काठमाडौं । अब स्वास्थ्य जाँच रिपोर्ट लिन अस्पतालमा धाउन नपर्ने भएको छ । भरतपुर अस्पतालमा बिरामीले ल्याब परीक्षणका लागि दिएको रिपोर्ट अब क्युआर कोडमै पाउने व्यवस्था मिलाइएको छ ।
“आफ्नो रिपोर्ट आफैँ प्रिन्ट गरेर लिन सक्ने व्यवस्था गरिएको छ,” भरतपुर अस्पतालका इन्जिनियर चन्द्रमणि बस्यालले जानकारी दिए । नमुना परीक्षण गर्न दिएका बिरामीले बिलमा भएको क्युआर कोड स्क्यान गरी रिपोर्ट हेर्न र प्रिन्ट गर्न सक्ने छन् । क्युआर कोड स्क्यान गरी रिपोर्ट प्रिन्ट गर्न मिल्ने मेसिनको ट्रायल सफल भएपछि अब बिरामीले प्रयोग गर्न सक्ने इन्जिनियर बस्यालले बताए ।
दुई दिनको ट्रायल सफल भएपछि सेटिङ मिलाएर राखिएको छ । मेसिनबाट एक मिनेटमा तीन वटासम्म रिपोर्ट निकाल्न सकिने बस्यालले बताए । अस्पतालले यो मेसिन करिब सात लाख रुपियाँमा खरिद गरेको हो । अर्को एउटा मेसिन पनि थप खरिद गर्ने योजना रहेको छ । रिपोर्ट प्रिन्ट गर्ने मेसिन प्रयोगमा आएसँगै ल्याब रिपोर्ट लिने ठाउँमा बिरामीको चाप घट्ने विश्वास लिइएको छ ।
भरतपुर केन्द्रीय अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामीले ओपिडी टिकट काट्ने गरेका छन् । ओपिडी काउन्टर १० वटाभन्दा धेरै सञ्चालनमा छन् । बिरामीको चापलाई हेरेर काउन्टर वृद्धि गर्दै लगिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए । अस्पतालको थप सेवाका लागि चार वटा भवन निर्माण हुँदै गरेको उनले बताए । अस्पतालमा ट्रमा सेन्टर, सरुवा रोग नियन्त्रण भवन, क्याथ ल्याब र नर्सिङ कलेज निर्माणको क्रममा रहेको उनले जानकारी दिए ।


