काठमाडौं । सडकपेटीलाई कार्यक्षेत्र बनाएर जीविकोपार्जन गर्दै आएका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यवसायीहरूको माइतीघर मण्डलामा जारी धर्ना आइतबार सातौँ दिन पनि निरन्तर भइरहेको छ। आन्दोलनरत पक्षले सरकारले आफ्ना माग तत्काल सम्बोधन नगरे केही दिनभित्र सेतो लाठी टेक्दै सिंहदरबार घेराउ गर्ने चेतावनी दिएको छ।
'सडक पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूह' को नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागीहरूले सरकारले मागप्रति बेवास्ता गरे आन्दोलनलाई थप सशक्त र देशव्यापी बनाइने बताएका छन्। उनीहरूले आवश्यक परे सबै दृष्टिविहीन व्यवसायीहरूलाई सहभागी गराई सिंहदरबार मार्च गर्ने तयारीसमेत रहेको जानकारी दिएका छन्।
आन्दोलनकारीहरूले सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूको रोजगारी, पुनर्स्थापना र आत्मसम्मानसँग जोडिएका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। माग पूरा नभएसम्म आन्दोलन कुनै पनि हालतमा नरोकिने उनीहरूको अडान छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले दृष्टिविहीन व्यवसायीहरूको समस्यालाई संसद्मा उठाउने तयारी गरेको आन्दोलनरत पक्षले जनाएको छ। उनीहरूले सडकपेटीमा निर्भर अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी र अधिकारको विषयमा संसद्को ध्यानाकर्षण गराइने अपेक्षा व्यक्त गरेका छन्।
आन्दोलनलाई थप प्रभावकारी बनाउन आयोजकहरूले देशभरका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त नागरिकलाई काठमाडौँ आएर ऐक्यबद्धता जनाउन आह्वान गरेका छन्।
आन्दोलनस्थलमा राखिएको ब्यानरमा 'घाम, पानी, धुलो र धुवाँ सहनु हाम्रो रहर होइन, बाध्यता हो, विकल्प नदिई सडकपेटी छोड्दैनौँ' भन्ने सन्देश उल्लेख गर्दै उनीहरूले उचित पुनर्स्थापना र वैकल्पिक व्यवस्थाको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।


