काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उजुरी गुनासो सम्बोधनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) भित्रका खाद्य पदार्थ विक्री वितरण हुने पसलहरूको निरीक्षण अनुगमन गरेको छ।
विभागले प्रधानमन्त्री कार्यालय समेतको संयुक्त टोलीद्वारा गरेको उक्त अनुगमनका क्रममा होटलको सरसफाई सामान्य रहेको पाइएको छ। टोलीले खाद्य स्वच्छता कायम राख्न निर्देशन दिएको छ भने प्रयोगशाला परिक्षणका लागि 'Butter Muffin' को नमुना संकलन गरेको छ।
हाेटलकाे सरसफाई सामान्य रहेको पाइए पनि 'Crossiant' मा म्याद समाप्त हुने मिति स्पष्ट उल्लेख नगरेको भेटिएको छ। साथै, ताेकिएकाे मूल्य भन्दा बढी मूल्य लिएको भन्दै वाणिज्य विभागद्वारा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु. ३ (तीन) लाख जरिवाना गरिएको छ।

हाेटलकाे सरसफाई राम्रो नरहेको र खाद्य पदार्थ पनि छोपेर नराखेको पाइएको छ। भण्डार कक्षमा म्याद नाघेको खाद्य पाइएकाले म्याद नाघेको कलर र फ्लेवर ४ (चार) बट्टा नष्ट गरिएको छ।
भान्सामा भएको डस्टस्बिन छोपेर नराखेको र भान्सामा म्याद नाघेको खाद्य रंग पाइएको छ। फ्राइङ तेलको (TPM) परिक्षण गर्दा २६.५ भई मापदण्ड प्रतिकुल पाइएकाले (TPM) बढी भएको करिब ३ (तीन) लि. तेल र सोही तेलमा फ्राई गर्दै गरेको करिब २ (दुई) के. जि. समोसा नष्ट गरिएको छ। यस होटललाई पनि लेबलमा उल्लेख गरिएको मूल्य (MRP) भन्दा बढी मूल्य लिएको भन्दै वाणिज्य विभागद्वारा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु. ३ (तीन) लाख जरिवाना गरिएको छ।
एउटा क्याफेमा बेकरी जन्य खाद्य वस्तुमा लेबल नलगाई राखेको पाइएको छ। सरसफाईको अवस्था सामान्य रहेको क्याफेलाई खाद्य पदार्थमा अनिवार्य लेवल राख्न निर्देशन दिइएको छ भने प्रयोगशाला परिक्षणका लागि बेकरी जन्य खाद्य वस्तुको नमुना संकलन गरिएको छ।



