काठमाडौं। कर्णाली प्रदेशको मुगुमा हो उनको घर। उनी कर्णालीलाई देशको मुटु मान्छन्। आफ्नो प्यारो जन्मभूमिलाई सरकारले हेप्दा उनलाई धेरै दुःख लाग्छ। भन्छन्, 'कर्णालीलाई नहेर्नु भनेको देशलाई नै घाटा हो।'
उनको नाम अमरजंघ शाही!
अघिल्लो पुस्ताको यो अंकमा उनले माओवादी संघर्षकालका सम्झना सुनाएका छन्। गाउँमा व्यापार गर्दाताकाका दुख साटेका छन्।
अमरजंघ अहिले काठमाडौंमा एउटा गेस्ट हाउस चलाउँछन्। आफ्नो व्यावसायिक यात्राको अनुभव साट्दै कर्णालीको विकासलाई लिएर आफ्नो फरक धारणा राख्छन्। माओवादी कालमा परेको अप्ठेरो सुनाउँछन् र सुनाउँछन् सपना देख्नु पर्ने उत्प्रेरणाले भरिएको कुराहरू पनि।
मुगुको श्रीकोटमा जन्मेका उनी ०५० सालमा गमगढी सर्छन् , ०५७ सालमा नेपालगन्ज झर्छन् । अमरजंघ तीन वर्ष पहिले मात्र काठमाडौँ आइपुगेका हुन् । उनीले काठमाडौँमा आफ्नै गेस्टहाउस चलाउँछन्। नेपालगन्जमा उनको कपडा पसल छ, जसलाई उनका छोराले हेरिराखेका छन्।
अमरजंघ एकैचोटी आफ्नो संघर्षका सुरुवाती दिन पुग्छन्, त्यस बेलाको मुगु सम्झन्छन्। र सम्झन्छन् उनको व्यावसायिक यात्रा- मुगुमा उनले चलाएको खाद्यान्न किराना पसल । अहिले जस्तो त्यसताका गाउँमा बाटो पुगेको थिएन, प्लेन वा खच्चडबाट सामान झार्नु पर्थ्यो। भारी त छँदै थियो, साथमा थियो हिँड्नै पर्ने कष्ट ! त्यस बेला जुम्लाबाट मुगु जानै २ दिन लाग्थ्यो। यसबाट थाहा हुन्छ, त्यस बेलाको मुगुको जीवन !
माओवादी संघर्ष-कालमा उनीले धेरै सास्ती खेप्नुपर्यो। अन्योल नै अन्योलमा गुज्रिन्थे उनी। व्यापारी भएकाले माओवादी पक्ष धम्काएरै पैसा माग्थ्यो। यस्तो धम्की धेरैपल्ट भोगेपछि उनलाई आफू बसिराखेको ठाउँ नै छोड्नुपर्यो । “त्यो बेला सबैभन्दा बढी पिसिएको व्यापारी र किसान वर्ग नै हो” ती दिन सम्झन्छन्, “हामीलाई चन्दा माग्थे माओवादीले तर सरकार नदिन भन्थ्यो!”
यस्तो असहज अवस्थाबाट जोगिन अमरजंघ शाहीले नेपालगन्ज सर्ने निर्णय गरे। त्यहाँ १५ वटा भन्दा बढी जिल्लाबाट आएका ठुला व्यापारीबिच 'पहाडबाट झरेको सानु व्यवसायी’ आफू लाई 'सेफ' महसुस गर्थे।
उनका अनुसार राज्यले कर्णालीलाई नहेरेको हैन तर ‘बिचरा’ भावले हेर्दियो । प्लेनबाट राहत चामल भन्दा पनि त्यहाँका जनताले बाटो पाएका भए आफ्नै उत्पादन बेचेर सहज रूपमा खान सक्थे। मुगुमा २० रुपैयाँ किलोको नुनलाई १० रुपैयाँ पर्थ्यो तर राहत भन्दा बढी अवसरको खाँचो भएको उनी बताउँछन्।
अब सरकारले रारालाई व्यवस्थित गर्न सके कर्णाली अनि सिङ्गो देशको आर्थिक अवस्था सुदृढ हुन सक्ने सुझाव दिन्छन् । रारा ताल अनि कर्णाली बोकेको छ माछा, तामा, सिलाजित र अन्य जडीबुटीहरू, बालीमा फापर, कोदो, जौ र सिमी जस्ता रैथाने खाद्यान्नहरू । अनि यी प्राकृतिक स्रोतले बोकेका छन् व्यावसायिक र आर्थिक सम्भावनाहरू । तर यसरी सम्भावनालाई लत्त्याएकोमा निराशा जनाउँदै उनी भन्छन् "राज्यले जनतालाई मात्र ठगेको हैन, राज्य उल्टै ठगिएको छ।"
अन्ततः उनी देशको समग्र विकासका लागि नेतृत्व परिवर्तन हुनुपर्ने निष्कर्षमा पुग्छन्। उनी पुराना दललाई क्यान्सरको संज्ञा दिन्छन्। उनीहरूले आफ्नो ठाउँको लागि केही पनि विकासका काम नगरेको भन्छन्। र विकासका लागि नयाँ, बलियो र एकलौटी सरकार बन्नुपर्ने धारणा व्यक्त गर्छन्।
जीवनको यो कालसम्म आइपुग्दा अमरजंघले धेरै कुरा भोगिसके। दुख-सुख, हरेक पल भोगे। दुखले नै मान्छेलाई धेरै दुखाउने उनको अनुभव छ। तर उनलाई आफ्नै जीवनले सिकाएको एउटा महत्त्वपूर्ण पाठ छ। उनी घतलाग्दो तरिकाले भन्छन् -
“जीवनमा दुःखलाई सुखमा कसरी परिणत गर्ने भन्ने हामी आफूले नै ख्याल गर्नु पर्ने कुरा हो। हाम्रो काम भनेको कर्म गर्ने हो - कर्म गरे पछि त उपरवालाले पनि हेर्छन् ।”


