Logo

आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३

भक्सपप नेपालको एक वर्षः धेरै सिक्यौं, केही गर्यौं

भक्सपप नेपालको एक वर्षः धेरै सिक्यौं, केही गर्यौं

शुक्रबार, माघ ९ २०८२
शुक्रबार, माघ ९ २०८२
  • सञ्चार माध्यम समाज रूपान्तरणको प्रभावकारी आधार बन्छ भन्ने दृढ विश्वासका साथ शुरु गरेको भक्सपप नेपालले एक वर्ष पुरा गरेको छ । २०८१ सालको सरस्वती पूजाको पावन दिनमा शुरु भएको यो यात्रा निकै सिकाइमूलक रह्यो । यो अवधि उत्साहपूर्ण मात्र रहेन, चुनौती, आलोचना, दबाब र आत्ममूल्याङ्कनमै बित्यो । ऊर्जावान् र अनुभवी टिम भए पनि आम पत्रकारिताको अभ्यासभन्दा भिन्दै भएकाले हामी एक वर्ष सिकारु नै बन्यौँ । तर, भुइँमान्छेका आवाजलाई केन्द्रमा राख्ने हाम्रो मूल सङ्कल्प कहिल्यै कमजोर भएन। राजनीतिक दल वा स्वार्थ समूहको प्रभावमा परेका धेरै सञ्चार माध्यमबीच आम नागरिकका दैनिक समस्या, पीडा र प्रश्नहरू हामीले सुन्यौँ ।

    images

    हो, हामी आकारमा सानो छौँ, तर सानै विषयभित्र लुकेको ठूलो यथार्थ उजागर गर्ने प्रयासमा छौँ। यहाँ बोलिने कथा राजधानीका गल्लीदेखि गाउँका आँगनसम्म फैलिएका छन् । जहाँ आम मानिसको दैनिकी कसरी चलिरहेको छ भन्ने कुरा देखिन्छ । हामीले चलाइरहेका मुख्य स्तम्भहरू भक्सपप भुइँमान्छे, अघिल्लो पुस्ता, उद्यम र युवाले समाजलाई बहुआयामिक दृष्टिले हेर्ने आधार तयार गरेका छन्।

    हाम्रो महत्वपूर्ण स्तम्भ भक्सपपले हरेक मानिसको आवाजलाई स्थान दिइरहेको छ । जहाँ उनीहरूका असन्तुष्टि, आशा र प्रश्न निसङ्कोच बोलिन्छ। अर्को स्तम्भ भुइँमान्छेले शक्ति र पहुँचबाट टाढा रहेका आम नागरिकको दैनिक जीवन, सङ्घर्ष र यथार्थलाई दस्तावेज गरिरहेको छ । जसले समाजको वास्तविक अनुहार देखाउँछ। अर्को चर्चित स्तम्भ अघिल्लो पुस्ताले मानव जीवनको चक्रीय अनुभव, स्मृति र जीवन भोगाइलाई दस्तावेजका रुपमा राखिरहेको छ । जहाँबाट अहिलेको पुस्ताले अघिल्लो पुस्ताबाट केही न्केही सिकिरहेको छ भन्ने विश्वास छ । अर्को स्तम्भ युवा सामाजिक चेतना र भविष्यको सम्भावना हो । जहाँ युवा पुस्ताले प्रश्न गर्छन्, चुनौती दिन्छन् र परिवर्तनको बाटो खोज्छन्।

    यसका साथै, भक्सपप नेपालले विभिन्न सामाजिक विषयमा सिरिज चलाइरहेको छ । जहाँ समाजमा पछाडि पारिएका, बेवास्तामा परेका वा विशेष प्रकृतिका विषयहरूलाई विभिन्न कोणबाट रिपोर्टिङ गर्दै आएका छौँ । एउटै विषयमा धेरै कथा, फरक दृष्टिकोण र प्रभावित पक्षका अनुभव समेटिएपछि त्यसलाई केवल समाचारमै सीमित नराखी स्थानीय तह, सरोकारवाला निकाय र सरकारसम्म पुग्ने गरी प्यानल डिस्कसन मार्फत बहसको थालनी गर्ने प्रयास पनि गर्दै आएका छौँ। यसले समस्या देखाउने मात्र होइन, समाधानतर्फ उन्मुख हुने विश्वास हामीमा छ।

    सानै कुरा गर्ने तर सत्य र सरोकारका कुरा गर्ने हाम्रो यात्रामा तपाईं पाठक–दर्शकका ताली र गाली दुवै हाम्रो मार्गदर्शन बनेका छन्। तपाईंको आलोचना हाम्रो सुधारको आधार हो भने, तपाईंको समर्थन हाम्रो ऊर्जा हो । सामाजिक उत्तरदायित्वसहितको नागरिक पत्रकारिताको यो अभियानमा तपाईंको साथ, सुझाव र विश्वाससहित भक्सपप नेपालले आगामी दिनमा अझ जिम्मेवार, स्पष्ट र प्रभावकारी भूमिकासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ।

    (नोटः फिचर फोटोमा प्रयोग भएको तस्विर बनाउन एआईको सहयोग लिईएको हो।)

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij