानलाई चढाएको वा भोग लगाएको प्रसाद खाएँ । दुःख त्यहाँसम्म थियो । छोरीको कुरा काट्ने छोरी नै हुन्छन् । बत्ती, धुप बाँट्ने काम गर्दागर्दै पात गाँसियो । यसै काम गर्दै गरेँ । बाहिर गएर काम गर्ने वातावरण थिएन । केटीलाई बाहिर काम गर्न पाउन्नथ्यो । यसै गरिकन यो स्थानमा बसेँ ।' अहिले उनलाई धेरै सुख छ । तर उनले दुःखका कुरा भुलेकी छैनन् ।
सालको पातको दुना टपरीको पेशामा उनले आफ्नो जीवनकालको अधिक समय विताइन् । त्यसको आम्दानीले एक छोरी र छोरालाई जापान पठाइन् । विवाह गराइन्, घर खर्च पनि धानिन् । कान्छि छोरीको जिम्मेवारी पनि पूरा गरिन् । 'मैले सबैलाई यो काम सिकाएँ । मैले सिकाएको घरहरु मात्रै १० हजार होला । म संग दुना टपरीको अर्डर धेरैको आउँछ, त्यसैले काम पनि बाँडेरै गर्छु । यसैबाट मैले उद्यम मात्रै गरिन अरुलाई पनि काम दिएँ ।'
उनलाई यो काम कहिल्यै नहराओस जस्तो लाग्छ । यद्यपि धेरै संघर्ष गरेकाले विष्णुमायालाई अब यी काममा नअल्झिन छोराछोरीहरु बारम्बार आग्रह गर्छन् भने कुनै बेला त शर्त पनि राख्छन् । 'उनीहरु हामीलाई रोज्ने कि काम रोज्ने भनेर शर्त पनि राख्छन् । अनि म भन्छु, म काम रोज्छु । मैले गर्दा कत्ति जनाले काम पाए ।यसमा खुसी छु । म यही कामको लागि भनेर सानो गौचरणदेखि बसुन्धारास्थित बनाउने ठाउँसम्म हिँडेर आउँछु ।' यति भन्दा गर्वले उनको अनुहारमा ज्योति बल्छ ।
'यो पेशा यस्तो फष्टायो कि जति मान्छे राखेपनि पात गाँसेर टपरी बनाएरै नपुग्ने भयो । विदेश जानुभन्दा यो काम निको लाग्छ मलाई । मैले सबैबाट अर्डर लिएर अरुलाई काम दिन पाउँदा धेरै खुसी लाग्छ ।' खुसीको कुरा गर्दा गर्दै उनी आम महिलालाई यस्तो सुझाव दिन्छिन्, 'श्रीमानले कुट्यो भनेर सहेर नबस्नु, बरु आत्मनिर्भर भएर सम्मानका साथ बस्नु । बरु विहे नै नगर्नु तर राम्रो मान्छे छानेर विहे गर्नु ।'


