काठमाडौँ । कर्णवीर राईले जीवनको ८० वसन्त पार गरिसकेका छन्। सोलुखुम्बुको सल्यान गाउँपालिकामा जन्मिएर हुर्केका उनी खेतीपातीमै व्यस्त हुन्थे। दुई छोरा र दुई छोरीका पिता कर्णविरले सन्तानलाई राम्रो शिक्षा दिए, तर कोही शहर र कोही विदेश पसेपछि उनको रेखदेख गर्ने मान्छे कोही भएन। अन्ततः उनी यतिबेला नक्सालमा कान्छा छोरासँग बस्छन्।
उमेरले उनलाई निष्क्रिय बनाएन। उनीसंग बाल्यकालदेखिैको सीप अझै जीवित छ, उनको डाली बुन्ने सीप। पुराना प्लास्टिकका टुक्राले उनी सुन्दर डाली बनाउँछन्। बिहानदेखि बेलुकासम्म लगाएर एक डाली बुन्ने कर्णविर आफ्नो श्रमको मूल्य दुई सय रुपैयाँ तोक्छन्। तर कहिलेकाहीँ दाम दिनेले पाँच सय, हजारसम्म तिर्छन्। त्यो देख्दा उनी मुस्कुराउँदै भन्छन् ‘अहिले पनि हामी जस्ता वृद्धलाई माया गर्ने मानिस हराएका छैनन्।’
डाली बेचेर आएको पैसाले उनको चिया–खर्च मात्र धान्दैन, समयलाई पनि सार्थक बनाउँछ। उनले बनाएका डाली, डोको, थुन्से वर्षौंसम्म बिग्रिँदैनन्। बाँस उनी गल्फुटारबाट ल्याउँछन् भने प्लास्टिक एयरपोर्टबाट निशुल्क पाउँछन्। उनी १५ वर्ष हुँदा डाली बुन्ने सीप सिके । त्यसयता उनले यो काम जारी राखेका छन् । आँखाको समस्या हुँदा सादा डाली बुन्थे, तर आँखाको शल्यक्रियापछि उनले बुट्टा हालेर अझ आकर्षक डाली बनाउने थाले।
गाउँको अधिकांश जीवन गोठ र खेतमै बिताएका उनी सम्झन्छन् घरमा ३०–३२ वटा बाख्रा हुन्थे, गाई–भैंसी कहिल्यै टुट्दैन थिए। तर अहिले गाउँ सुनसान छ। युवाहरू विदेशिएका छन्, खेत बाँझिएका छन्। औषधि छैन, पुराना परम्परागत धामीमा अझै विश्वास गर्ने चलन छ। यसैबीच राई लिन्बूमा मादक पदार्थको लतले गाउँ बिगारेको गुनासो पनि गर्छन् उनी।
कांग्रेस नेता गगन थापा जन्माएको गाउँ अझै पिछडिएको उनको पीडा छ। बाटो बने पनि पैदल घण्टौँ हिँड्नुपर्छ। गाउँको भविष्यबारे चिन्तित कर्णवीर भन्छन् ‘आफ्ना संस्कार, भाषा हराउँला कि भन्ने डर लाग्छ ।’
उनीसंग डाली बुन्ने मात्र हैन, नाच्ने सीप पनि छ। गाउँमा विवाह वा व्रतबन्धमा अरूले गीत गाउँदा उनी नाच्दै माहोल रंगिन बनाउँथे। आज पनि उनी भन्छन् “जीवन भनेको कहाँ जाउँ र के खाउँ भन्ने चिन्ता नहोस्, बस् त्यही हो।”
८० वर्षको उमेरमा पनि आँखा कमजोर, कान टप्किएको भए पनि हात अझै बलिया छन्। उनी गर्वसाथ भन्छन् “अझै पनि एक मुरी बोकेर उचाल्छु जस्तो लाग्छ।”
डाँडापारिको घाम जस्तै भइसकेका कर्णवीरलाई उनको लगनशीलता र मेहेनतका लागि सलाम ।


