कठमाडौं । दोश्रो जनआन्दोलन अगाडिसम्म सबैका मनमनमा बस्थे, अहिलेका कांग्रेस अनि एमाले पार्टी प्रमुखहरु । बाआमाले रुचाएका नेताका, भाषण सुन्नकै लागि पर्खिबस्ने समयकाल थियो त्यत्तिबेला ।
तर जब व्यवस्था परिवर्तन भयो, राजतन्त्र फालिँदा जति हाम्रा पुर्खा खुसी थिए, अहिले त्यसको उल्टो हुन थालेको छ । व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन नहुँदा, उहिल्यै मनमनमा बस्ने पार्टी प्रमुखहरुकै कार्यशैलीप्रति आलोचना बढ्दो छ । त्यसैमध्येका एक आलोचक हुन्, कृष्ण लामा ।
उनी आफूलाई कट्टर राष्ट्रवादीका रुपमा चिनाउँछन् । सरकारी सेवानिवृत्त कृष्ण भन्छन्, 'आजभोलि देशको सार्वभौमसत्ता, अखण्डता, स्वाभिमान तथा राष्ट्रियता संकटमा छ । । विस्तारै अखण्डता र स्वाभिमान गुम्दैछ, सङ्कुचित हुँदैछ । हाम्रो पहिचान गुम्दो छ । त्यति विशाल देश सानो भएको छ ।'
३९ वर्ष सुरक्षा क्षेत्र अर्थात सेनामा काम गरेका बुबाबाट उनले राष्ट्र प्रेम सिके । राजधानीमा जन्मिएर तेह्र वर्ष सरकारी सेवामा काम गरे । त्यत्तिबेला देश दौडाहमा लाग्दा उनले यहाँको भाषा, कला, संस्कृति, वातावरण बुझ्ने मौका पाएको बताउँछन् । जति देश घुमे त्यतिनै यहाँको माया बढ्ने अनुभव गर्थे कृष्ण । उनी देशको सार्वभौमसत्ता, अखण्डता र स्वाभिमान जोगाउने चुनौती आफ्नै छिमेकी मुलुकबाट बढी पाउँछन् । उनी ठुला मुलुक उपनिवेशवादी भएको र साना मुलुकलाई कुल्चिएर हिड्ने प्रवृत्ति अंगालेकोमा चित्त दुख्ने बताउँछन् ।
तर यस्तो हुँदाहुँदै पनि नेपाललाई देशको अस्तित्व जोगाउन सक्नुमा हाम्रा पुर्खाले ठुलो योगदान दिएको स्मरण गर्छन् उनी । पुर्खाले जोगाएको देश र राष्ट्रियताप्रति पहिलेजस्तो सौहार्दता नभएको उनी पाउँछन्, 'जनताको सहिष्णुता कम भएको छ । नहुन पनि कसरी अहिलेका राजनेताले आफ्ना ओहोदा बिर्सिसके । यिनीहरू स्वार्थी छन्, जनतालाई गन्दैनन् । त्यसैले यिनीहरुप्रति जनताको पनि विश्वास छैन ।' उनको विचारमा नेता भनेका त्यागी हुन् । एक रुपैयाँ नखाइ देश विकासमा समर्पित हुन सक्ने नेता मात्र असली नेता हो । नेता भनेको जनमुखी हुनुपर्छ ।'
यद्यपि यसो भन्नुमा उनले सबै दोष नेताकै काँधमा नथोपरेको बताए । उनलाई लाग्छ, 'हामी पनि जवाफदेही हुनुपर्छ । आफ्नो संस्कार, संस्कृति, इतिहास र धरातल हामीले बिर्सनु हुँदैन । राष्ट्रियता र स्वाभिमान भुल्नु हुन्न । त्यसो हुन सके मात्रै देश बन्छ ।'


