Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध पाँच लाख घुसको मुद्दा

कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध पाँच लाख घुसको मुद्दा

मंगलबार, भदौ २ २०८३
मंगलबार, भदौ २ २०८३
  • काठमाडौं। सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस मागेको आरोपमा पक्राउ परेका आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज एम.एस. पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    images

    अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/०७९ को पूर्ण कर लेखापरीक्षणका क्रममा पेस गरिएका बिल, बिजक तथा अन्य कागजातमा समस्या देखाउँदै कर अधिकृत पालले सेवाग्राहीलाई दुःख दिएको उजुरी परेको थियो। करसम्बन्धी काम मिलाइदिने भन्दै उनले चार्टर्ड एकाउन्टेन्ट यादवमार्फत पाँच लाख रुपैयाँ घुस मागेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

    उजुरीपछि अख्तियारको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले पाललाई पाँच लाख रुपैयाँ घुससहित रङ्गेहात नियन्त्रणमा लिएको थियो।

    अनुसन्धानका क्रममा विभिन्न व्यावसायिक तथा औद्योगिक फर्म र कम्पनीको लेखापरीक्षण तथा कर निर्धारणका क्रममा पालले यादवसँग मिलेमतो गरी सेवाग्राहीबाट रकम असुल्ने गरेको पुष्टि भएको अख्तियारको दाबी छ।

    आयोगले पालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अन्तर्गतको कसुरमा पाँच लाख रुपैयाँ बिगो कायम गर्दै बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेको छ।

    यस्तै, चार्टर्ड एकाउन्टेन्ट यादवले पालसँग मिलेमतो गरी घुस रकमको बार्गेनिङ गर्न सहयोग गर्नुका साथै सेवाग्राहीलाई घुस दिन दुरुत्साहन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

    यादवविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ३(४) अन्तर्गत कसुर कायम गर्दै दफा ३(१) को देहाय (ग) बमोजिम कैद तथा बिगोबमोजिम जरिवानाको मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij