काठमाडौ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं २ दुहबी बस्ने ३० वर्षिय पुनम देवीको जीवनले दुखद मोड लिएको छ। उनको श्रीमानको मृत्यु भएको एक महिना पुग्न लाग्यो।
सानै उमेरमा विवाह गरेकी पुनमको जीवनको संघर्ष भने ठूलो छ। उनको ३ छोरा र ३ छोरी गरेर छ जना बच्चा छन् । श्रीमानको फेक्सोमा समस्या देखिएपछि आर्थिक अभावका कारण उपचार हुन सकेन र ४० बर्षको अल्पायुमै उनको श्रीमानले यो धर्ती छोडे।
श्रीमान जीवित हुँदा मजदूरी गरेर परिवार पालिरहेका थिए। अहिले श्रीमान बितेपछि उनी विचल्लीमा छिन्। अब बाँकी जीवन कसरी बिताउने भन्ने चिन्ताले उनलाई पिरोलीरहेको छ। श्रीमानको मृत्युपछि आफ्नो रोजीरोटीको लागि पनि उनले ऋण लिन परेको छ। आर्थिक अभावले पिल्सिएकी पुनमसंग श्रीमानको मृत्युपछि गरिने १३ दिनको पुण्यतिथीको कामको लागि पनि पैसा थिएन। यद्यपि जसोतसो मृत्यु संस्कारको काम भने पूरा गरिन् ।
यो विषमपरिस्थितिमा उनले न कसैको सहयोग पाइन् न त कसैको साथ। बसोबासको लागि उनीसंग एलानी जग्गामा माटो र परालले छाएका दुइटा साना छाप्रो मात्र छन् जहाँ उनको जीवन चलिरहेको छ । उनी भन्छिन्, ‘खानेपानीको टुवेल पनि छैन । टाढाबाट पानी ल्याएर घरको काम गर्छु ।’ उनकी जेठी छोरीको उमेर पुगिसकेको छ तर नागरिकता बनेको छैन । पुनमदेवीको पनि नागरिकता नभएको कारण उनको बच्चाहरूमध्य २ जनाको मात्र जन्मदर्ता छ । उनीहरू स्कूल जान्छन् तर जन्मदर्ता नभएकै कारण अन्य दुइजना भने स्कूल जानबाट बञ्चित छन् । उनको श्रीमान छँदा श्रीमानको नागरिकताले दुइ बच्चाको जन्मदर्ता बन्यो । अहिले भने नगरको कडा नियमको कारण जन्मदर्ता बन्न सकेको छैन । वडाले श्रीमान र श्रीमती दुबैजनाको नागरिकता माग गरेको थियो । तर पुनमदेवीको नागरिकता बन्न सकेको छैन ।
आर्थिक अभावकै कारण जेठी छोरीले ५ कक्षासम्म र माइली छोरीले ४ कक्षासम्म पढेपछि उनीहरूको पढाइमा पूर्णविराम लागेको छ । उनी दुखेसो पाख्छिन्, ‘खान लाउन नै धौ धौ छ, बच्चालाई कसरी पढाउनु ?’ श्रीमान बिरामी भएपछि छोरीहरू पनि अरुको खेतमा ज्यालादारीको काम गर्न थालेका छन् । श्रीमानले पुनमको नागरिकता बनाउन खासै चासो नदेखाएकै कारण बच्चाहरूको भविष्य पनि डामाडोल रहेको उनी बताउँछिन् ।
पुनम भन्छिन्, ‘अहिलेसम्म स्थानीय निकाय र अन्य संघसंस्थाबाट केही सहयोग पाइन’ उनी सहयोग माग्न वडामा पनि गइन् तर नागरिकता नभएकै कारण वडाले पनि सहयोग गर्न मानेन । १२ हजार ऋणको बोझ बोकेकी उनलाई त्यो ऋण कसरी तिर्ने भन्ने पीर मनमा गडेको छ । त्यही ऋणको बोझले उनको रात अनिदो हुन्छ । पैसा नभएकै कारण कहिलेकाहिं घरमा खाना नपाक्दा भोको पेट समेत सुत्नुपर्छ । भोको पेट अनि अनिदो रात । अहिले उनको जीवन त्यसैगरी चलेको छ ।
उनी भन्छिन् ‘वडाले नागरिकता बनाइदिए बच्चाहरूको जन्मदर्ता बन्थ्यो अनि मैले पनि एकल महिलाको भत्ता पाउँथे’ उनको राज्यसंग यही अपेक्षा छ । उनीसंग खेतीपाती बाहेक अरू केही सिप छैन । खेतीको काम पनि सिजनमा मात्र पाउँछिन् । त्यसपछि घर बस्ने र ऋण गरेर खाने बाहेक अहिले उनीसंग अरू कुनै विकल्प छैन । आर्थिक अभावले पिल्सिएकी पुनम भन्छिन् ‘पैसा भएको भए श्रीमान बाँच्नुहुन्थ्यो । ३० वर्षकै उमेरमा एकल हुनुको पिडा कसले बुझ्ला ?’


