काठमाडौँ। फ्लोरिकल्चर एशोसिएसन नेपालले जावलाखेलमा ‘गोदावरी पुष्प मेला’ आयोजना गरेको थियो। त्यही हामीले भेट्यौ बनस्थली बस्ने कुसुम बुढाथोकीलाई । युवाहरू धमाधम विदेशिने होड चलिरहेको बेला युवा अवस्थाकै कुसुम भने देशमै केही गर्ने उदेश्यले पढ्दै गरेको चिकित्सा विज्ञान छोडेर सिधै कृषि क्षेत्रमा लागिन्। उनलाई सुरु देखि नै कृषि र यसका उत्पादनमा धेरै रुचि भएपछि उनले आफ्नो पढाईको बाटो मोडिन्। नेपालमा फूल उत्पादनको क्षेत्रमा प्रविधिबाट हुन सक्ने फाइदालाई व्यवहारत कार्यान्वयन गर्ने र गर्न सिकाउने तय गरिन् ।
उनी यतिबेला क्रप प्रो टेक नेपालमा काम गर्छिन् । यो कम्पनीले फूलका बिउ नेपाल भित्र्याउने देखि फूल उत्पादनका लागि आवश्यक मल र साधनहरुको व्यावसाय गर्दछ । कुसुमले पनि पूराना स्थानीय फूलका बिउमा नयाँ प्रविधि अपनाइ अझ आकर्षक कसरी बनाउन सकिन्छ भन्ने शिक्षा र जानकारी यो मेलामा दिईरहेकी थिईन् ।
फूलको बिउहरू विदेशबाटै आउँछन् । तर त्यसरी बिउ ल्याउन सहज छैन। बिउ ल्याउनको लागि पहिला सरकारी क्षेत्रमा दर्ता गर्नुपर्ने हुन्छ। नेपालको वातावरणमा त्यो बिउ कतिको सुहाउँदो छ भनेर परिक्षण गर्नुपर्छ। त्यो परिक्षण सफल भएपछि मात्र विदेशबाट बिउहरू ल्याउन पाईन्छ। अहिले सरकारी निकायले पनि पहल गरेको हुनाले फूलचाहि यही उत्पादन हुन्छ । सरकारी निकायबाट पनि फूल उत्पादनलाई प्रोत्साहन भईरहेको छ। वनस्पती रोग विज्ञान सम्बन्धी पनि कुसुमको धेरै रूचि छ । त्यसैले पनि भविष्यमा यही क्षेत्रलाई निरन्तरता दिने उनको विचार छ ।


