काठमाडाैं। नेपालबाट दिनहुँ हजारौँ मानिसहरू रोजगारीको खोजीमा विदेशिन्छन् । आफ्नो भविष्य र परिवारको भरण–पोषणका लागि हरेक वर्ष यस्ता लाखौँ यात्रुहरूले घर–गाउँ छोड्न् बाध्य हुन्छन् । त्यसै मध्यका एक हुन्, रुकुम पश्चिमका देवराज पाण्डे।
विदेश जान काठमाडौं आएका उनीले साथीहरूसँग यात्रा तय गरेका थिए । २८ मार्चमा उडिसक्ने टिकट लिएर आएका देवराज इरान–इजरायल युद्धले रोकिए । भोट हाल्न नपाई विदेश जान लागेका उनले अब गाउँमा भोट हाल्न पाउने भएका छन् । तर बसपार्कमा भेटिँदा उनी अलपत्र थिए । गाउँ गएर भोट हाल्ने इच्छा त थियो, तर बस पाइएको थिएन। अब कहिले उड्ने हो, त्यो अझै निश्चित थिएन।
उनी भन्छन्, 'टिकटको पैसा जसले भए पनि फिर्ता दिनुपर्ने हो। पैसा दिन्छ कि दिँदैन, थाहा छैन। तर जसरी भए पनि उडाउनु पर्छ।' युद्धले उनी मात्र होइन, लाखौँ यात्रुहरू प्रभावित छन्। यसरी अलपत्र परेकालाई सरकारले केहि व्यवस्था गरिदियोस् भन्ने उनी चाहन्छन्।
४५ वर्षका देवराजले बताए, 'आजसम्म मैले दुईपटक मात्र भोट हालेको छु। तर यसपटक यस्तो संयोग भयो—विदेशिन लागेको बेला युद्दले रोक्यो र अब गाउँमा भोट हाल्न जाँदै छु।'
विदेशमा काम गर्न धेरै कठिन छ। तर आफ्ना परिवार र सन्तानको सम्झनाले जीवन यता खुशीसाथ बितिरहेको छ। 'विदेश जस्तो ठाउँमा पीडा धेरै हुन्छ, तर आफ्ना सन्तानको यादले बाँच्न प्रेरित गर्छ।' नेपालमै रोजगारी भइदियोस् भन्ने चाहना केवल उनको मात्र होइन, सम्पूर्ण नेपालीहरूको पनि सपना हो। तर सुधार अझै बाँकी छ।
'गाउँमै बसेर केहि गरम भनेे पनि अवसर खासै छैन। बाध्यताले पनि मानिसहरू विदेशिनुपर्छ। 'महङ्गीले झनै विदेशिन बाध्य बनाएको छ,' उनले बताए। रुकुम पश्चिममा रोजगारका अवसरहरू छन्, तर विकास नभएको कारण ती अवसर यत्तिकै छन्। उत्पादन भए पनि मूल्य नपाउँदा झनै गाह्रो हुने उनी बताउँछन्।
चुनावमा आशा राख्ने उनी यसपालि पनि आशावादी छन्। अझ, यसपालि त चुनावको माहोल पहिलेभन्दा फरक छ। 'चुनावमा युवा उमेदवार पनि भएकाले पनि आशा छ' उनी भन्छन्।


