काठमाडौँ। आफ्नो १४ वर्षीय छोरा किरण कोलीको करेन्ट लागेर मृत्यु भएपछि मृतककी आमा राजमती कोली न्यायका लागि भौतारिरहेकी छिन्। आजभन्दा पाँच वर्ष पहिला श्रीमान गुमाएकी राजमतीलाई अहिले पीडामाथि पीडा थपिएको छ ।
किरण गत साउन १७ गते घर नजिकैको घाटबगड भन्ने स्थानमा बालुवाको थुप्रोमा खेल्न गएका थिए । विद्युतको पोल र तारमुनि थुपारिएको बालुवामा खेल्दा किरणलाई करेन्ट लागेको र सोही कारणले उनको मृत्यु भएको थियो । त्यस दिन छोरालाई किताब पढ्न लगाएर राजमती गिट्टी कुट्न गएकी थिइन् । उनले घर फर्किँदा किरणलाई करेन्ट लागेको कुरा सुन्दा उनी बेहोस भइन् । यता करेन्ट लागेका किरणलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
किरणको मृत्युपछि पाँच लाख रुपैयाँ क्षतिपुर्ती दिने सहमतिमा घटना मिलाएको राजमतीको गुनासो छ । छोराको मृत्युको पीडामा छटपटिएकी उनलाई त्यो सहमतिका विषयमा थाहा थिएन । उनका कान्छा ससुरा हरिचन्द्र कोलीको रोबरमा पाँच लाख रुपैयाँ क्षतिपुर्ती दिने सहमतिपछि मृतकको दाहसंस्कार गरिएको थियो ।
राजमतीले आफ्नो खातामा पाँच लाख रुपैयाँ जम्मा भएको तब थाहा पाइन् जब साहु उनको घरमा पैसा माग्न आए । उनले भनिन् ‘मैले ऋण तिर्नुपर्नेछ । एकजना साहु आएर तिम्रो खातामा पैसा आएको छ । मलाई पैसा दिनुपर्यो भनेपछि मात्रै खातामा पैसा आएको छ भन्ने कुरा थाहा पाएकी हुँ ।’ उनले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्रबहादुर पालको कम्पनीले सङ्कलन गरेको बालुवाको थुप्रोका कारण आफ्नो छोराको ज्यान गएको आरोप लगाएकी छन् । बालुवा थुपार्ने कम्पनीका मालिक र त्यसमा संलग्नलाई कानुनी कारवाही हुनुपर्ने भन्दै उनले मन्त्री पाल, उनका छोरा मुकेश पाल र वडा नं ३ का अध्यक्ष रघुवीर बोहराको नाममा किटानी जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालयमा पुगिन् । तर प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेको उनको आरोप छ । प्रहरीले किटानी जाहेरी दर्ता नगरेपछि आफूले हुलाकबाट किटानी जाहेरी पठाएको उनले बताइन् ।
किरण कोली मृत्यु प्रकरणमा खगेन्द्र सुनार नामक फेसबुकबाट मन्त्रीको गाडीले किचेर कोलीको मृत्यु भएको अफवाह फैलाइएको थियो । तर किरणको मृत्यु करेन्ट लागेर भएको कुरा मृतककै आमाले भनेकी छन् । यस्तै एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ जिल्ला कमिटी बैतडी, अनेरास्ववियु बैतडी र मुक्ति समाज नेपाल, बैतडीले छुट्टाछुट्टै विज्ञप्ति निकालेर अफवाह फैलाउने खगेन्द्र सुनारलाई कारवाही गर्न माग गरेको छ । यस्तै सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालको सचिवालयले पनि विज्ञप्ति निकालेर खगेन्द्र सुनार नामक व्यक्तिले अफवाह फैलाएको जनाएको छ । उनले लेखेको स्टाटसको खण्डन गर्दै कानुनी प्रक्रियामा अघि बढ्ने बताइएको छ ।
न्याय ढिलो भए पनि सम्भव छ। किरण फर्किने छैनन् तर उनको मृत्यु पछि पनि दोषीलाई कारबाही गरी न्यायको आरम्भ होस् भन्ने आमाका संकल्प चाँडै पूरा होस् ।


