काठमाडौं। शनिबार इरानमा भएको इजरायल–अमेरिकी आक्रमणपछि मध्यपूर्व क्षेत्रमा उत्पन्न अस्थिरताको प्रत्यक्ष असर नेपाली यात्रुहरूमा परेको छ। त्यहाँ जाने तथा सो क्षेत्रलाई पारवहन मार्ग बनाइ अन्य मुलुकतर्फ उड्ने तयारीमा रहेका हजारौँ नेपाली यात्रु उडान रद्द भएपछि अन्योलमा परेका हुन्।
उडान स्थगित भएपछि आइतबार टिकट साट्न र थप जानकारी लिन यात्रुहरू सम्बन्धित वायुसेवा कम्पनीका कार्यालय पुगेका छन्। विशेषगरी एयर अरबको कार्यालयमा यात्रुको उल्लेख्य भीड देखियो। उनीहरू मध्ये अधिकांश वैदेशिक रोजगारीमा जानेहरू छन्।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार विभिन्न गन्तव्यका उडानहरू रद्द हुँदा करिब तीन हजार यात्रु प्रभावित भएका छन्।
उनका अनुसार कतार एयरवेजका चार उडान रद्द हुँदा करिब आठ सय यात्रु प्रभावित भए। दुबई गन्तव्यका चार उडान रद्द हुँदा झण्डै छ सय यात्रुलाई असर परेको छ। त्यसैगरी एयर अरबका शारजाहतर्फका दुई उडान रद्द हुँदा करिब तीन सय यात्रु प्रभावित भएका छन्। साथै हिमालयन एयरका दमामतर्फका तीन उडान रद्द हुँदा करिब पाँच सय यात्रु अलपत्र परेका छन् भने कुवेत जाने दुई उडान रद्द हुँदा थप तीन सय यात्रु प्रभावित भएका छन्।
उडान रद्द भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वायुसेवा कम्पनीका कार्यालयहरूमा यात्रुको चाप बढेको छ। हामीले प्रभावित यात्रुसँग भेटेर उनीहरूको अवस्था र युद्धप्रतिको धारणा बुझेका छौँ।


