काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितका उजुरी तथा निवेदन प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न आफ्ना मातहतका कार्यालयलाई निर्देशन दिएको छ।
विभागले मङ्गलबार देशभरका श्रम तथा रोजगार कार्यालय तथा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र जारी गर्दै सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न र त्यसको जानकारी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन भनेको हो।
विभागका अनुसार हेल्लो सरकार, श्रम मन्त्रालय, विभाग तथा सिधै कार्यालयमा दर्ता भएका उजुरी समयमै सम्बोधन नभएको, कर्मचारीबाट अपेक्षित व्यवहार नपाइएको र न्यायिक प्रक्रिया अनावश्यक रूपमा ढिलो भएको गुनासो बढेपछि यस्तो निर्देशन जारी गरिएको हो।
परिपत्रमा कर्मचारीले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ ले तोकेको जिम्मेवारी र आचरणको पूर्ण पालना गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, कार्यालयको क्षेत्राधिकारभन्दा बाहिर पर्ने विषयमा सेवाग्राहीलाई तत्काल जानकारी गराई सम्बन्धित निकायमा पठाउनुपर्ने तथा श्रमिकका उजुरीबारे सम्बन्धित प्रतिष्ठानबाट समयमै प्रतिक्रिया लिने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।
विभागले श्रम कानुनबमोजिम विवाद समाधानका लागि वार्ता गराउने, वार्ताबाट समाधान नभएमा कार्यालयले यथाशीघ्र निर्णय गर्नुपर्ने र श्रम अदालत तथा कार्यालयबाट भएका आदेश तथा निर्णय समयमै कार्यान्वयन गर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न पनि मातहतका कार्यालयलाई भनेको छ।
यसैगरी हेल्लो सरकारमार्फत प्राप्त गुनासो सम्बोधन गरेपछि त्यसको जानकारी पनि यथाशीघ्र अद्यावधिक गर्न विभागले निर्देशन दिएको छ।


