काठमाडौँ । ७७ वर्षीया गोमा चौलागाईँको जीवन एक अनन्त संघर्षको कथा हो । सिन्धुपाल्चोकको घरबाट उनी आज छोराले बनाएको घरको सानो कोठामा बस्छिन् । दिनभरि नाङ्लोमा सामान राखि कुनामा पसल सिँगारी बस्ने उनको तीन वर्षको यात्राआर्थिकभन्दा बढी आत्मसम्मानको प्रतीक बनेको छ । तर, सुख भने उनले कहिल्यै चाख्न पाइनन् । बटुवाहरुले 'नाफा खान बस्ने' भनेर कटाक्ष गर्दा पनि उनी मौन हाँसोले जीवनलाई सम्हाल्छिन् । कहिले दुई सय, कहिले तीन सय, कहिले त एक रुपैयाँ पनि नकमाउने उनको दिनचर्या अनिश्चिततामा टिकेको छ । व्यापारको कुरा एकातिर उनलाई आर्थिक त के पारिवारिक सम्बन्धले पनि उनलाई कहिलेकाहीँ निकै पिडा दिन्छ ।
४५ वर्षको उमेरमै उनले छोरालाई गुमाउनु भनेको उनको बुढेसकालको सहारा ढल्नु थियो । दशजना सन्तानमध्ये आज दुई छोरा र एक छोरी मात्रै बाँकी छन् । त्यो पनि नियतिले बारम्बार छिनिरह्यो । एकैदिन दुई छोराको मृत्यु, विवाह गरेर पठाएको छोरीको मृत्यु कहाली लाग्दो थियो । उनको एक छोरी अहिले छिन् जसलाई उनले ४५ वर्षको उमेरमा मनकामनामा भाकल गरेर पाएकी थिइन् । छोराको उपचारमा काठमाडौँ आउँदा जिन्दगीभरको सम्पत्ति सकियो, छोरा भने बचेनन् । त्यो पीरले उनलाई पनि रोगले च्याप्यो र प्रेसरले गाँजेर आज एउटा आँखा बन्द भएको छ ।
गोमाको जीवन सधैं संघर्षले भरिनै रह्यो । श्रीमानको पहिलो श्रीमतीको छायामा बिताएको वर्ष, अंशका लागि मुद्दा लडेर जितेको विद्रोहीपन, समाजसँगै लड्ने साहस आदी सबै कुराले उनलाई बलियो बनाए पनि मनभित्रको पीडाले उनलाई निरीह पार्दैै गएको छ । बुढेसकालमा छोरासंग पैसा माग्दा ‘के काम छ बुढी मान्छेलाई’ भन्ने छोराको वचनले उनी भित्रभित्रै भाचिन्छिन् । उनी भन्छिन् ‘सबैभन्दा पैसा चाहिने त यही उमेरमा हो । औषधि किन्ने बेला, पाहुनाको सत्कार गर्न बेला पैसा चाहिन्छ' उनको वाणी जीवनको यथार्थ बनेर आउँछ ।
भूकम्पमा नागरिकता हराएपछि उनले वर्षौँ वृद्धभत्ता पाउन सकेकी थिइनन् । अब तीन वर्ष भयो, उनले भत्ता पाउन थालेको । तर जीवन चलाउन त्यो पर्याप्त छैन । खुला आकाशमुनि पसल राख्ने उनलाई मौसमले पटक पटक चुनौती दिन्छ । तर उनी हार मान्दिनन् । दिउँसो एक बजेबाट साँझसम्म ग्राहकको पर्खाइमा बसिरहन्छिन् । उनको जीवनमा धेरै ईच्छा अधुरा भए । विशेषगरी तीर्थ जाने सपना श्रीमान बितेपछि अधुरै रह्यो । ‘त्यहाँ पुग्न पैसा पनि चाहिन्छ, मन पनि चाहिन्छ, जुन मेरो लागि जुर्न सकेन,’ उनी वेदना पोख्छिन् । तर, गोमाले आफ्नो सानो पसललाई जिउनुको आश्रय बनाएकी छिन् । यो उमेरमा उनले सिकाएको आत्मनिर्भरताको पाठ कतिजनालाई प्रेरणा बन्ला ? हामीलाई कमेन्ट बक्समा प्रतिक्रिया दिन नभुल्नुहोस है ।


