काठमाडौँ । एसियाकै पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्माको संघर्ष सानो छैन । उनको जीवनको सघर्ष अभावसँग जुधेर, पुरुषप्रधान समाजको चुनौतीलाई पन्छाएर टेम्पोको स्टेयरिङ समात्ने एउटा साहसी महिलाको कथा हो । एसियाकै पहिलो महिला टेम्पो चालकको रूपमा चिनिए पनि उनको परिचय एउटा उद्यमी र प्रेरणाको स्रोतको रूपमा पनि उत्तिकै बलियो छ ।
सन् १९८० को दशकको कुरा हो, जतिबेला महिलाले साइकल चलाउनुलाई पनि ठूलो कुरा मानिन्थ्यो । व्यक्तिगत जीवनमा ठूलो चुनौती आएपछि र तीन छोरीको जिम्मेवारी बोक्नुपर्ने भएकोले लक्ष्मी शर्माले आम्दानीको बाटो खोजिन् । उनले आफ्नी साईली आमाबाट ३६% को ब्याजदर मा १० हजार रुपैयाँ ऋण लिएर टेम्पो व्यवसाय सुरु गरिन् । टेम्पो राम्रो व्यवसाय हो, नाफा कमाउन सकिन्छ भन्ने लक्ष्मीको सोच थियो । सुरुमा उनले पाँचवटा टेम्पो किनेर चालकहरूलाई चलाउन दिईन् । तर चालकहरूले पैसा नदिने र बदमासी गर्ने क्रम बढेपछि उनले त्यसमा घाटा बेहोर्नुप¥यो ।
यहीँबाट उनको जीवनले अर्कैै मोड लियो । घाटाबाट बच्न र आफ्नो व्यवसाय बचाउन, लक्ष्मीले आँट गरिन् । उनले कसैको सहयोगबिना नै टेम्पोको मेकानिकल काम सिकिन् र आफैँ चालकको सिटमा बसिन् । टेम्पो चलाउनु उनको लागि व्यवसाय मात्र थिएन, अस्तित्वको लडाइँ पनि थियो ।
सुरुमा त उनलाई टेम्पो चलाउन लाइसेन्स चाहिन्छ भन्ने ज्ञान समेत थिएन, जसका कारण एकपटक उनको टेम्पो ट्राफिकले जफत पनि ग¥यो । यद्यपि हार नमानी उनले २०४१ साल चैत्र १४ गते औपचारिक रूपमा लाइसेन्स प्राप्त गरी सडकमा महिला चालकका रूपमा आफ्नो अधिकार स्थापित गरिन् । सडकमा उनको यात्रा सहज थिएन । महिला चालक देख्दा यात्रुहरूले जिस्काउने, पैसा नदिई भाग्न खोज्ने गर्थे ।
एकपटक त उनले टेम्पो नम्बर २५४ लाई बेलुका ५ बजेपछि महिला यात्रुहरूका लागि मात्रै छुट्याउँदा गुन्डाहरूको समूहले उनीमाथि सांघातिक आक्रमण समेत गरे । तर, यी सबै दुव्र्यवहार र अपहेलनाका सहेर पनि उनी अघि बढिरहिन् ।
केही समयपछि, अरूले नै पहिलो टेम्पो चालक भएको दाबी गरेपछि, लक्ष्मी शर्माले सरकारी निकायमा प्रमाणसहित उजुरी दिइन् । अन्ततः सरकारले उनको योगदानलाई कदर गर्दै नेपालको पहिलो महिला टेम्पो चालकको आधिकारिक सम्मान प्रदान गर्यो ।
लक्ष्मीले आफूलाई चालकको रूपमा मात्रै सीमित राखिनन् । टेम्पो चालकको अनुभवपछि उनले बसुन्धारामा ‘लक्ष्मी उड क्राफ्ट उद्योग’ स्थापना गरेर एक सफल उद्यमीको रूपमा पनि आफूलाई स्थापित गरिन् । आज उनकै प्रेरणाले गर्दा नेपालमा ६० देखि ७० जना महिलाहरू यातायात क्षेत्र (ट्याक्सी, बस) मा काम गरिरहेका छन् ।
‘धर्म गर्न कासी जानु पर्दैन, धन कमाउन लाहोर जानु पर्दैन, आफ्नो देश विकास गर्न राजनीतिक बन्नु पर्दैन’ उनी भन्छिन्, ‘अति महत्त्वाकांक्षी नभई (आतले नसकेको दातले च्याप्नु भएन) सानो लगानीमा अचार र गुन्द्रुक बनाउने जस्ता काम सुरु गर्दा पनि सफलता पाउन सकिने उनी बताउँछिन् ।
लक्ष्मीको जीवन एउटा ज्वलन्त उदाहरण हो साँचो साहस र आत्मविश्वास भएमा कुनै पनि महिलाले इतिहास रच्न सक्छन् ।


