काठमाडौं । 'पहिलाको समय सम्झिँदा आफैँ आँसु आउँछ।' मंगलराज महर्जन यो वाक्य भन्छन् र केही बेर चुप लाग्छन्। रेडियोमा पुरानो भजन बजिरहेको छ, तर शब्दभन्दा भारी उनका सम्झनाहरू छन्। त्यो मौनताभित्र एउटा पूरै जीवन लुकेको छ अनि कठोर पिडा लुकेको छ।
नक्सालका मंगलराज अहिले ७२ वर्षका भए। आउने फागुनमा बृद्धाश्रममा बसेको तीन वर्ष पूरा हुन्छ। आश्रम उनको रोजाइ होइन, परिस्थितिले बनाएको अन्तिम ठेगाना हो। आठ–नौ वर्षको उमेरमै उनी नारायणहिटी दरबारभित्र काम गर्न पुगे। खेल्नुपर्ने उमेरमा देवालमा पानी हाल्ने र ढुंगा बोक्ने काम उनका दैनिकी बने। दरबार ठडिँदै गयो, बाल्यकाल हराउँदै गयो। 'नौ वर्षको हुँदा नारायणहिटीमै काम गरेँ,' उनी सम्झिन्छन्।
कामकै क्रममा हात गम्भीर घाइते भएपछि दरबारको काम छुट्यो। त्यसपछि जीवनले उनलाई जहाँ पायो, त्यही पुर्यायो। राणाहरूका घरमा भाँडा माझे, बैठक सफा गरे। महिनाको ७५ रुपैयाँमा खान र सुत्न पाउथे । पछि एउटा स्कुलमा भाँडा माझे, बाहिर ज्यामी काम गरे। डकर्मी काम सिके, प्लास्टर गर्न थाले। बालाजुको कपडा कारखानामा धागो गाँसेर कपडा बुने। उनले आफ्नो जीवनमा गरेका कामका अनुभवको फहरिस्त निकै लामो छ ।
तीस वर्षको उमेरमा बिहे भयो। झण्डै दुई दशकको सहयात्रापछि २०६० सालमा श्रीमती बितिन्। त्यसपछि घर सुनसान हुँदै गयो। 'बुढी बितेपछि घरै खाली भयो,' उनी भन्छन्।
उनका दुई सन्तान छन्- एउटा छोरा र एउटी छोरी। छोरा लागुऔषधको लतमा फस्यो, आफ्नै जीवन सम्हाल्न नसक्ने अवस्थामा पुग्यो। छोरीको विवाह भयो, आफ्नै संसारमा व्यस्त भइन्। समयसँगै सम्बन्ध टाढिँदै गयो।
'त्यसपछि मेरो जीवन नै सकियो ।' उनी छोटो वाक्यमा पीडा पोख्छन्।
बुवाले छोडेको थोरै जग्गा पनि कान्छो भाइको नाममा सारिदिए । भाइ–बुहारीको आफ्नै जिम्मेवारी भयो । अनि त्यही बेला ‘आश्रम’ भन्ने शब्द पहिलो पटक उनको जीवनमा आयो। के हो, कहाँ हो भन्ने थाहा थिएन। वडाको सिफारिस र सिंहदरबारका ढोका पार गर्दै उनी यहाँ आइपुगे। उनले देखेको काठमाडौं अब रहेन। पहिले खेतै खेत भएको ठाउँमा आज घरमाथि घर र बाटोमाथि बाटो छन्। कहिलेकाहीँ उनी बाटोमै हराउँछन्। 'अहिले त जुन बाटो हिँड्यो, उही जस्तो लाग्छ,' उनी भन्छन्।
आश्रममा खाने बस्ने सबै सुविधा छ । तर मन सन्चो गराउने सुविधा छैन । काम नगरी बस्नुपर्दा उनलाई दिन लामो लाग्छ। आफैले किनेको मोबाइलमा उनले भजनहरू राखेका छन् । तिनै भजनसँगै उनका दिन बित्छन्। मंगलराज जीवनको उत्तरार्धमा पुगिसकेको छ । उनको शरीर अब खास काम गर्न सक्ने अवस्थामा छैन । तर, उनको मनले 'अझैं पनि केही काम पाए त आफै गरेर खान सक्थेँ 'भन्छ ।


