Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

'राजाको वंशनाश हुँदा किरिया बसेँ'

'राजाको वंशनाश हुँदा किरिया बसेँ'

बिहीबार , साउन १ २०८२
बिहीबार , साउन १ २०८२
  • काठमाडौं । अधबैंसे उमेरकी मिना खड्का । कपाल छोटा, गोरो वर्ण संगसंगैं स्पष्ट वक्ता । आफ्ना बारेमा फररर सबै कुरा भन्न सक्ने तर अरुसंग उनका बारेमा बुझ्दा, सामान्य मनोरोगका कारण थोरै मानसिक सन्तुलन गुमाएकी मिनासंग जीवनको उतारचढावबारे कुराकानी गर्न खोज्यौं ।

    images

    मिनाको जन्म प्रसुतीगृहमा ५० वर्ष अगाडि भएको थियो । थापाथली जन्मिएकी उनी त्रिपुरेश्वर बस्थिन् । तीन दिदीबहिनी र दुई भाईकी जेठी दिदी हुन् उनी । यतिधेरै सन्तानमध्ये ठुलो भाइको निधन भइसकेको कुरा मिना आफैले सुनाइन् । उनको अन्य दिदी बहिनी र भाइसंग पनि राम्रो सम्बन्ध छ ।

    मिना, आफ्नो बुबाको पहिलो र प्यारी छोरी थिइन्, 'मेरो बुबा दक्षिणकाली जानुहुन्थ्यो । आउँदा हामीलाई प्रसाद ल्याउनुहुन्थ्यो । खुसी लाग्थ्यो । बोका काट्नुहुन्थ्यो, आफु नखाने भए पनि सबैलाई सिढीमा राखेर खुवाउहुन्थ्यो । मलाई धेरै माया गर्नुहुन्थ्यो । तर भगवानलाई यस्तै प्यारो मान्छे मनपर्ने रहेछ । लागूऔषध खाने नराम्रो बानीले गर्दा बुबा वीर अस्पतालमा बित्नुभो । जनै पूर्णिमाको भोलिपल्ट । त्यो वीर अस्पताल जाँदा त म बेहोस् नै भएँ ।'

    सानो उमेरमा उनलाई पढ्न भनेपछि कत्ति पनि मन नलाग्ने । त्रिपुरेश्वरबाट भागेर उनी थापाथलीतिरै जान्थिन्, अनि दिन बिताएर घर फर्किने उनको समय तालिका बनेको थियो । पुराना कुरा सम्झिँदा उनको अनुहार एक्कासी उज्यालो हुन्छ । 'बाल्यकालमा वनभोज खाएको र साथीहरुसंग फटाई काम गरेको याद छ उनलाई, 'साथीहरूसँग खेलेको सम्झना छ ।  साथीहरूसँग मिलेर धेरै फटाई पनि गरियो । धेरै बस चढिन्थ्यो ।चढेर पैसै नतिरी भाग्ने खालका काम गरिन्थ्यो । साथीहरूसँग रमाइलो गरेको सम्झना आउँछ ।'

    आफ्ना बाल्यकालका कुरा गर्दा भन्छिन्, 'मैले १ कक्षा मात्र पढेँ, क ख चिन्छु । तर नाम लेख्न आउँदैन । मेरा सबै साथीहरूले पढेलेखेका छन् । तर मैले नपढेकोले नराम्रो लाग्छ । साथीहरूसँग कुरा गर्न पनि अफ्ठेरो लाग्छ ।' पढ्ने रुचि नभएपछि उनलाई बुबाको सहमतिबेगर नपढेकैले आमा र हजुरआमाले विवाह गराइदिइन् ।

    मानवसेवा आश्रममा बसिरहेकी मिना भन्छिन्, 'त्यसबेला नौ, दश वर्षकी थिएँ । बुबाले मान्नुभएको थिएन सानैमा विहे गर्न । तर जबर्जस्ती बिहे भयो । श्रीमान हुनुहुन्छ । नाती नातिना पनि छन् ।'

    जर्बजस्तीको विवाह उनले निभाउनै पर्ने बाध्यता थियो । घर र भान्साको सबै काम उनले हेर्थिन् । मिनाले घरका कामबारे सबिस्तार लाउँछिन्, 'सानोमा भाँडा माझ्ने, कुचो लाउने, खाना पकाउने आदि काम गरेँ । बाहिरको काममा जादैनथ्यौँ । टुँडिखेलमा अरूका गाई चराउन जान्थ्यौँ । पहिले गाई गोरू चर्ने वन टुँडिखेल थियो तर अहिले सबै परिवर्तन भयो । बोराका बोरा गुँइठा खोज्नुपर्थ्यो । पहिले काठमान्डौँमा दाउरा, गुइँठामा खाना पकाउने काम गर्थ्यौँ । ग्याँसको चलन त भर्खरै आएको हो ।' 

    आफ्नो जीवनको अविष्मरणीय कुरा सम्झाउँदा, उनले राजा विरेन्द्रको वंशनाश भएको दिन सम्झन्छिन्, 'मलाई हाम्रा राजाप्रति श्रद्धा छ । राजाको वंशनाश हुँदा हामी सबैले कपाल खौरेका थियौँ । हामी भाडा नतिर्नेगरी सरकारी भवनमा बसेका थियौँ । राजा बित्दा त सबै खाली गर्नुपर्‍यो ।  हाम्रो पनि बिजोक भएको थियो ।' उनलाई आश्रय दिने राजा विरेन्द्र सबै नेपालीका प्यारा अभिभावक थिए । प्यारो भएकैले मिनाले राजा बित्दा किरिया समेत बसेको सुनाउँछिन् ।

    मिनाको सम्झनामा बाल्यकालका अधिकांश क्षण अटाएका रहेछन् । यसबाट बुझ्न सकिन्छ कि, उनलाई आफ्नो बाल्यकाल सुनौलो लाग्थ्यो । सुनौलो बाल्यकालका सम्झनालाई अहिलेका पिडाले झन् सम्झनयोग्य बनाएको हुनसक्छ । अनि सुनौलो स्मृति, उनलाई सम्हाल्ने पिलरका रुपमा खडा भएको हुनसक्छ ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij