ललितपुर। काठमाडौं उपत्यकाको ललितपुर जिल्ला भन्नेबित्तिकै जो-कोहीको मानसपटलमा सुगम र विकसित सहरको चित्र आउँछ। तर, यही ललितपुरको दक्षिणी भेगमा अवस्थित महाँकाल गाउँपालिकाको गोटीखेलबाट थोरै उकालो चढ्नेबित्तिकै एउटा यस्तो बस्ती भेटिन्छ। जहाँ आजको अत्याधुनिक युगमा पनि विकासको उज्यालो घाम झुल्कन सकेको छैन। त्यो बस्ती हो सिसोन।
समुद्री सतहबाट निकै उचाइमा रहेको र प्रायः कुहिरोको साम्राज्य रहने भएकाले इतिहासमा यसलाई 'सिसोन' भनिन्थ्यो। चिसो सिरेटोसँगै इतिहासको लामो कालखण्डलाई नियालिरहेको यही सिसोन गाउँमा ८० वर्ष पार गरिसकेका रामबहादुर प्रधान भेटिन्छन्। वि.सं. १९९६ सालमा जन्मिएका रामबहादुरको जीवनकथा कुनै ऐतिहासिक चलचित्रको लिपिभन्दा कम छैन।
रामबहादुरका बुबा राजाको नजिक भई 'राजदल गण' मा काम गर्थे। दरबारमा इमानदारीपूर्वक काम गरेबापत सरकारले उनलाई सिसोनमा बकस (बिर्ता) स्वरूप जग्गा दिएको थियो। त्यही जग्गा सम्हाल्न वि.सं. २००३ सालमा उनका बुबाले काठमाडौंको घर छोडेर सात वर्षका बालक रामबहादुरलाई यस लेकाली भेगमा लिएर आएका थिए।
त्यो बेलाको सिसोन अहिलेको जस्तो थिएन। चारैतिर घना जङ्गल र घारी मात्रै थियो। गाउँमा शिक्षाको उज्यालो पुगिसकेको थिएन। बाल्यकाल सम्झिँदै रामबहादुर भन्छन्, 'हामी यहाँ आउँदा यो ठाउँ पुरै जङ्गलै थियो, खेतीपाती पुरा भएको थिएन। त्यतिबेला स्कुलै थिएन। बच्चा बेलामा खेल्ने, खाने र बाख्रा चराउनेबाहेक अरू के काम हुन्थ्यो र सर।'
उतिबेला सिसोन गाउँमा एकपटक रोपेपछि कहिल्यै नहराउने रैथाने 'लोकल आलु' फल्थ्यो। त्यही आलु उसिनेर खानु र मकै-गहुँको रोटी खानु उनीहरूको दैनिकी थियो। तत्कालीन मन्त्री भुवनलाल विष्टको पालामा चन्दनपुरसम्म सडक खनिनुअघि काठमाडौंबाट भरियाले बोकेर ल्याएको खाद्यान्नकै भर पर्नुपर्ने अवस्था थियो।
सानै उमेरमा (वि.सं. २००७ सालतिर) आमाबुबा बितेपछि रामबहादुरको जीवनमा अभाव र संघर्षको पहाड नै खस्यो। दाजुभाइ र दिदीबहिनी भए पनि आमाबुबा नहुँदा समाजमा भोग्नुपर्ने भेदभाव र हेलाका कारण उनले गाउँ छोड्ने निर्णय गरे। गाउँकै एक लाहुरे साथीको प्रेरणाले उनी सन् १९५८ (वि.सं. २०१५) मा भारतीय सेना (आर्मी) मा भर्ती भए।
भारतीय सेनामा रहँदा उनले भारत-चीन सिमानाको अरुणाचल प्रदेश जस्तो दुर्गम र संवेदनशील क्षेत्रमा खटिएर वि.सं. २०२६ सालसम्म सेवा गरे। सन् १९६२ को भारत-चीन युद्धलाई नजिकबाट भोगेका प्रधान भन्छन्, 'म १९५८ को भर्ना हो, अरुणाचल प्रदेशमा खटेको थिएँ। सुरुको बेला आर्मीमा ४० रुपैयाँ भारु तलब थियो, त्यो भन्दा बढी थिएन। तलब बढेको त चाइनिज युद्धबाट हो।'
