काठमाडौं। शान्ति र आस्थाको केन्द्र रूपमा चिनिने स्वयम्भूनाथ, जहाँ हरेक बिहान घामको झुल्कोसंगै शान्तिको धुन बज्छ ! संसारभरका मानिस शान्ति खोज्न पुग्ने त्यहि भूमीमा आफ्नो प्राण बचाउन संघर्ष गरिरहेकी धन् धनमायाले।
स्वयम्भूकाे उकालो सिढी छेउमा धनमाया तामाङ, अमलाको गन्धसँगै आफ्नो जीवनको कथा बेचिरहेकी छिन्। त्यहि गन्धसंगै हामी अल्मलियौं ! काभ्रेको पनौतीमा, माइतीबाट पाएको अंशको थोरै जग्गामा उभिएको सानो घर थियो। त्यहि सानो घरमा आफ्नो सपना सजाएकी धनमायाको जीवन, तीन वर्षअघि सम्म साधारण नदीजस्तै बहिरहेको थियो श्रीमानको गाडीको स्टेयरिङबाट आउने कमाइ र गाउँको मेलापात, बस् त्यही नै उनको संसार थियो।
धनमाया तामाङ यतिखेर श्रीमानको उपचार गर्न असम्भव भएको गुनासो गर्छिन्। उनी भन्छिन्, ‘बुढाको अपरेशन गर्न ६० लाख लाग्छ भनेको छ । मेरो खुबी नै छैन ।’ तर कहिलेकाहीँ मान्छेको जीवन यति कठोर बन्छ । त्यो कल्पना पनि गरिएको हुदैन । केहि वर्ष अघिको एकदिन उनको संसार पहिरोमा पुरियो । पहिरोले घर पुरेसंगै उनका धेरै सम्झना पुरिए । सबै सपना पुरिए । त्यहि पहिरोले थुपारेको ऋणको भारीले उनलाई थिच्यो। उक्त समयमा उनका श्रीमानको कलेजोमा समस्या देखियो । दुःखका दुई धारले एकैपटक जीवन च्यातिदियो। अनि उनको सिंगो संसार तहस नहस भयो ।
सबैतिरबाट विरक्तिएकी उनी भन्छिन् ‘खेतीपाती छैन यही अमला बेचेर श्रीमानको उपचार गरिरहेकी छु।’ उपचारको आशामा उनको परिवार काठमाडौं ओर्लियो। पाटन अस्पतालका कोरिडोरहरू अहिले उनको दैलोजस्तै बनेका छन् जहाँ महिनैपिच्छे उपचार गर्न पुग्नुपर्छ।
उनलाई अब थाहा भइसकेको छ उनको श्रीमानको समय निकै कम छ। उनी भन्छिन् ‘तीन वर्ष भयो काठमाडौं बस्न थालेको, धेरै वर्ष श्रीमान बाँच्दैनन् ।’ उनै श्रीमानको उपचारको खर्च र छोराको पढाइ खर्च जुटाउन धनमाया फुटपाथमा सानो व्यापार गर्न थालेकी हुन्। स्वयम्भूको त्यही फुटपाथ उनलाई आफ्नो कर्मथलो जस्तो लाग्न थालेको छ। त्यही फुटपाथमा धनमाया मौसम अनुसारका फलफूल बेच्छिंन । तर फुटपाथमा व्यापार गर्नु त्यत्ति सहज भने छैन्। यहाँ भाग दौडको तरिका पनि सिक्नुपर्छ । काठमाडौं महानगरको डर, स्वयम्भूका बाँदर अनि मौसमअनुसार धनमायाको भागदौड चलिरहन्छ । यही भागदौड अनुसार उनको कमाइ पनि तलमाथि भैरहन्छ ।
उनी भन्छिन् ‘अमलासंगै बदाम, सुन्ताला बेच्छौं बुढाबुढीले गरेर जम्मा २५ सय हुन्छ’ दुखाई कम भएको बेला श्रीमानले पनि धनमायालाई पसलमा सघाउछन्। घरभाडा, छोराको पढाइ, र श्रीमानको महँगो उपचार यी सबै आवश्यकताले उनलाई हरेक बिहान बेलुकी, पैसाको हिसाबले होइन, जीवनकै गणितले थकित बनाउँछ।
काठमाडौंले उनलाई धेरै सिकाएको छ । अभाव, सम्झना, बिछोड यी सबैसंग जुध्न उनले सिकिसकेकी छिन्। अचेल आफ्नो मन ढुङ्गोझैँ लाग्छ धनमायालाई। रुन हास्न बिर्सेर धनमायालाई आफ्नो श्रीमान ठिक पार्नु छ, अनि छोराको भविष्य उज्ज्वज बनाउनु छ । यो बाहेक उनका कुनै इच्छा बाकी छैनन्।


