काठमाडौं। कल्पना गर्नुहोस् त, यदि पृथ्वीबाट सधैँका लागि सूर्यको प्रकाश हरायो भने के होला? एकछिन सम्झिँदा मात्रै पनि अत्यास लाग्छ, होइन र? तर, पर्वतकी २९ वर्षीया सीता परियार विगत धेरै वर्षदेखि यही अन्धकारको साम्राज्यमा जीवनको रथ तानिरहेकी छिन्। उनले केवल सृष्टिको उज्यालो मात्र गुमाएकी होइनन्, उनका पैतालाले यो धर्ती टेक्न समेत पाएका छैनन्।
भनिन्छ, जीवन एउटा सरल रेखा होइन, उतारचढावको सङ्गालो हो। ठिक यस्तै अथवा योभन्दा पनि धेरै, सीताको जीवनमा आएका आँधीबेहरीहरूले जोकोहीको मुटु कँपाउँछन्। पर्वतमा जन्मिएकी उनी ६ महिनाकी दुधे बालिका हुँदा आगोमा परिन्। आगोले उनका दुवै खुट्टा खोसेर लग्यो। उनले पैताला टेकेर धर्तीको स्पर्श कस्तो हुन्छ भन्ने अनुभव समेत गर्न पाइनन्।
दुःखको पहाड यतिमा मात्र सीमित रहेन। ६ वर्षको कलिलो उमेरमा बुबाको माया हरायो, उनी ७ वर्षकी हुँदा आमाले पनि संसार छाडिन्। आमाबुबाको ममताको छहारी खोज्ने उमेरमा उनी पूर्णतः टुहुरी भइन्। ९ वर्षको उमेरमा अर्को ठुलो बज्रपात आइलाग्यो। साथीहरूसँग खेल्ने क्रममा बिरौँलाको पातले आँखामा घोच्यो। गरिबी र अभावका कारण समयमै उपचार हुन सकेन र उनको आँखामा फुलो परेर सदाका लागि दृष्टि गुम्यो।
अब सीतासँग गुमाउनका लागि बाँकी केही रहेन। आमाबुबाको देहावसानपछि हजुरआमाको संरक्षणमा उनी हुर्किइन्। तर, खुट्टा नभएकी र दृष्टि समेत गुमाएकी बालिकाका लागि त्यो जीवन निकै कष्टकर थियो। उनले कति रातहरू भोकभोकै बिताइन्, कति रात बारीका कान्लामा आकाशलाई ओढेर बिते। उनको पीडाको कथा लेख्ने हो भने एउटा सिङ्गो पुस्तक तयार हुन्छ।
कष्टकै बीच समय अघि बढ्दै गयो। कुश्मा नगरपालिकाको सहयोगमा उनलाई कृत्रिम खुट्टाका लागि पोखरा लगियो। त्यहीँबाट उनको शैक्षिक यात्रा सुरु भयो। अमरसिंह माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा सकेपछि 'चिल्ड्रेन नेपाल' नामक संस्थाको सहयोगमा उनले स्नातक तहसम्मको अध्ययन पूरा गरिन्। एक अपाङ्गता भएकी र सहाराविहीन युवतीले स्नातक तह उत्तीर्ण गर्नु आफैँमा ठुलो विजय थियो।
पढाइ सकिएपछि संस्थाले उनलाई पुनः कुश्मा नगरपालिकामै फिर्ता पठायो। तर, विडम्बना! योग्यता भएर पनि उनले आफ्नो क्षमताअनुसारको कुनै काम पाउन सकेकी छैनन्। अहिले उनी भाडाको सानो कोठामा बस्छिन्। तर भाडाको पैसा तिर्न पनि उनलाई सकस छ। वर्षदिन पुग्यो पैसा नतिरेको! रासन खर्च त उनले जसोतसो जुटाउँछिन्, टिकटक लाइभको सहारा लिएकी छिन्।
यही टिकटकको माध्यमबाट उनले 'बाल अपाङ्गता टेवा संस्था' का सीईओ डेन्डी शेर्पालाई भेटिन्। शेर्पाले सीताको अवस्था देखेर उनलाई आँखाको उपचारका लागि काठमाडौँ ल्याएका छन्। चिकित्सकहरूका अनुसार सीताको आँखाको ज्योति केही हदसम्म फर्कन सक्ने झिनो आशा पलाएको थियो। तर सीताको आँखाको उपचार सम्भव नहुने भएपछि सीता फेरि पर्वत नै फर्केकी छिन्।
सीता परियारको जीवनकथाले परिवर्तनको नारा घन्किरहेको नेपाली समाज र राजनीतिक वृत्तमा गम्भीर प्रश्न छाडेको छ– के योग्य भएर पनि अपाङ्गता भएका व्यक्ति दयाको पात्र नै बनिरहनुपर्ने हो? सीतालाई अहिले दया होइन, क्षमताअनुसारको काम चाहिएको छ। के तपाईँसँग त्यो सम्भावना छ?


