दमक । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत छैटौँ तहका इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई झापाको दमकबाट नियन्त्रणमा लिएको हो।
पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने बहानामा खड्काले सेवाग्राहीसँग घुस मागिरहेको विशेष सूचना र उजुरीका आधारमा अख्तियारले कारबाही अघि बढाएको थियो। सोही उजुरीका आधारमा आयोगको टङ्गालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयको संयुक्त टोलीले उनलाई दमक नगरपालिका–१ स्थित एक खाजा घरबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आरोपी इन्जिनियर खड्कालाई घुस रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। अख्तियारले उनलाई हिरासतमा राखी भ्रष्टाचार निवारण ऐन अन्तर्गत कानूनी कारबाही अगाडि बढाउने तयारी गरेको छ।


