Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

आन्दोलनमा भारतीयले फलफूल बेच्दा बेच्दै...

आन्दोलनमा भारतीयले फलफूल बेच्दा बेच्दै...

सोमबार, असोज १३ २०८२
सोमबार, असोज १३ २०८२
  • काठमाडौँ । सिंहा देवी, भारतको मोतीहारी जिल्ला नरकटिया भन्ने स्थानबाट नेपाल आएर बसोबास थालेको १५ वर्ष नाघिसक्यो । भारतमा उनको भर्खर भर्खरै मात्र बिहे भएको थियो । नयाँ दुलही भएता पनि उनले विहेको पहिलो दिनदेखि नै आर्थिक समस्या झेल्नुप‍¥यो । श्रीमान मोतीहारीमा सामान्य ज्यालादारीको काम गर्थे । उनको औसत कमाइले घरधन्दा चलाउनै मुस्किल भएपछि सिंहा देवीले पनि गृहस्थीसंगै काम पनि गर्ने निधो गरिन् । त्यसपछि यो दम्पती नेपाल आएर जिविकोपार्जन गर्दै बस्न थाले ।

    images

    सुरुका दिन सिंहा देवीलाई नेपाल र नेपालीहरुको स्वभावले आश्चर्य तुल्यायो । उनी भन्छिन्, ‘यहाँको परिवेश र बोलीचालीका कारण मलाई निकै गाह्रो भयो ।’ केही वर्ष उनलाई नेपालमा रमाउने वातावरण नै मिलेन । भाषा र भेषभुषाले गर्दा उनको छिमेकीसंग आत्मीय सम्बन्ध छिट्टै बन्न सकेन । तर यो दूरी कम गर्न उनले हिम्मत भने हारिनन् । उनले यहाँको भाषा पनि सिकिन् अनि काम पनि । श्रीमानसंग मिलेर उनले सडक पेटीमा फलफूलको व्यापार गर्न थालिन् ।

    सिंहा देवीले नेपालमै आएपछि तीन सन्तान जन्माइन् । उनीहरु सबैजना सरकारी विद्यालय पढ्छन् । उनीहरुको पढाइको खर्च निकाल्न पनि सिंहा देवीलाई काम गर्नै पर्ने बाध्यता छ । श्रीमानको एक्लो कमाइले खान लगाउन ठिक्क हुने कुरा उनी बताउँछिन् ।

    उनी यतिबेला काठमाडौंको बसन्तपुरमा डेरा गरी बस्दै आएकी छिन् । बसन्तपुरमा डेरा भएपनि उनको व्यापारिक क्षेत्र भने बानेश्वर आसपास नै हो । गत भदौ २३ गते जेन जीको आन्दोलनका क्रममा फलफूल व्यापारमा भ्याइनभ्याइ थियो उनलाई । उनी आन्दोलनमा आएका प्रत्येक युवाहरुलाई उनीहरुकै चाहना अनुसार फलफूल काट्दै प्लेटमा सजाएर नुन मसला छर्केर दिँदै गरेको बेला हाम्रो भेट भयो । सुरुमा हामीसंग खुलेर कुराकानी गर्न इच्छुक नदेखिएकी सिंहा देवीलाई आन्दोलनले छोराछोरीको पढाइ बिग्रिएकोमा चित्त बुझेको थिएन । हामीसंग गुनासो गर्दै उनी भन्छिन्, 'आन्दोलनकै कारण विद्यालय बन्द भयो । हाम्रो व्यापारका लागि यो समय सही भएर के गर्नु, छोरा छोरीको पढाइ बिग्रिएको छ ।'

    आन्दोलनमा युवाहरुको नाराबाजी उग्र हुँदै थियो भने उनी पनि मूल सडकबाट अब पेटीमा ठेला सार्छिन् । आज उनलाई सघाउन उनका छोरा पनि साथ साथै रहेछन् । काटेको फलफूल व्यापार गरेको केही घण्टा हुँदै थियो, बानेश्वरमा अवस्था अराजक बन्ने छाँटकाँट पाएपछि उनले पनि हामीसंगको कुराकानी छोट्याइन् । उनलाई यस्ता आन्दोलनका बेला, व्यापार गर्न समयले सिकायो । उनलाई यतिबेलासम्म आफ्नो सुरक्षाको ख्यालै थिएन, उनको ध्यान केवल आज कमाएर साँझको भान्सा टार्नेतिर थियो । अनि आन्दोलनका कारण बन्द बजारमा आफूले कसरी व्यापार गर्ने भन्ने चिन्ता उनको अनुहारमा प्रष्टै झल्किन्थ्यो ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij