Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

पूजाको सामानसंग जीवन साट्दै  रामप्रसाद

पूजाको सामानसंग जीवन साट्दै  रामप्रसाद

बुधबार, वैशाख १७ २०८२
बुधबार, वैशाख १७ २०८२
  • काठमाडौं : ऐतिहासिक तथा धार्मिक स्थल पशुपति परिसरको गल्लीमा, पूजा सामग्री बेच्ने सानो पसलमा बसेका हुन्छन् ६३ वर्षीय रामप्रसाद महरठ्ठा ।

    images

    उनी मुस्कानसहित ग्राहकको सेवा गर्छन् । गोरखा जिल्लाको भीमसेन गाउँपालिका–४ बाट एक दशक अगाडि उनी राजधानी पसेका थिए । उनी अहिले परिवारसहित पशुपति क्षेत्रमा व्यापार व्यवसाय गर्न रमाएका देखिन्छन् । 

    काठमाडौं शहर, सपना पूरा गर्ने शहरका रुपमा लिनेमध्ये एक रामप्रसाद महरठ्ठा पनि हुन् । “गाउँमा सोचेजस्तो आम्दानी नभएपछि काठमाडौं आएको थिएँ,” भन्छन् महरठ्ठा । 

    भूकम्प गएको वर्ष २०७२ मा गाउँमा जीवनयापन कठिन भएपछि उनी राजधानी छिरेको बताउँछन् । सुरुमा केही गर्ने निश्चयसाथ उनले पशुपति मन्दिर परिसरमा तरकारीको व्यापार थाले । तर, यसबाट खास फाइदा नहुने देखेपछि उनले परिसरमा पूजा सामान राख्दा आम्दानी हुने ठम्याए र पूजा सामग्री पसल सञ्चालन गरे । 


    ८ लाखको लगानीबाट सुरु भएको यो व्यवसाय १५ लाखसम्म विस्तार भएको छ यतिवेला । 
    उनले यस पसलमा विवाह, व्रतबन्धजस्ता धार्मिक कार्यका लागि अति आवश्यक वस्तुहरू—जौं, तिल, घ्यू, धूप, अबिर, धागो, रुद्राक्ष, भगवानका मूर्ति, सौभाग्य सामग्री, फूलमाला, चाँदीको दियो, धोती, टोपी, १६ सिँगारका सामग्रीसम्म बेच्छन् । 

    काठमाडौँको असन र इन्द्रचोकबाट सामान झिकेर उनले पसलमा ग्राहकको माग अनुसार सजावट गरेका छन् ।  यस पसलबाट उनको दैनिक कारोबार अहिले ५ हजारदेखि ७ हजार रुपैयाँसम्म हुन्छ, यद्यपि पहिलेको तुलनामा व्यापारमा केही कमी आएको उनी बताउँछन् ।  “पहिला राम्रो व्यापार हुन्थ्यो, अहिले सबै खर्च कटाएर बल्लबल्ल बराबरी हुन्छ । ” 


    पशुपति परिसरमा सवारीसाधन प्रवेशमा रोक, पार्किङ अभाव, र मुख्य बाटोबाट पसलको दुरीजस्ता कारणले गर्दा ग्राहकको चाप घटेको उनको जोड छ । त्यसैले उनीजस्ता व्यवसायीले सानो लगानीबाट जीवन धान्नु आजकाल सजिलो छैन्। महिनामा १५ हजार रुपैयाँ पसलको भाडा र २२ हजार रुपैयाँ डेराको खर्च जोडिँदा आम्दानीबाट बचत गर्न मुस्किल पर्छ।


    रामप्रसादले पसलकै कमाइबाट दुई जना छोरीहरूको विवाह गरिसकेका छन् । एक छोरा विदेशमा जागिर खाइरहेका छन् भने जेठो छोरा यहीं जागिरमा छन्। उनले चाँगुनारायणमा जग्गा किन्नु र परिवारको जिम्मेवारी पूरा गर्न सक्नु आफ्ना संघर्षको प्रतिफल मान्छन् । 


    रामप्रसादको परिश्रम, निरन्तरता, र पारिवारिक सहयोगले कसरी विपरीत परिस्थितिमा पनि जीवन अगाडि बढ्न सक्छ भन्ने देखाएको छ । 

    पशुपति परिसरको गल्लीभित्रको त्यो सानो पसल, जहाँ देवता पुजिन्छन्, त्यहाँ एक साधारण मान्छेले आफ्नो जीवन पूजाको नाममा अर्पण गरिरहेका छन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij