काठमाडौं ।प्रेस काउन्सिल नेपालले धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने हिंसा अपराध तथा उत्तेजना फैलाउने प्रकृतिका सामग्री तत्काल हटाउन सम्बन्धित सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई निर्देशन दिएको छ।
काउन्सिलले पत्रकार आचारसंहिताविपरीत सामग्री प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यममाथि कारबाही प्रक्रिया अघि बढाउनुका साथै ६ वटा सामाजिक सञ्जालमार्फत प्रकाशित सामग्रीमाथि अनुसन्धान गरी आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरेको जनाएको छ।
काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सहप्रवक्ता/सूचना अधिकारी रामशरण बोहरा द्वारा जारी विज्ञप्तिअनुसार हालै सुनसरीसहित पूर्वी जिल्लामा भएका संवेदनशील घटनासम्बन्धी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको नियमित अनुगमन भइरहेको छ।
अनुगमनका क्रममा १४ वटा सञ्चारमाध्यममा पत्रकार आचारसंहिताविपरीत सामग्री प्रकाशन तथा प्रसारण भएको भेटिएपछि ती सामग्री हटाउन टेलिफोनमार्फत निर्देशन दिइएको थियो। निर्देशनपछि ७ सञ्चारमाध्यमले सामग्री हटाएका छन् भने एक सञ्चारमाध्यमलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको काउन्सिलले जनाएको छ।
त्यसैगरी सञ्चारमाध्यमअन्तर्गत नपर्ने ५ फेसबुक पेज र १ युट्युब च्यानलमा प्रकाशित ८ वटा गम्भीर प्रकृतिका सामग्रीमाथि अनुसन्धान गरी आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको विज्ञप्तिमा उल्लेख छ।
प्रेस काउन्सिलले पत्रकारिता आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै धार्मिक वा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर पार्ने सामाजिक द्वेष फैलाउने अफवाह र भ्रमपूर्ण सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम पत्रकार सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तासमक्ष अपिल गरेको छ।
साथै, जिम्मेवार मर्यादित र उत्तरदायी पत्रकारिताको प्रवर्द्धनका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको काउन्सिलले जनाएको छ।


