काठमाडौं : हरियो रंगको श्रृंगार अर्थात श्रावण महिना । हरियो, चुरा, पोते, मेहन्दी, लुगा अनि कपालमा लगाउने धागो पनि हरियै । भगवान शिवप्रति आस्था राख्ने महिलाले यो महिनाभर आफ्नो श्रृंगारलाई हरियो रंगमा ढाल्दछन् । हरियै चुरा पोते अनि धागोका लागि श्रृंगार सामान बिक्रि गर्ने पसलमा महिलाको चहलपहल बढ्दो छ । यसैबिच काठमाडौंको नक्सालस्थित पुरानो रैथाने चुरा, पोते अनि धागो पसलमा पनि महिलाहरुको घुइँचो बढ्दो छ ।
यो हो काठमाडौंमा निकै प्रख्यात पूरानो शबाब चुरा पोते पसल । यो पसल सञ्चालनको ५० वर्ष पुगिसक्यो । यो पसलमा नक्साल १ बस्ने ५० बर्षीया सुभाना बानु बस्छिन् । पूरानो शबाब चुरा पसलको अर्को शाखा पनि छ भाटभटेनी चोकमा । अर्को शाखामा उनकै छोरा बस्छन् । त्यो पसल सुभानाले आफनो छोरा १० वर्ष हुँदा खोलेकी थिइन् । छोराले पनि सुभाना दम्पतीलाई व्यापारमा सघाएका छन् ।
राजधानीको न्यूरोडमा बुबाले खोलेको पसल नै नक्सालमा सरेको हो । सानो लगानीमा सानो घरमा पसल खोलेको सम्झना उनलाई छ, 'बुबाले आफ्ना पालादेखि चुरा बेच्ने र विभिन्न डिजाइनका पोतेहरु उन्ने कान गर्दथे ।' ५० वर्ष अगाडि खुलेको चुरा पोते पसल सुभानाको काँधमा आएकै ३० वर्ष नाघ्यो ।
पदम कन्या क्यापसबाट बाणिज्य संकायमा स्नातक उत्तीर्ण सुभानाको सपना भनेको सानैदेखि व्यापार गर्ने थियो । आँखै अगाडि आमा पोते उन्ने र बुबा चुराका चाङ, चुराका माला मिलाउने काममा व्यस्त देख्थिन् । सानैबेला उनले माला उन्न धेरै उत्सुकता देखाइन् पनि । पोतेका स-साना प्वालमा धागो छिराउन सुरुमा धेरै गाह्रो भयो । तर विस्तारै आमाबाट सिप सिकिन्, अनि अहिलेसम्म पोतेलाई धागोमा उन्न उनलाई कत्ति पनि समय नलाग्ने सुनाउँछिन् उनी ।
उमेर बढ्दै थियो । पढाइसंगैं काम गर्ने बाध्यता पनि थियो । अनि २० वर्षकै हुँदादेखि नया काम र सिपमा हात हाल्नु भन्दा आफनै पुख्र्यौली पेशालाई अंगाल्ने विचार गरिन्, 'पुख्र्यौली पेशालाई निरन्तरता दिंदा नै आफुलाई फाईदा हुन्छ भन्ने लाग्यो ।'
उनको पसलको इतिहास जति पुरानो छ, लगानी पनि आकाश जमिन फरक छ । सानो लगानीबाट आएको उनको दुई पसलभित्र ५ करोड हाराहारीका सामान छन् ।लगानी करोडको भएजस्तै ग्राहक पनि करोडकै छन् । उनको ग्राहकहरु देश र विदेशमा पनि छन् । उनलाई गर्व लाग्छ, 'यो पेशाबाट धेरै पैसा नकमाए पनि नाम चांही कमाएँ ।'
व्यापारमा चुनौती भएपनि सुभाना एकदमै सन्तुष्ट छिन्, 'यो हाम्रो पुख्यौली पेशा हो । सानै देखि हेर्दाहेर्दै र गर्दागर्दै पनि छोडन सकिएन ।' यो पेशामा जोडिएका उनका छोरा र छोरी तेश्रो पुस्ता हुन् । उनी सुनाउँछिन्, 'विदेशिने तरखरमा रहेका छोराले समेत अन्तिममा अर्काको देश जानु र दुःख पाउनु भन्दा पुख्र्यौली पेशालाई अगाडि लाने विचार गरे, अनि विदेश जाने योजना स्थगन गरे ।'
उनका दुई पसलमा पांच जना कामदारहरु छन् । प्रत्येकले मासिक १५ हजार तलब बुझ्छन् । त्यसबाहेक पोते बनाउने ५० जना दिदीहरु छन्, पोतेको सबै सामान दिएर एउटा पोतेको माला बराबर उनले ३५ देखि ५० रुपैयासम्म तिर्दैआएकी छिन् । आफ्नो व्यवसायका लागि आवश्यक सिपयुक्त कामदार उत्पादन होस् भनेर तीन हजार भन्दा बढीलाई उनले यसबारे तालिम दिइसकिन् । अनि इच्छ्याएको व्यक्तिलाई तालिमपछि उद्यम गर्ने योजना पनि उनैले सिकाउँछिन् ।
उनले व्यापार गरेर आफुले धेरै आय आर्जन गरे पनि मिटर ब्याजमा फसेर, कमाएको पैसा सबै डुबेको अनुभवन सुनाइन् । उनले जे जस्तो भएपनि अब मिटर ब्याजमा ऋण नलिने निधो गरिसकिन् । मिटर ब्याजीको ऋण लिदां धेरै घाटा लागेपछि उनले भनिन्, 'मिटर ब्याजमा ऋण लिएर मेरा सात पुस्ता सचेत भइसके ।'
चुनौती व्यवसायका लागि ऋण लिने मात्रै होइन, सामान आयातमा पनि छ । कहिले बाहिरबाट सामान ल्याउँदा टुट्ने फु्टने र झन भन्सारमा सामान थन्कियो भने आधा भन्दा बढी सामानको गुणस्तर नष्ट हुने गुनासा सुभाना गर्छिन् । त्यसका लागि भन्सारमा सामान ल्याउन सहज गर्नुपर्ने माग पनि सुभानाको छ ।


