काठमाडौँ । इन्जिनियर शंकर नाथ रिमाल जसले नेपालको झण्डा, प्रज्ञा भवन, सहिदगेट लगायत विभिन्न राष्ट्रिय संरचनाको नक्सा बनाए । उमेर ९ दशक पार गरेका रिमालको कार्यहरूको लामो सुचि छ ।
हामीले यसपटक उनको विचार लिने जमर्को गर्यौ । हामी उनको निवास नक्साल पुग्दा उनी आराम गरिरहेका थिए । अलि अस्वस्थ्य रहेका रिमालसंग हामीले कुरा गर्ने अनुमति माग्यौं उनी सहजै राजी भए ।
उनले आफ्नो देशलाई अद्वितीय पहिचान दिएका छन् । उनले आधुनिक नेपालका धेरै संरचनाहरू डिजाइन मात्र गरेनन्, विश्वसामु नेपालको गौरव बढाउने राष्ट्रिय झण्डाको आधिकारिक मानक र ज्यामितीय स्वरूप तयार गरे । वि.स २०१९ सालअघि नेपालको झण्डा त्रिकोणात्मक र चन्द्र सूर्य अंकित भए पनि यसको आकार, अनुपात र कोणहरूमा एकरूपता थिएन । संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा जाँदा नेपाली प्रतिनिधिहरूले फरक फरक स्वरूपका झण्डा प्रयोग गर्दा नेपालको आधिकारिकतामाथि प्रश्न उठ्न थालेको थियो । तत्कालीन राजा महेन्द्रको सरकारबाट झण्डालाई वैदिक, वैज्ञानिक र व्यावहारिक आधारमा मानक बनाउने जिम्मेवारी रिमालले पाए । उनी त्यतिबेला करिब २६/२७ वर्षका युवा थिए । उनीकहाँ डा.बलराम जोशी र कृष्ण प्रसाद पन्त (संविधान मस्यौदा समितिका सदस्य) गएर आधिकारिक डिजाइन तयार गर्न आग्रह गरेका थिए ।
रिमालले झण्डाको आकारलाई प्राचीन परम्परा, धर्म र वास्तुशास्त्रका साथै आधुनिक ज्यामितिको आधारमा तयार पारे । उनले झण्डाको त्रिकोणात्मक आकार, चन्द्रमा र सूर्यको कोण (सूर्यमा १२ र चन्द्रमामा ८ कोण) सहितको विशिष्ट अनुपात निर्धारण गरे, जुन आजको संविधानमा उल्लेख छ । नेपालको झण्डामा देखिने सिम्रिक रंगको रातो रंगलाई खुसी, समृद्धि र वीरताको प्रतीक मानिन्छ । त्यस्तै निलो किनारलाई शान्ति, अनन्तता, जल र आकाशको रंग मानिन्छ । झण्डाको माथि रहेको चन्द्रमालाई करुणाको प्रतिक मानिन्छ भने तल रहेको सूर्यलाई प्रज्ञाको प्रतिक मानिन्छ । झण्डामा करुणा माथि राख्नुको कारण हो प्रज्ञा (ज्ञान) भन्दा माथि करुणा (दया)लाई महत्व दिइएको हो, किनकि करुणा नभएको ज्ञानले रावण जस्तो विध्वंशकारी रूप लिन सक्छ । चन्द्रमा र सूर्य आकाशमा रहुन्जेल नेपालको अस्तित्व कायम रहोस् भन्ने सन्देश पनि झण्डाले दिएको छ ।
उनले तयार गरेको यो डिजाइन वि.सं २०२६ सालको संविधानमा समेटिएर नेपालको आधिकारिक राष्ट्रिय झण्डाको रूपमा स्थापित भयो ।
इन्जिनियरिङ र आर्किटेक्चरमा पनि रिमालको योगदान अतुलनीय छ । उनका प्रमुख डिजाइनहरूमध्य सहिदगेट उनको पहिलो डिजाइन हो । काठमाडौंको मुटुमा रहेको यो स्मारकको वि.स २०१८ बैशाख १ गते राजा महेन्द्रले यसको उद्घाटन गर्दा डिजाइनका लागि उनलाई धन्यवाद दिएका थिए । त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठान भवनको डिजाइन उनले तत्कालीन राजा वीरेन्द्रको आग्रहमा गरेका थिए । सुरुवाती सानो बजेटलाई ठूलो सभा हलको माग अनुसार करोडौंको परियोजनामा रूपान्तरण गर्न उनले विशेष भूमिका निभाए । नारायणहिटी राजदरबारभित्रको बगैंचा, मंगल सदन र हात्ती हिँड्न मिल्ने बलियो पुलको डिजाइन पनि उनैले गरेका थिए । उनले डिजाइन गरेका अन्य महत्त्वपूर्ण भवनमा सोलटी होटल, जनकपुर चुरोट कारखाना, अमृत साइन्स कलेज, नेपाल राष्ट्र बैंक (भैरहवा र पोखरा) , परराष्ट्र मन्त्रालय र कैलालीको टीकापुर टाउन सेन्टर पनि रहेका छन् ।
व्यक्तिगत जीवन
वि.स १९९१ मा जन्मिएका रिमालले नन्दिरात्री र दरबार हाईस्कूलबाट प्रारम्भिक शिक्षा लिए । उनले कोलम्बो योजना अन्तर्गत भारतको बंगाल इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङमा स्नातक गरेका हुन् ।
उनी इन्जिनियर, आर्किटेक्टका साथै चित्रकला र मूर्तिकलामा पनि सिद्धहस्त छन् । उनी नेपाल इन्जिनियर एसोसिएसनका चार पटक अध्यक्ष भइसकेका छन् ।
९० वर्ष पार गरिसकेका रिमालले जीवनमा सुख र दुःखलाई फरक नदेखेको तर आफूले गरेका कामप्रति सधैँ सन्तुष्ट रहेको बताउँछन् । उनी आफ्नो कामलाई जन्मभूमिप्रतिको कर्तव्य निर्वाह मात्र मान्छन् ।
शंकर नाथ रिमाल त्यस्ता व्यक्तित्व हुन्, जसले परम्परागत नेपाली शिल्पलाई आधुनिक विज्ञान र गणितसँग जोडेर देशलाई अटल गौरवको प्रतीक (नेपालको राष्ट्रिय झण्डा ) प्रदान गरे ।
रिमालले बाल्यकालमा घरबाट बाहिर निस्किन पनि अनुमति लिनुपर्थ्यो । त्यसले पढ्नका लागि संस्कृत र अंग्रेजीका गुरुहरू उनको घरमै आउँथे ।
उनका हजुरबुवा शिवनाथ रिमाल राज कविराज रहेको र उनको राम्रो परिचय दरबारसम्म रहेकोले महेन्द्रसँगको पहिलो भेटमा उनलाइ कविराजको नाति भनेर चिनाइएको थियो । जर्मनीमा छात्रवृत्ति पाएका रिमालले स्नातकपछि १९५३ मा आई एस्सी पास गर्ने लगभग सबै विद्यार्थीले छात्रवृत्ति पाएको र आफू जर्मनी जानुअघि नै सहिदगेटको नक्सा बनाइसकेको बताए ।
उनको पहिलो औपचारिक प्रोजेक्ट भक्तपुरको गुन्डु भन्ने ठाउँमा बनाएको सानो कंक्रिटको पुल हो । सहिदगेट निर्माण गर्दा सुरुमा गेट तीन लेनको मोटर बाटो भएको प्रवेशद्वार जस्तो बनाउने योजना थियो । तर, भविष्यमा बाटो विस्तार गर्न नमिल्ने देखेर अन्तिममा अहिलेको जस्तो गोलो स्मारक बनाएर दुईतिरबाट गाडी हिँड्ने गरी डिजाइन गरिएको थियो ।
राजा महेन्द्रले सुरुमा ५ हजारमा बनाउनु भने पनि यसको लागत १ लाख रुपैयाँ भन्दा बढी लागेको थियो ।
जर्मनीमा थप अध्ययनका लागि छात्रवृत्ति पाएपछि सहिदगेटको काम आफ्ना भाइ इन्जिनियर गौरीनाथ रिमाललाई सुम्पेर गएका थिए ।
त्यस्तै प्रज्ञा भवनको नक्सा निर्माण गर्ने क्रममा बजेट अनुमानित लागत १८ लाखमा सुरु भएको काम, ठूलो हलको आवश्यकताका कारण १ करोड ४५ लाखसम्म पुगेको (जुन बेला १ करोड धेरै ठूलो रकम थियो) र अन्तिममा ९५ लाखमै काम सिध्याएर ५ लाख रुपैयाँ फिर्ता गरेको कुरालाई उनले आफ्नो कामको सफलताका रहेको बताएका छन् ।
त्यसैगरी भवन बनाउँदा बाँकी रहेको १० टन फलाम र चाहिनेभन्दा बढी ल्याइएकामध्ये ३ सय वटा कुर्सी समेत दरबारमै फिर्ता पठाएको कुरा उनले बताए ।
रिमालले नेपालमा मात्रै हैन नेपाल बाहिर पनि आफ्नो विशिष्ट योगदान पूर्याएका छन् । उनले सिंगापुरमा रहेको विष्णु मन्दिरको पनि डिजाइन गरेका थिए ।
देश र विदेशमा यति धेरै योगदान पू¥याएका रिमाललाई जीवनको यो मोडसम्म आईपुग्दा आफूले गरेका कामप्रति गर्भ महसुस त हुन्छ तर पछिल्लो समय सरकारले आफ्नो कामको कदर नगरेको हो कि भन्ने सन्देह पनि मनमा छ ।


