काठमाडौँ। काभ्रेको बासडोल त्यो गाउँ हो जहाँ सरू गौतमले बाल्यकाल बिताइन्। बालापन भने पनि, त्यो उमेर रमाइलो खेलौनाभन्दा बढी आँसु र पीडाले भरिएको थियो। ४२ वसन्त पार गरिसकेकी उनी जब आफ्ना स्मृतिका पानाहरू पल्टाउँछिन् तब प्रत्येक पाना आँशुको दागले रङिएको देखिन्छ। सानैदेखि कमजोर आँखा भएकी सरूको पढाइ नौ कक्षामा अडियो। शरीर रोगसँग जुधिरहँदा मन भने परिवारको विखण्डनले थिचिरह्यो। आमा पक्षघातले थला परिन् , बुबा अर्को घरको खोजीमा लागे। बालापनको कोमल मनमा त्यो विभाजनले गहिरो खाडल खनेर गयो।
२०६३ सालमा उनको आमा यो संसार छोडेर गइन्। सात वर्षपछि, २०७० मा, बुबाले पनि आत्महत्याको बाटो रोजे। देवघाटको नदी किनारमा भेटिएको बुबाको निस्सासिएको शरीर अझै उनको स्मृतिमा ताजा छ। किन आत्महत्या गर्नुभयो भन्ने प्रश्नको जवाफ भने आजसम्म उनले पाएकी छैनन्। बुवाले कुनै समय उनलाई ५० हजार रुपैयाँ दिएका थिए। सानी आमाको आँखा छलेर दिएको त्यो पैसा उनले फिर्ता गर्न सकेकी थिईनन्। बुवालेचाहिँ सानी आमालाई छोरीले पैसा फिर्ता गरिसकेको कुरा भनेका थिए। कतै त्यही आफूले बोलेको झुटले सताएर बुवाले आत्माहत्या गर्नुभएको त हैन भनेर उनलाई सधैं पिरोलीरहन्छ।
उनको बाल्यकालमा रमाइलो भन्ने शब्द विरलै आयो। दशैंमा बुबाले ल्याइदिएको घडी उनको लागि अनमोल थियो, तर सानी आमाको तिक्त वचन ‘बाँदरको हातमा नरिवल' ले त्यो क्षणलाई समेत चोटिलो बनाइदियो। जीवनको थकाइले उनलाई बासडोल छोड्न बाध्य गर्यो। बासडोल छोडेर उनी फुपुको साथमा लागेर बारा जिल्लाको कलैयामा पुगिन्। फुपुको घरमा बिताएका केही वर्ष उनको जीवनको सबभन्दा उज्यालो पल ठहरिए। तर,त्यो उज्यालो लामो समय टिक्न सकेन। कलैयाबाट फर्केको केही वर्षमा उनको विवाह भयो। विवाहपछि नयाँ आशा लिएर घर छाडेकी उनले फेरि सङ्घर्षको घेराभित्र आफूलाई भेटिन्।
विवाहपछि आर्थिक अभावको चपेटामा परेकी उनलाई बहिनीले दशैंको बेला आफ्नो तलहरी बेचेर दशैं मनाउन पैसा दिएको पल आजसम्म ताजा छ। आज, सङ्घर्षका ती कालो बादल केही हटेका छन्। जीवन केही सहज भएको छ। तर, उनका आँखामा अझै एउटा डर झल्किन्छ।‘भोलि फेरि के हुन्छ? के जीवनले फेरि अर्को चोट दिन त खोजेको छैन? ’ सरूको कथा एउटा स्त्रीको मात्र कथा होइन, यो जीवनले मान्छेलाई कति पटक परिक्षा दिन सक्छ भन्ने सजीव उदाहरण हो। आँसुले भिजेको बाल्यकालदेखि लिएर धैर्यले उभ्याएको वर्तमानसम्म, उनको यात्रा संघर्षकै प्रतिमा बनेर उभिएको छ।


