Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

दलित बालक मृत्यु प्रकरण

मन्त्री मुछिएपछि घटना सामसुम

मन्त्री मुछिएपछि घटना सामसुम

आइतबार, भदौ ८ २०८२
आइतबार, भदौ ८ २०८२
  •  काठमाडौँ । पछिल्लो समय उच्च पदस्थहरु विभिन्न आरोपमा मुछिरहँदा  सुदूर  पश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाललाई संगीन आरोप लागेको छ ।  गत साउन १७ गते बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ स्थित डिन्नीगाडका १३ वर्षका किरण कोलीकोे करेन्ट लागेर मृत्यु भएको घटनामा मन्त्री पाल मुछिएका हुन् । 
    घटना साउनको भए पनि सुरुमा गुपचुप गराउनकै लागि पिडितको खातामा ५ लाख जम्मा गरिएको प्रमाण भेटिन्छ ।  
    मन्त्रीको संलग्नतामा उनको परिवार र स्थानीय सरकारसहित मिलेर घटना गुपचुप भइसकेको थियो । विषय बाहिर आएकै थिएन । घटना घटेको आज आइतबार २२ दिन पुगिसकेको छ । छोराको मृत्युको शोकबाट बल्ल बाहिर निस्कन सकेकी एकल आमा राजमति कोली देवर तुलाराम कोलीको साथमा घटनाको जाहेरी लिएर सदरमुकाम पुगेपछि घटना बाहिरियो । त्यो पनि प्रहरीले मन्त्रीको नाम किटान गरी लेखिएको जाहेरी लिनै नामानेपछि घटना बाहिरिएको बुझिन्छ ।
     जिल्ला प्रहरी बैतडीका अनुसार  स्थानीय नदीको बगरमा थुपारिएको बालुवामा करेन्ट लाग्दा बालक गम्भीर घाइते भएका थिए । उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा उनको मृत्यु भएको हो । घटना भएको स्थानमा मन्त्री पालका छोराले बालुवा झिक्ने र थुपार्ने काम गर्दै आएका थिए । मन्त्री पालका छोराले थुपारेको उक्त बालुवाले बिजुलीको तार छोएको थियो । पानी परेको र बालुवा पनि भिजेको अवस्थामा रहेकाले बालुवामा खेलिरहेका किरण कोलीलाई करेन्ट लागेको स्थानीय नै बताउँछन् ।  सरसर्ती घटना बुझ्दा घटना भएपछि मृतककी आमा राजमति कोली बिक्षिप्त बनेपछि घटना गुपचुप गर्न विभिन्न हर्कतहरु भएका थिए । स्थानीय वडाको सहायता लिएर मन्त्री पालले मृतककी आमा राजमतिको खातामा ५ लाख पनि जम्मा गरिदिए । 

    images

    तर, घटना भएको धेरै दिनपछि पिडितले पाल परिवारले अबैध रुपमा चलाइरहेको उक्त बालुवा संकलनको धन्दा र गैरजिम्मेवार तरिकाले गाउँघरमा बिजुलीको तार नै छुने गरी बालुवा राखेका कारण आफ्नो छोराको मृत्यु भएको थाहा पाए । त्यसपछि जाहेरी दिन  पिडित परिवार सदरमुकाम गएका हुन् । तर, प्रहरीले बहालवाला मन्त्रीको नाममा जाहेरी लिनै मानेन । उक्त विषयमा प्रहरी बोल्न चाहेको छैन ।  मृतकका काका तुलाराम कोलीका अनुसार प्रहरीले बालुवा बोक्ने डोजर चालकको नाममा जाहेरी ल्याएमा मात्रै दर्ता गर्ने तर, मन्त्रीको नामको जाहेरी नलिने भनी हप्काइरहेको छ । जाहेरी दर्ता गर्नकै लागि पिडित परिवार बिहिबारदेखि सदरमुकाममा रहेका छन् ।  

    प्रहरीले जाहेरी लिन नमानेकै दिन बिहिबार मन्त्रीमाथि अर्को गम्भीर आरोप पनि लागेको छ । भदौ ५ गते बिहिबार सामाजिक सञ्जाल फेसबुकमा खगेन्द्र सुनार नाम गरेको आइडीबाट दलित भएको कारण बालक कोलीलाई मन्त्री पालले जानाजान गाडीले किचेर हत्या कुरा गरेको कुरा बाहिरियो ।  योसँगै बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल र डिएसपी मकेन्द्र मिश्रको समेत नाम मुछिएको छ ।  
    मृतक बालकलार्ई गाडीले किचेको कुरा पिडित पक्ष नै अस्वीकार गर्छन् । तर, आफूलाई थाहा नै नदिइ आफू शोकमा रहेका बेला बैंक खातामा ५ लाख जम्मा हुनुमा आपत्ति जनाएका छन् । घटनामा मन्त्रीको परिवार नै मुछिए पनि सूचना बाहिरिन समेत करिब ३ साता लाग्नुले गम्भीर शंका उब्जाएको छ ।  यी शंकास्पद घटनालाई यसरी ब्याख्या गरिएको छ, घटना लगत्तै पिडित परिवारका तर्फबाट जिल्लाका कुनै पनि प्रहरी अड्डा तथा कार्यालयमा जाहेरी दर्ता नगरिएको मात्रै होइन केही दिनपछि मृतककी आमाको खातामा अचानक ५ लाख रुपैयाँ जम्मा हुन्छ । 

    हामीले यस विषयमा मृतक कोलीका कान्छा हजुरबुबा हरिचन्द्र कोलीसंग घटनाबारे बुझ्दा उनी यसो भन्छन्, ‘वडा अध्यक्षको खाताबाट त्यो पैसा ग्लोबल बैंकमा मृतकको आमाको नाममा जम्मा भएको देखिन्छ ।’ पिडितको खातमा रकम  जम्मा गरिएको भौचरमा  डिला सैनी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष रघुबीर बोहोराको नाम उल्लेख छ । वडाअध्यक्ष बोहरासँग उक्त विषयमा चासो राख्दा मृतकको पैसा खातामा जम्मा गर्नुपछाडि कुनै षडयन्त्र नभइ सहयोग भएको दाबी गर्छन्  । पिडितको खातामा पैसा जम्मा गरिएको बारेमा  वडाअध्यक्ष रघुबीर बोहोरा भन्छन्, ‘त्यो पैसा मृतकको घरपरिवारको उपस्थितिमा आर्थिक सहयोगको लागि दिइएको हो ।’

    उक्त मृत्यु प्रकरणलाई हत्या भनिएको कुरा सुदूरपश्चिम प्रदेशमन्त्री सुरेन्द्र बहादुर पाल ठाडै नकार्छन् । त्यसदिन आफू जिल्लामै नभएको बताउँदै सामाजिक सञ्जालमा चरित्रहत्या गर्नेलाई कारबाही गर्ने बताउँछन् । मन्त्री पाल भन्छन्, ‘मलाइ यसबारेमा खासै जानकारी छैन । मलाइ अनावश्यक आरोप लगाइएको हो ।’
    उसो भए जाहेरी किन दर्ता भएन त ? नाम नै मुछिएका बैतडी जिल्लाका सिडियो पूण्य विक्रम पौडेल समेत उदासिन जवाफ दिन्छन् । उनी यो घटना सामान्य भएको भन्दै पन्छिन्छन् । 
    पौडेल भन्छन्, ‘यो अहिले बहस गर्ने विषय हैन ।’

    बालक किरण कोलीको मृत्यु भएको ३ साता बितिसकेको छ । तर, उक्त घटनामा विभिन्न जिम्मेवार व्यक्तिहरुको नाम गम्भीर ढंगले मुछिएको छ ।  मन्त्रीजस्तो माननीय पदमा रहेका व्यक्तिले गाउँमा त्यसरी बालुवा किन थुपारे ? अथवा किन थुपार्न लगाए ? बालकको मृत्यु भइसकेपछि किन घटना लुकाउन सबै संयन्त्र प्रयोग गरे ?कि सामाजिक सञ्जाल आएजस्तै हत्या नै भएको हो ? यी गम्भीर प्रश्नहरु हुन् । 
    यसमा मुछिएका  र जोडिएका सबै व्यक्ति र घटनाको सुक्षम ढंगले छानबिन होस् ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij