काठमाडौँ। ललितपुरका ७२ वर्षीय धन बहादुर मगर जीवनको यो अवस्थामा आएर पनि दिनभरि सिटि रिक्सा चलाएर जीविका चलाइरहेका छन् । बिहान ६/७ बजे रिक्सा लिएर निस्कन्छन्, बेलुकी ६/७ बजेसम्म काम गर्छन् ।
धन बहादुर मगरको जन्म गोर्खाको बेनिघाटमा भयो । युवाकालमा उनले नेपाली सेनामा सेवा गर्न पाए । सन् २०३० मा नेपाली सेनामा भर्ती भए र २० वर्षसम्म सेवा गरे । अहिले मासिक २० हजार रुपैयाँ पेन्सन पाउँछन् ।
धन बहादुरका तीन सन्तान छन् । एक छोरा र एक छोरी पोर्चुगलमा छन्, अर्को छोरा साउदी अरबमा रोजगारी गर्छ । उनीहरू सबै विदेशमै व्यस्त छन् । काठमाडौंमा घर भए पनि धन बहादुर त्यहाँ बस्दैनन् । “त्यो घर छोराछोरीकै जिम्मामा छ, म त्यहाँ जान्न ।“ अहिले उनी जाउलाखेलमा एउटा सानो कोठा भाडामा लिएर बस्छन् ।
धन बहादुरको श्रीमती पहेले रोग (जन्डिस) भएर २२ बर्ष पहिले नै बितिन् । त्यसपछि दोस्रो बिहे गर्ने कोसिस गरे, तर जुरेन । “बुढेसकालमा तातो–चिसो खुवाउने जोडी पाइन्छ कि भन्ने आशा अझैसम्म छ, तर भाग्यले अहिले सम्म दिएको छैन“ उनी भन्छन् ।
“पहिले राम्रो कमाइ थियो, “उनी सम्झन्छन् । “तर, भविष्य सोचिएन । साथीभाइलाई सापटी दिएँ, कसैले फिर्ता गरेनन् । अहिले कति कष्ट भोग्नुपरिरहेको छ । “धन बहादुर भन्छन्, “सबैले भन्छन्, बुढेसकालमा आराम गर्नुपर्छ, तर कसरी गनर्,े हातगोडा चलुञ्जेल काम गरिरहनु परेको छ ।“
धन बहादुर युवाहरू प्रति एक सन्देश दिन्छन् “जति कमाए पनि केही भविष्यका लागि बचत गर । बुढेसकालमा अरूको भर पर्नुपर्दैन ।“
धन बहादुरको संघर्ष नेपाली समाजको यथार्थ हो । उमेर ढल्दै जाँदा धेरैलाई परिवारको साथ, आर्थिक स्थायित्व र सुरक्षित जीवन आवश्यक पर्छ । तर, ती सबै कुरा योजना बिना मिल्दैनन् । धन बहादुरको कथा हामीलाई सिकाउँछ— भविष्य सुरक्षित बनाउनका लागि आजै सोच्नुपर्छ ।


