Logo

शनिबार, भदौ ६ २०८३

शनिबार, भदौ ६ २०८३

सोचे जस्तो हुन्न जीवन...

सोचे जस्तो हुन्न जीवन...

आइतबार, कात्तिक ९ २०८२
आइतबार, कात्तिक ९ २०८२
  • काठमाडौँ । तरादेवीको स्वरमा एउटा गीत छ ‘सोचे जस्तो हुन्न जीवन..’ मीना पराजुलीको जीवन यही गीतसंग मिल्दोजुल्दो छ । उनको जीवन असाधारण महिलाको जीवन हो  जसले शिक्षिका बन्ने आफ्नो सपना त्यागेर डिएमडी अर्थात् ‘मस्कुलर डिस्ट्रफी’ बाट ग्रसित दुई छोरा र दृष्टिविहीन श्रीमानको सहारा बन्न पुगेकी छिन् । विवाहको सात वर्षपछि सुरु भएको यो सङ्घर्षले उनको २९ वर्षको जीवनको सबैभन्दा ठूलो परीक्षा लिएको छ ।

    images

    मीना पराजुलीले मकवानपुर जिल्ला, हेटौंडा नगरपालिकाको नवलपुरमा जन्मिएर शिक्षा संकाय अन्तर्गत जनसंख्या विषय लिएर स्नातक अध्ययन गरिरहेकी थिइन् । उनको सपना कलेजमा पढाउने र एक सफल शिक्षिका बन्ने थियो । १९ वर्षको उमेरमा इलामका प्रेम अधिकारीसँग मागी विवाह भयो । श्रीमान् विदेशमा भएकाले विवाहपछि विदेश जाने र पढाइलाई निरन्तरता दिने उनको योजना थियो । तर सोचे जस्तो कहाँ हुँदोरहेछ र । विवाह भएको एक वर्षभित्रै पहिलो सन्तानको रूपमा छोरा आरम्भको जन्म भयो ।  सात वर्षसम्म उनीहरूको जीवन हर्षोल्लासका साथ बित्यो ।

    त्यसपछि अप्रत्याशित रूपमा जीवनमा एकपछि अर्को समस्याहरू थपिदैं गए । श्रीमानको भिसा रद्द भएपछि विदेश जाने योजना पूरा भएन र उनीहरू काठमाडौँमै बस्न थाले । छोरा आरम्भलाई हिँडडुलमा असहज भएपछि डाक्टरलाई देखाउँदा उनलाई डुचेन मस्कुलर डिस्ट्रोफी रोग लागेको पत्ता लाग्यो । यो रोग छोराहरूमा वंशाणुगत हुने भएकाले लगत्तै कान्छा छोरा अध्यायलाई पनि जाँच गराउँदा सोही रोग पुष्टि भयो ।

    श्रीमान् प्रेम अधिकारीलाई पनि मधुमेहका कारण आँखाको समस्या बढ्दै गयो र अहिले उनी पूर्ण रूपमा दृष्टिविहीन छन् । आफ्नो अधुरो सपना बारे सुनाउँदै उनी भन्छिन् ‘एउटा शिक्षिका बन्छु भन्ने भविष्यको सपना देखेको थिएँ... कहाँबाट कहाँ पुगें, त्यो कल्पनाभन्दा बाहिरको सोचाई भयो । यो कहालीलाग्दो दिन आउँछ भनेर मैले कहिल्यै सोचेकी पनि थिइनँ ।’मीनाको काँधमा दुई अशक्त छोरा, दृष्टिविहीन श्रीमान् र सानी छोरीको जिम्मेवारी छ ।

    विगत १३ वर्षदेखि उनको दैनिकी यी चार सदस्यको स्याहार र रेखदेखमै केन्द्रित छ । उनी बिहान उठेर घरधन्दा गर्नुका साथै श्रीमानसँग मर्निङ वाक जान्छिन्, छोराहरूको थेरापी गराउँछिन् र खाना बनाउँछिन् । मस्कुलर डिस्ट्रोफीका कारण छोराहरू (१९ वर्षीय आरम्भ र १५ वर्षीय अध्याय ) हिँडडुल गर्न, शौचालय जान र बस्न पनि सक्दैनन् । मीनाले हरेक क्रियाकलापमा उनीहरूलाई बोकेर लैजानु पर्छ । ।श्रीमान् दृष्टिविहीन भएकाले उनको हरेक गतिविधिमा पनि मीनाको सहारा चाहिन्छ । उनी भन्छिन् ‘घरमा सबैजना थला परेको ठाउँमा रमाइलो भन्ने कुरा नै हुदैंन रहेछ ।’ ११ वर्षीया छोरीले पनि बुझ्ने भएर दाइहरूलाई सघाउने प्रयास गर्छिन् ।

    मीना छोराहरूलाई नियमित थेरापी गराएर, क्याल्सियम, प्रोटिनयुक्त खानेकुरा दिएर र बाहिरको खानेकुराबाट टाढा राखेर रोगको गतिलाई कम गराउने प्रयास गरिरहेकी छिन्, जसले गर्दा उनीहरूको जीवन केही लामो होस् । यो पीडादायी अवस्थामा मीनाको परिवार आर्थिक रूपमा कमजोर बनेको छ ।  श्रीमानको सबै कमाइ उपचारमा खर्च भयो र अहिले उनीहरू आफन्तको शरणमा बसेका छन् । मीनाका श्रीमान् र आफ्ना स्कूलका साथीहरूले आर्थिक सहयोग गरिरहेका छन् । उनलाई दुःख लाग्छ कि उनी आफ्नै कमाइमा बाँच्न चाहन्छिन्, तर अहिले अरूसँग हात फैलाउनु परेको छ ।

    उनीहरू पहिले पूर्वप्रधानमन्त्री प्रचण्डको छिमेकमा बसे र अहिले अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको छिमेकमा बसिरहेका छन्, तर स्थानीय तह र नेताहरूबाट उनले कुनै सहयोग पाइनन् । स्वास्थ्यमन्त्री हुँदा भेटेका गगन थापाले आश्वासन मात्रै दिए । मीनालाई आफ्नो शरीरले कतिञ्जेल थेग्छ भन्ने चिन्ता छ । उनी भन्छिन्, ‘ आफू त बाँचिएला, तर दुई–दुईटा छोराहरूको के हुन्छ भन्ने डरले सताउँछ ।’

    मीनालाई अहिले दुई चीजको आवश्यकता छ ।  निरन्तर आर्थिक सहयोग र सहज बासस्थान । उनी छोराहरूलाई तेस्रो तल्लाबाट निकालेर कम्तीमा भुइँतलामा राख्न चाहन्छिन्, जहाँ उनीहरूलाई स्याहार–सुसार गर्न सजिलो होस् । मानिसको जीवनमा जस्तो सुकै परिस्थिति भए पनि बाच्नै पर्ने रहेछ, परिस्थितिसँग जुध्नै पर्ने रहेछ । जीवनमा आफूले सोचेजस्तो हुँदैन, यो अप्ठ्यारै रहेछ ।

    मीना पराजुली यति संर्घष गर्दा पनि हरेस नखाने एउटा बलियो खम्बा हुन्, जसले आफ्ना परिवारको लागि जीवनलाई सहज बनाउन हरसम्भव प्रयास गरिरहेकी छिन् ।

        

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij