Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

कामकाजी महिला

हतारमा गीता

हतारमा गीता

बिहीबार , पुस १७ २०८२
बिहीबार , पुस १७ २०८२
  • काठमाडौँ। हरेक कामकाजी महिलाको दैनिक संघर्ष हो घर गृहस्थीदेखि कार्यालयसम्मको समय व्यवस्थापन । व्यस्तताको भुमरीमा परेर कामको चटारोमा, समयको चक्रब्यूमा हराउनु नौलो हुँदैन। 

    images

    चितवनमा जन्मेकी गीता थापाका बुबा नेपाली सेना हुन् । गीताले केही समय पुर्ख्यौली घर ओखलढुंगामा बसेर हुर्किने अवसर पाइन्। उनले अंग्रेजी साहित्यमा स्नातकोत्तर र नेपाल ल क्याम्पसबाट एल. एल. बी. गरेकी छिन् । अब उनी पूर्ण रूपमा अधिवक्ता भएकाले उनी पनि हतारोको बाटोमा निरन्तर दौडिरहेकी छिन् । उनको ऊर्जाले भरिएको दैनिकी प्रेरणादायी छ। कामकाजी महिलाको जीवनमा नियाली हेर्ने एक उदाहरण, एक ऐना बनेको छ।

    ‘बिहान यो गर्ने, त्यसपछि त्यो अनि त्यसपछि त्यो गर्ने’ अघिल्लो दिनको राति नै उनले तयार गर्छिन् कामहरूको फेहरिस्त (कामहरूको सूची) । नेपाल जस्तो समाजमा महिला भएपछि सामाजिक हिसाबले नै उनको दायित्वको सूचीमा परेको छ : झिसमिसेमै उठ्ने, छोरीको गृहकार्यमा सघाउने, छोरीलाई खुवाउने, स्कुल जानका लागि तयार गरिदिने, खाना पकाउने अनि त्यसपछि कार्यालयमा पुग्ने र त्यहाँको काम गर्ने । 

    सहर नउठ्दै सुरु भएर राती अबेरसम्म चलिरहन्छ, दौडिरहन्छ उनको दैनिकी । उनको यो दौडधुपको पछाडि लुकेको छ गहिरो समर्पण । व्यक्तिगत आराम भन्दा पनि पीडितको न्यायलाई प्राथमिकता दिन्छिन्। यही कर्तव्य बोधका कारण उनी बिरामी हुँदा पनि विश्राम गर्ने समय पाउँदिनन्; उनी हिँड्नै पर्ने अवस्था आउँछ। उनी भन्छिन् - “ मैले कुनै पनि कामहरू क्यान्सिल गर्नु हुँदैन, त्यसो गर्दा उता त जो पीडित छ उसले त न्याय पाउँदैन।”

    आफ्नो व्यावसायिक जीवनमा उनले कैयौँ व्यक्तिको पक्षमा न्याय र अन्यायको तराजु जोखेकी छिन्। उनले कैयौँलाई न्यायिक सहयोग दिएकी छिन्। गीताले हरेक लडाइँ जितेकी छैनन्, कतिपय मुद्दामा हार्नु पनि परेको छ। तर उनी हारसँग हार खाँदिनन् । उनी लडिरहन्छिन् । टेबलमा थुप्रिएका कानुनी फाइलहरू, क्लाइन्टहरूका जटिल समस्याहरू, दैनिक अदालतको यात्रा, विभिन्न क्लाइन्टहरूसँग भेटघाट र अन्य कानुन व्यवसायीहरूसँगको बहस उनका हरेक दिनका पाटाहरू हुन्। न्यायको यस यात्रामा उनी विभिन्न संघ संस्थाहरूमा पनि सक्रिय छिन्।

    घडीको अलार्म समयसँग अभ्यस्त भए जसरी गीता पनि यो हतारोसँग अभ्यस्त भइसकेकी छिन्।  सँगसँगै अभ्यस्त भइसकेका छन् उनको दैनिकीको दैनिक साक्षीहरू - उनका श्रीमान् र श्रीमानका परिवार। त्यसैले गीताको व्यस्तता अब सबैले स्वीकार गरिसकेका छन्। कानुनका किताबका ठेलीहरू जस्तै साथी बनेका छन् उनका साथमा साथ दिने उनका श्रीमान्, उनका परिवार । 

    समय व्यवस्थापनबारे उनको आफ्नै सिद्धान्त छ। उनले समय व्यवस्थापनलाई “आफैँमा भर पर्ने चिज” भनेर भन्छिन् अनि “कुनलाई कति प्राथमिकता दिने भन्ने आधारमा समय छुटाउनुपर्छ” भन्छिन्। उनी घरको लागि घरकै समय र छोरीको लागि छोरीलाई नै समय दिने गरी प्रबन्ध गर्छिन्। उनी दृढतापूर्वक भन्छिन् कि यसमा उनका श्रीमानको धेरै नै सहयोग छ। बुझकी श्रीमानले पनि उनलाई “सबै काममा पोख्त व्यक्तित्व, सबै काममा पोख्त जीवनसाथी ” को रूपमा अनुभव गरेको बताउँछन्।

    जब आत्मनिर्भरताको सपना बलियो हुन्छ, तब उनको निरन्तरको दौड दुःखमा पनि दुःख  होइन, उत्साह महसुस गर्छिन् । गीता थापा जस्ता कैयौँ कामकाजी महिलाहरू छन्, जसले घरको जिम्मेवारी सम्हालेर व्यावसायिक यात्रा पनि यसरी नै हतारमा गरिरहेका छन् र सफलताको बाटोमा लम्किरहेका छन्।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij