काठमाडौँ । आज निजामती सेवा दिवस। मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन्।
विसं २०१२ भदौ २२ गते निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको थियो । यसै दिनको स्मरण गर्दै हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाइने गरिएको छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गते देखि मात्र औपचारिक रूपमा निजामती दिवल मनाउन थालिएको हो।
राजनीति हाँक्ने जिम्मेवारीमा रहेको राजनीतिक नेतृत्वलाई नीति निर्माणमा परामर्श दिने र बनेका नीति–नियमलाई कार्यान्वयन गरी नागरिकलाई सरल र सहज रूपमा सेवासुविधा उपलब्ध गराउनु नै निजामती कर्मचारीको प्रमुख जिम्मेवारी हो ।
निजामती दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सिंहदरबारबाट प्रभातफेरी कार्यक्रम आयोजना गरी न्यूप्लाजा, प्रदर्शनीमार्ग हुँदै नेपाल पुलिस क्लब पुगी मूल समारोहमा परिणत भएको थियो
निजामती सेवामा रहेका करिब ८५ हजार कर्मचारीका लागि यो दिवस ठूलो उत्सवको रूपमा मान्न सकिन्छ । निजामती सेवा दिवस मनाउन मुख्यसचिवको अध्यक्षतामा गठित मूल समारोह मातहतका उपसमितिबाट स्वास्थ्य शिविर, वृक्षारोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तरक्रिया, झाँकी प्रदर्शनी, र्याली, दीपावलीजस्ता कार्यक्रम तय गरिएको छ ।


