काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा असार १ गते राजधानीका दुई ठूला संस्थागत क्यान्टिनमा संयुक्त अनुगमन गरेको छ। अनुगमनका क्रममा खाद्य स्वच्छता, सरसफाइ, भण्डारण तथा प्रशोधित खाद्य सामग्रीको प्रयोगसम्बन्धी विभिन्न कमजोरीहरू भेटिएका छन्।
प्रसूति गृह अस्पताल, थापाथलीस्थित मनकामना रिसब क्यान्टिनमा कृत्रिम खाद्य रङको अव्यवस्थित प्रयोग भएको, प्रवेशद्वार नजिकको क्यान्टिनको भौतिक संरचना अत्यन्त जीर्ण रहेको तथा कीट नियन्त्रणको अवस्था सन्तोषजनक नभएको पाइएको विभागले जनाएको छ। भान्साको सरसफाइ सामान्य रहेको, फोहोरदानीको व्यवस्था भए पनि प्रभावकारी प्रयोग नभएको तथा केही पकाइएका खाद्य सामग्री खुला अवस्थामा राखिएको भेटिएको थियो।
निरीक्षणका क्रममा एक - एक किलोका छ प्याकेट चाउचाउको उपभोग्य मिति समाप्त भएको पाइएपछि ती सामग्री नष्ट गरिएको विभागले जनाएको छ। प्रयोग भइरहेको तेलको गुणस्तर परीक्षणमा प्राप्त मान १६.५ रहेको र मापदण्डअनुकूल रहेको पाइएको छ।
यस्तै, काठमाडौं महानगरपालिका, ११ स्थित सेन्ट जेभियर्स कलेजको क्यान्टिन सञ्चालन गरिरहेको सिवाँस फुड क्याटरिन सेवामा अनुमतिपत्र नलिएका उद्योगबाट उत्पादित तथा पूर्ण विवरण नभएका केही प्रशोधित खाद्य सामग्री प्रयोग गरिएको भेटिएको छ। त्यहाँको कीट नियन्त्रण र भान्साको सरसफाइ अवस्था सामान्य रहेको जनाइएको छ। प्रयोगमा रहेको तेलको गुणस्तर परीक्षण को मान १६.५ रहेको र मापदण्डअनुसार रहेको विभागले जनाएको छ।
अनुगमन टोलीले दुवै क्यान्टिनलाई नियमित सरसफाइ गर्न, कीट नियन्त्रणलाई थप प्रभावकारी बनाउन, तयारी खाना उपयुक्त तापक्रममा भण्डारण गर्न, अनुमतिपत्र प्राप्त उद्योगबाट उत्पादित तथा पूर्ण विवरण भएका खाद्य सामग्री मात्र प्रयोग गर्न निर्देशन दिएको छ। मनकामना रिसब क्यान्टिनलाई प्रवेशद्वार नजिकको जीर्ण संरचना सुधार गर्न, भाडा सफा गर्ने स्थान व्यवस्थित गर्न तथा खुट्टाले खोल्न मिल्ने फोहोरदानी प्रयोग गर्न पनि भनिएको छ। सिवाँस फुड क्याटरिन सेवालाई धुवाँ निकासको थप व्यवस्था गर्न निर्देशन दिइएको विभागले जनाएको छ।


