Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

नयाँ आउने आशामा जनता

नयाँ आउने आशामा जनता

शुक्रबार, पुस २५ २०८२
शुक्रबार, पुस २५ २०८२
  • काठमाडौं। निर्वाचनको समय दिनानुदिन नजिकिँदै छ। यसपटकको निर्वाचन अघिल्ला निर्वाचनहरू भन्दा बिल्कुलै फरक र विशिष्ट परिस्थितिमा हुँदैछ। विशेषगरी 'जेनजी' आन्दोलनले राजनीतिलाई नयाँ मोड दिएपछि २०८४ सालमा तय भएको निर्वाचन २०८२ सालमै हुन लागेको छ।

    images

    यसपटकको निर्वाचन मैदानमा युवाहरूको बाक्लो उपस्थिति हुनुले पनि यसलाई विशेष बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ शक्तिहरूमा युवा आकर्षण ह्वात्तै बढेको छ भने चुनावी चर्चामा आन्दोलनका केही प्रभावशाली अगुवाहरू पनि देखिएका छन्। यो परिवर्तनको लहरका पछाडि पुराना पुस्ताका नेताहरू र उनीहरूको कार्यशैलीप्रतिको चरम वितृष्णा नै मुख्य कारण थियो।

    यही पृष्ठभूमिलाई समेटेर आजको 'भक्सपप' तयार गरिएको छ। 'चुनाव विशेष' यस शृङ्खलामा हामीले अघिल्लो पुस्ताका नेताहरूको नेतृत्वलाई आम नागरिकको नजरबाट जाँच्ने कोसिस गरेका छौँ। उनीहरूको कार्यकाललाई जनताले कसरी मूल्याङ्कन गरिरहेका छन् भन्ने विषयमा हामीले कुराकानी गरेका छौँ।

    नागरिकले फरकफरक शैलीमा एउटै कुरा भनेका छन्- पुराना नेताले आफुलाई मात्र पोसे। नेपाली जनता वास्तवमै पुराना दलहरूको कार्यशैली र परिपाटीबाट दिक्क भइसकेका छन्। आगामी निर्वाचनमा जनताले पुराना अनुहारको सट्टा नयाँ पुस्ता र नयाँ सोच भएका व्यक्तिहरूलाई हेर्न चाहेका छन्। विशेषगरी बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङ जस्ता कार्यक्षमता प्रमाणित गरिसकेका व्यक्तित्वहरूप्रति जनचासो र आशा निकै बढेको पाइन्छ।

    कतिपय नागरिकको विचारमा पुराना नेताहरूले केही विकास त गरे, तर त्यो पर्याप्त र सन्तोषजनक भएन। हाल देशमा बनेका धेरैजसो कानुनहरू नेताका लागि अनुकूल र सर्वसाधारणका लागि सास्ती दिने खालका छन्।

    अर्को ठूलो विकृति भनेको पुराना नेताहरूमा मौलाएको नातावाद र कृपावाद हो। नेताहरूले गरेका कतिपय कामहरू देश विकासका लागि भन्दा पनि व्यक्तिगत स्वार्थ र आफ्नो गोजी भर्नका लागि केन्द्रित देखिएका छन्।

    जनताको स्पष्ट मत छ– ‘अझै पनि पुरानै ढर्राका दलहरू सत्तामा हाबी भइरहे भने देश विकासको गति अगाडि बढ्न सक्दैन। अबको नेतृत्व सक्षम युवाहरूलाई सुम्पिनुपर्छ।’

    अहिले धेरै मतदाताहरू आफूले विगतमा दिएको भोटप्रति पछुतो मान्दै 'हामीले गलत व्यक्ति चुन्यौँ' भनिरहेका छन्। विधिको शासनको पालना नभएकै कारण देशको स्थिति आज यस्तो नाजुक बनेको हो। जनताको एउटै भोटले सामान्य व्यक्तिलाई उच्च स्थानमा पुर्‍याउँछ, तर विडम्बना यस्तो छ- त्यहाँ पुगेपछि उनीहरूले तिनै मतदातालाई बिर्सने गरेका छन्।

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij