Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

अघिल्लो पुस्ता

‘सपनामा पनि गाउँ मात्रै देख्छु’

‘सपनामा पनि गाउँ मात्रै देख्छु’

शनिबार, फागुन १६ २०८२
शनिबार, फागुन १६ २०८२
  • काठमाडौं। रुद्र कुमारी श्रेष्ठको जीवनकथा केवल व्यक्तिगत भोगाइ होइन, यसले गाउँ–सहरबीचको बदलिँदो परिवेश, सामाजिक यथार्थ र राजनीतिक अवस्थालाई समेत उजागर गर्छ । शान्त स्वभाव र मन्द मुस्कानका साथ आफ्ना अनुभव सुनाउने उनीभित्र समयले कोरेका संघर्षका गहिरा रेखाहरू छन् ।

    images

    ओखलढुङ्गा घर भएकी रुद्र कुमारी विगत तीन वर्षदेखि काठमाडौंको धुम्बाराहीमा बसोबास गर्दै आएकी छन् । गाउँ रित्तिँदै गएपछि उनी छोरासँगै राजधानी झरेकी हुन् । 'गाउँमा मान्छे घट्दै गए, खेतबारी बाँझिन थाल्यो, त्यसपछि यहाँ आउनुपर्‍यो,' उनी सुनाउँछिन्।

    १९ वर्षको उमेरमा मागी विवाह गरेकी हुन् उनीले। आफ्नो समयका ती दिन सम्झिन्छिन्, ‘त्यो समयमा न गाडी देखे, न मोबाइल । गाउँमा सामान्य यातायात र सञ्चारको सुविधा पनि पुगेको थिएन।’ अहिले सडकमा गुडिरहेका गाडी र हातहातमा मोबाइल देख्दा समयले कति ठूलो फड्को मारेछ भन्ने उनलाई महसुस हुन्छ।

    पाँच सन्तानकी आमा रुद्रका केही सन्तान गाउँमै छन् भने कोही काठमाडौंमा । तीन वर्षअघि छोरा–बुहारीसँगै राजधानी आएकी उनी भौतिक रूपमा सहरमा भए पनि मनले भने अझै गाउँमै बसिरहेको अनुभव गर्छिन् । उनी भन्छिन्, 'म त सपनामा पनि गाउँ नै देख्छु।'

    पहिले गाउँमा कतै पनि खाली जमिन छोडिँदैनथ्यो । सबैले खेती गर्थे, खेतबारी हरियालीले भरिएको हुन्थ्यो। आफ्नै पसिनाले उब्जाएको अन्न खान पाउँदा सन्तोष मिल्थ्यो। 'पहिला दुःख धेरै थियो, तर मन सन्तुष्ट हुन्थ्यो,' उनी भन्छिन्, ‘अहिले गाउँ जाँदा बाँझो जमिन देख्दा मन खिन्न हुन्छ ।’

    नेवार परिवारकी उनी काठमाडौं र ओखलढुङ्गाको चालचलन, रहनसहन र परम्परामा धेरै भिन्नता देख्छिन्। 'गाउँमा सबै चिनेजानेका हुन्थे, दुःख–सुख साटिन्थ्यो। यहाँ सबै आ–आफ्नै काममा व्यस्त छन्,'उनी भन्छिन्। सहरमा सुविधा धेरै भए पनि आत्मीयता कम देख्छिन् उनी।

    खेतीपाती गरेरै सन्तान हुर्काएकी उनले अहिलेको महँगीप्रति चिन्ता व्यक्त गर्छिन्। ‘अहिले जति कमाए पनि रमाइलो महसुस हुँदैन,’ उनी चिन्ता गर्छिन्, ‘जमानै महँगो भो नि।’ उनका अनुसार अहिले खेतीपातीले मात्रै जीवन धान्न गाह्रो छ।

    चुनावी माहोल सुरु भएसँगै भोटको महत्वबारे पनि उनी आफ्नै धारणा राख्छिन्, ‘भोट त पहिलेदेखि हाल्दै आएको, तर खासै परिवर्तन देखिएन।' यसपटक भने सोचेर नयाँ नेतृत्व रोज्ने मन बनाएको बताउँछिन्। र अब आउने नेतृत्वले देश सुधार्न सक्छ भन्ने उनी आशा गर्छिन्।

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij