काठमाडौं । नेपाल उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको पत्र हस्तान्तरण तथा प्रथम बैठक साउन ४ गते सम्पन्न भएको छ।
समितिकी सभापति सुनिता न्हेम्हाफुकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारीसम्बन्धी पत्र हस्तान्तरण गरिएको थियो। कार्यक्रममा विभिन्न उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आएका महिला उद्यमीहरूको सहभागिता रहेको थियो।

बैठकमा महिला उद्यमशीलताको विकास, व्यवसाय विस्तार, क्षमता अभिवृद्धि, सीप विकास, बजार प्रवर्द्धन तथा महिला उद्यमीबीच सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। साथै आगामी दिनमा महिला उद्यमीहरूको आर्थिक सशक्तीकरणका लागि विविध कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत सहमति भएको जनाइएको छ।

सभापति सुनिता न्हेम्हाफुकीले महिला उद्यमीहरूको हकहित र व्यावसायिक उन्नयनका लागि समिति प्रतिबद्ध रहेको बताउँदै सबै सदस्य तथा उद्यमी महिलाहरूको सक्रिय सहभागिताले समितिका उद्देश्यहरू सफल हुने विश्वास व्यक्त गरिन्।
बैठकले महिला उद्यमशीलताको प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउने गरी प्रभावकारी कार्ययोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।