जागिर अवधिभर वीरतापूर्वक सेवा गरेर निवृत्त भएका उनी अहिले मासिक २० देखि ३० हजार भारु पेन्सन पाउँछन्। 'अहिले २०-३० हजार भारु पेन्सन आउँछ, भारत सरकारले आराम गरेर खानुस् भनेर पठाइदिएको छ। बालबच्चालाई पनि पुग्छ, आफूलाई पनि पुग्छ,' उनले विगत कोट्याए। वि.सं. २०२६ सालमा विवाह गरे पनि चिनियाँ सिमानाको द्वन्द्वका कारण उनले श्रीमतीलाई कहिल्यै आफूसँग विदेश लगेनन्।
जागिर सकिएपछि पुनः आफ्नै रैथाने माटोमा फर्किएका रामबहादुरले सिसोन गाउँ धेरै फेरिएको पाए। उतिबेलाको रैथाने आलुको जङ्गल अहिले बहुमूल्य जडीबुटी 'लोटसल्ला' को जङ्गलमा परिणत भएको छ। जङ्गल पातलिएसँगै पहिले-पहिले कराउने बाघ-भालु हराएका छन् भने अचेल मिर्ग र कालिज मात्र भेटिन्छन्।
तामाङ, बस्नेत र प्रधान जातिहरूको बसोबास रहेको यो गाउँ धार्मिक एवं पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ। यहाँ ऐतिहासिक कालेश्वर महादेवको मन्दिर छ, जहाँ दर्शन गर्न हरेक हप्ता पर्यटकहरूको लाम लाग्ने गर्छ। तर, सडकको दुरावस्थाका कारण पर्यटक र स्थानीयले सास्ती भोग्नुपरेको छ।
सहरी कोलाहलभन्दा गाउँकै जीवन निकै उत्तम रहेको रामबहादुरको बुझाइ छ। 'बस्नु स्वास्थ्यको लागि यहाँ राम्रो छ, रोगबेथा लाग्दैन,' भौगोलिक तुलना गर्दै उनी भन्छन्, 'कालेश्वर महादेवले गर्दा यहाँ धेरै सम्भावना छ। राम्रो बाटो बन्यो भने त कति राम्रो हुन्छ, बसहरू पनि आउँछन्। तर यो बाटो अलि राम्रो बन्न सकेको छैन।'
८० वर्षको उमेरमा पनि निकै तन्दुरुस्त देखिने रामबहादुर देशको राजनीति र सरकार फेरबदलप्रति खासै चासो राख्दैनन्। उनी न टिभी हेर्छन्, न रेडियो नै सुन्छन्। गत चुनावमा भोट हालेका उनलाई अहिले देशमा नयाँ पार्टी (रास्वपा) को लहर आएको र पुराना पार्टीहरू खुम्चिएको बारे सामान्य जानकारी मात्र छ।
बुढेसकालमा आफ्नो व्यक्तिगत स्वार्थ केही नरहेको बताउने यी वृद्ध योद्धाको अब एउटै मात्र अन्तिम इच्छा छ गाउँको सडक पिच भएको देख्न पाउनु। 'अहिले बुढेसकालमा हामीलाई केही चासो छैन। यो भन्दा राम्रो पिच भइदिएको भए, रोड राम्रो पिच भइदिएदेखि आउन-जान गाडीमा राम्रो हुन्थ्यो,' आशावादी हुँदै रामबहादुरले कथाको अन्त्य गरे, 'बाटो राम्रो जोडिदियो भने सजिलो हुन्छ। अरू विकास त के हुन्छ र, आफ्नो मेहनत गर्या छ, खेती किसान गरेर गुजारा गर्या छ।'


